कला

‘सर! किताब लेख्ने बेला लेखकहरू रुँदै रुँदै लेख्छन् हो?’

लेखन सन्दर्भ

साहित्यमा पहिलोपटक नोवेल पुरस्कार जित्ने फान्सेली लेखक सुली प्रुँधोलाई पुरस्कार दिने निर्णय गर्दा निर्णायक समितिले भनेको थियो: उनको विशेष काव्य सिर्जनाले उच्च आदर्शवाद, कलात्मक पूर्णता र हृदय एवम् बुद्धि दुवैका दुर्लभ गुण संयोजनको प्रमाण दिन्छ। यसबाट ३ कुरा प्रस्ट छन्: आदर्शको प्रमाण दिने काव्यिक संरचना। कलात्मक पूर्णता। हृदय र मस्तिष्कको दुर्लभ संयोजन। यो सन् १९०१ को कुरा हो। आज पनि कविताका लागि संरचना, कला तथा हृदय र मस्तिष्कको संयोजनको कुरा उठ्छ, उठिरहन्छ।

धरानमा चिकित्सा विज्ञान पढिरहेका विद्यार्थीहरूलाई मैले भनेको थिएँ-तपाईंहरू मुटु चिर्नुहुन्छ, फेर्नुहुन्छ र मानव शरीरलाई नै खोतल्नुहुन्छ तर म त्यही मुटुभन्दा माथि संवेदना र संवेदनाभन्दा माथि चेतना देख्छु। विज्ञानभन्दा धेरै माथि छ मानवीय संवेदना। अझ माथि छ चेतना।

आजको समालोचना र समालोचकका विषयमा केही बोल्नु छैन। यथायोग्य क्षमता, समय र प्रकाशन पहुँचका आधारमा उनीहरू लेखिरहेछन्, लेखिरहलान् पनि तर आज प्रत्येक पाठक आफ्ना लागि आफै समालोचक हो। पाठकले कृति पढेर गरेको बोध र त्यो बोधबाट प्रेरित भई ऊ आफैले गर्ने टिप्पणी लेखकले स्वीकार गर्नुपर्छ। त्यहींनेर छ समालोचनाको भुइँतह। त्यो स्वीकारोक्तिबाट भागेर कोही लेखक हुँदैन। प्रस्तुत लेखाइमा अलि बढी संवेदनाकै कुरा हुनेछ।

हृदय र मस्तिष्क

सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न। त्यसलाई आकार दिनुपर्छ र विचारसहित उठाउनुपर्छ अक्षरमा तर कति मस्तिष्क? कति हृदय? यो कुरा लेखकको क्षमता र सामथ्र्यमा निर्भर गर्दछ।

धरानमा चिकित्सा विज्ञान पढिरहेका विद्यार्थीहरूलाई मैले भनेको थिएँ-तपाईंहरू मुटु चिर्नुहुन्छ, फेर्नुहुन्छ र मानव शरीरलाई नै खोतल्नुहुन्छ तर म त्यही मुटुभन्दा माथि संवेदना र संवेदनाभन्दा माथि चेतना देख्छु। विज्ञानभन्दा धेरै माथि छ मानवीय संवेदना। अझ माथि छ चेतना। त्यही चेतनाको बाटो हुँदै हो साधकहरू चैतन्यस्थल पुग्ने।

सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न।

संवेदनाले हामीलाई हिँडाइरहेछ तर हिँड्नु भनेको हिँड्नु मात्र होइन, हिँड्नुको दिशाबोध पनि चाहिन्छ। त्यो दिशाबोध चेतना हो। जीवन, जीवनको संवेदना र संवेदनालाई दिइने आकारको बोध नभई कला भरिन्न। कला नभरिनु भनेको संरचना पूर्ण नहुनु हो। राम्रो हुनु वा नहुनुअघि आकार चाहिन्छ र त्यही आकार दिँदा कोही कविता लेख्छन्, कोही अरू विधा। आँसु र हाँसोको तहमा सबै संवेदनशील छन् तर त्यसभन्दा माथिको चेतनाको उज्यालोमा देखिनुपर्छ संवेदना।

उही र उस्तै प्रश्नहरू

जीवनको सीमा जीवनसम्म मात्र हो तर सिर्जना सीमाहीन छ। सीमाहीन हुनु भनेको पनि आफैमा एउटा सीमा हो फेरि। भावी डाक्टरहरूले साँच्चै मुटुभन्दा माथि संवेदना र संवेदनाभन्दा माथि चेतना छ भनेर चुप बसे कि पाहुनाले मञ्चमा बोलिरहेको कुराको किन प्रतिवाद गर्नु भनेर चुप बसे थाहा भएन तर साँझ परिक्रमा टिमसँग बस्दा तिनको प्रश्न थियो: संवेदनालाई आकार दिने कसरी?

यो प्रश्नमा दम थियो र यही हो लेखक हुने जगको पहिलो पाइलो। यसैको उत्तर हो एउटा लेखकको लेखकीय जिन्दगी। उत्तरमा जानुअघि अरू ठाउँका प्रश्नरू पनि भेला पारूँ। कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमीका छात्रछात्राहरूले सोधे: हामी किताब पढेर रुन्छौँ, किताब लेख्ने बेला लेखक पनि रुँदैरुँदै लेख्छ हो? उत्तर सजिलो थिएन।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नेपाली विभागका प्राध्यापकहरूसँगको अन्तरसंवादमा कुरा उठ्यो: आजको लेखाइ र राष्ट्रिय जीवनको बीचमा समन्वय कति छ? वा छैन? यो प्रश्नमात्र होइन, त्यो प्राज्ञिक जमातको संकेत वर्तमान लेखन र राष्ट्रिय जीवनको मूल प्रवाहसँग मिसिने संवेदना के हो भन्नेतिर छ।

 नेपाली विभागका प्रमुख हरिजङ्ग शाह भन्दै थिए: जीवित लेखक र उसको अनुभूतिलाई विद्यार्थीमा सिधै सार्न पाए पढाइ झन् तेज हुन्थ्यो कि? यहाँनेर शिक्षणको नयाँ तर्क देख्छु। यो पनि संवेदनाको कुरा हो र बौद्धिकताले पनि निश्चित आकार खोजेखोजे जस्तो लाग्यो।

कुमाल, चेपाङ र तामाङ

केही दिनअघि धादिङवेसीमा थिएँ। नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको थियो। भाइबहिनी पुस्ताले कविता सुनाए। कविता गद्य पनि थिए, पद्य पनि थिए। मिठो भाका, मिठो स्वर र केही हदसम्म समयको संवेदनापूर्ण चेतना पनि थियो। प्रतिष्ठानका अध्यक्ष बद्री दाहाल ‘भष्मासुर’ आफै पुराना कवि/शिक्षक हुन्। कार्यक्रममा सोरठी नृत्य, कुमाल संस्कृतिको चर्चा र कविता, निबन्ध र चित्रकला प्रतियोगिता जोडेर सहभाव निर्माणको संवेदना खोजेझैं लाग्थ्यो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्षसमेत रहेकी गायिका रीता थापा मगरले सोरठी संयोजन गरेकी थिइन् र स्थानीय बुढापाकाहरू नृत्य समूहमा सामेल थिए। दानबहादुर कुमालले कुमाल संस्कृति र परम्परा जोडेर कार्यपत्र प्रस्तुत गरे।

रमेश अधिकारीले मञ्चमै लामो संवाद गरे अनि भने-लेख्नु र समावेशीकरणको सीमा के हो? यी प्रत्येकसँग एक एक संवेदना छन्। लोकगीत वा कविता, चित्रकला वा नृत्य। कुमाल संस्कृतिको खोजी वा तामाङ बहुलभूमि धादिङको तामाङ संस्कृति।

केही दिनअघि धादिङवेसीमा थिएँ। नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको थियो। भाइबहिनी पुस्ताले कविता सुनाए। कविता गद्य पनि थिए, पद्य पनि थिए। मिठो भाका, मिठो स्वर र केही हदसम्म समयको संवेदनापूर्ण चेतना पनि थियो।

एउटा लेखकले कुन संवेदना उठाउँछ? धादिङ हुनुसँग माटो मात्र धादिङ होइन। छोरीलाई चिउरीको बोट दाइजो दिने चेपाङ संस्कृतिसँग आजको पर्यावरणीय चिन्तालाई जोड्नुको संवेदना कसरी बिर्सनु? कुमालहरूको जीवनकला र उत्तरी धादिङमा रहेको सातआठ सय वर्ष पुराना गुम्बाहरूको कथासँग यो माटोको कुन संवेदना नजोडिएको होला? त्यहाँको गीत, कविता र लेखनमा यी सुगन्ध मिसिनु हो संवेदनाको मूल र समावेशीकरणको मुख्य ध्येय।

सबै ठाउँमा सबैको प्रतिनिधित्व वा अपनत्व। यी र यस्ता कार्यक्रमहरूमै पनि सबैको अपनत्व हुनुको जगमै उठ्छ समावेशीकरण। हामी आफैचाहिँ कति समावेशी छौं? उत्तर त संवेदनमै गएर ठोकिन्छ।

इतिहासको सन्दर्भ

नेपाली साहित्यको प्राचीन तथा माध्यमिक कालसँग जोडिन्छ धादिङ। प्राथमिक कालका विद्यारण्यकेशरी अर्याल, दैवज्ञकेशरी अर्याल तथा माध्यमिक कालका सुब्बा होमनाथ खतिवडा, केदारनाथ खतिवडा, मोतीमण्डलीका दानराज, देवराज तथा आधुनिक कालका केशवराज पिंडाली, केवलपुरे किसान आदि। प्रत्येक लेखकसँग आआफ्नै समयको संवेदना छ।

समयबोध, सांस्कृतिक चेतना र समाजका अवयवसँग लेखकीय अन्तरबोध कति छ, छैन? अक्षर नै हो मापनको जग। सघन संवेदना हुनेहरू चैतन्यको उज्यालोसहित त्रिशूली तरेर राष्ट्रिय चिन्तनधारामा प्रवेश गरे, कम हुनेहरू त्यतै हराए आँसी र थोपलतिर।

कक्षा ६ का विद्यार्थीहरू

निकै राम्रा विद्यालयहरूका बीचमा सदरमुकाममै रहेको एउटा विद्यालय हो बालमन्दिर मावि। नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको कार्यक्रम सकिएपछि कक्षा ६ का भाइबहिनीहरूसँग तिनकै विद्यालयको तिनले नै पढ्ने कक्षा कोठामा भेटें। कक्षा ६ का विद्यार्थीहरूलाई भेट्नुको कारण स्थानीय पाठ्यक्रम अन्तर्गत उनीहरू यही पङ्क्तिकारको जीवनी पढ्दै थिए।

कक्षा ६ पढ्दैको संवेदनासँग साहित्यको कुन सन्दर्भको कुरा गर्नु? जन्म, कर्म र जीवनको आरोह अवरोहको सन्दर्भ त कक्षा शिक्षकले पढाउँछन् नै तर जीवनबोध बुझाउने कुरा जटिल हुने रहेछ।

कक्षा ६ पढ्दैको संवेदनासँग साहित्यको कुन सन्दर्भको कुरा गर्नु ? जन्म, कर्म र जीवनको आरोह अवरोहको सन्दर्भ त कक्षा शिक्षकले पढाउँछन् नै तर जीवनबोध बुझाउने कुरा जटिल हुनेरहेछ।

यो पुस्ताले बाँचेको जीवनको आयतन र भोलिका पुस्ताले बाँच्ने मैदान फरक छ। जेम्सवाटले वाष्प इन्जिन बनाएको युग होइन यो र भोलिको युग पनि यो डिजिटल र साइबर युगलाई छिचोलेर निकै अघि पुगिसकेको हुनेछ। आज दिइने बयान, वर्णन र विवरणको कथाले तिनको जीवनलाई कहीं छुने छैन तर जीवनले बोध गर्ने संवदेनासँग खेल्न सिकाउन सकियो भनेचाहिँ त्यो काम लाग्न सक्छ। कति निर्दाेष ती अनुहार।

संवेदना र संरचना

सन् १९०१ मा लेखक सुली प्रुँधोलाई पुरस्कार दिने निर्णय गर्दा उल्लेख गरिएकै जस्तो आदर्शको प्रेरणा आज कति सार्थक छ? आज आदर्शकै परिभाषा फरक छ, जिउने कला फरक छ। जीवनकै संरचना त फरक छ काव्यको संरचना नफेरिने कुरै भएन। फेरिन्छ, फेरिनु पनि पर्छ। कला भिन्चीको पनि फरक थियो, हाम्रा वाङ्देलको पनि फरक थियो।

काव्यमै पनि देवकोटा, रिमाल, भूपी र घिमिरे फरक छन् र त्यस यता झन्झन् फरक। आज नीलकण्ठमा कविता लेखिरहेका कान्छो पुस्ताले बुझ्ने गरी बुझाउनुपर्ने त जीवनको घुम्ती हो। त्यहीं ठोक्किँदो घुम्तीले सिकाउने छ हृदय र मस्तिष्कको संयोजन।

सन् १९०१ मा लेखक सुली प्रुँधोलाई पुरस्कार दिने निर्णय गर्दा उल्लेख गरिएकै जस्तो आदर्शको प्रेरणा आज कति सार्थक छ? आज आदर्शकै परिभाषा फरक छ, जिउने कला फरक छ।

र अन्त्यमा मैले ती भाइबहिनीहरूलाई भनें: म २०४० सालमा कक्षा ८ पढ्न काठमाडौं जाँदा ज्यामरुङबाट यही बाटो लगातार १३ घन्टा हिँडेर मलेखु पुगेको हुँ। तिमीहरू कक्षा ८ पढ्ने बेला घर छोड्न तयार छौ कि छैनौ र घर छोड्यौ भने लगातार १३ घन्टा हिँड्न सक्छौ त? सबैले लामो जिब्रो निकाले र आँखा नझिम्काईकन हेरिरहे शून्य भएर। हृदय नहल्लीकन संवेदना उम्रन्न। उनीहरू हल्लिए। मलाई लाग्छ: मैले त्यही शून्यमा थोरै संवेदना रोपेरै फर्कें कि?  

प्रकाशित: ३० वैशाख २०८० ०१:११ शनिबार

अक्षर सन् १९०१ मा लेखक सुली प्रुँधोलाई पुरस्कार दिने निर्णय गर्दा उल्लेख गरिएकै जस्तो आदर्शको प्रेरणा आज कति सार्थक छ ? आज आदर्शकै परिभाषा फरक छ जिउने कला फरक छ।