कला

कला कमै बिक्छ अचेल, धेरै त यहाँ फोटो बिक्छ

मुक्तक

 १) मुक्तक

उस्तै थिएँ र उस्तै छु अहिले पनि

जहाँ छुु त्यहीं थिएँ म पहिले पनि

भेटघाट पातलो भएको अवश्य हो

तिमी हृदयभित्रै छ्यौ जहिले पनि।

 २) मुक्तक

मित्रताको सिरक हुँ, कुनै बेला खाप्न सक्नुहुन्छ,

घाम सम्झनुहुन्छ भने माया यो ताप्न सक्नुहुन्छ

थाहा छैन ऐनाअगाडि को हुँ म, तर शब्दहरूमा

म मुक्तक हुँ, लगेर पत्रिकामा छाप्न सक्नुहुन्छ।

३) मुक्तक

सागरको छेउमा जान्छु छालहरूले तर्साउँछन्

जीवनबाट खस्दै गएका सालहरूले तर्साउँछन्

न पत्रिका पढ्न मन लाग्छ, न समाचार सुन्न

जता जे सुनूँ यो देशका हालहरूले तर्साउँछन्।

 ४) मुक्तक

इन्द्रेनी छ तर पहिलेजस्तो सजीव रङ्ग छैन

मन छँदै छैन वशमा,आफ्नो कुनै अङ्ग छैन

हजारौं युद्ध लडेर पनि मान्छे विजेता हुन सकेन

आफैंलाई जित्नुजस्तो अर्को कुनै जङ्ग छैन।

 ५) मुक्तक

बिक्दैन कर्मको गैंडा, भाग्यमानीको खोटो बिक्छ

बिक्दैन काठको ठेकी, प्लास्टिकको लोटो बिक्छ

म त देख्दै देख्दिनँ वेदव्यास र वाल्मीकिको युग

कला कमै बिक्छ अचेल, धेरै त यहाँ फोटो बिक्छ।

प्रकाशित: २७ वैशाख २०८० ०४:१७ बुधबार

अक्षर