कला

'साइँली' गीतको भावमा फिल्म बन्ने

काठमाडौं- युट्युबमा हाल रुचाइएको भिडियो गीत 'साइँली' लाई दर्शकले फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन्। गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो।

ब्यानरका संस्थापकमध्ये एक तथा भिडियोका अभिनेता गौरव पहारीले भिडियो निर्माणकै बेला फिल्मको सोच आएको बताए। 'हेमन्त र मैले भिडियो छायांकनका बेला नै यही कथामा फिल्म बनाउने सोच बनाएका थियौं,' हेमन्तको चौथो एल्बम 'साइँली' विमोचन कार्यक्रममा शनिबार गौरवले भने, 'हामी चाँडै नै भिडियोमा देखाइएजस्तो कथामा फिल्म निर्माण गर्नेछौं।' उनले गीतले यति धेरै चर्चा पाउँछ भन्ने आफूहरुले नसोचेको बताए।

एल्बम सार्वजनिक गर्दै अभिनेता टिका पहारीले शब्द, स्वर र भिडियोमा कलाकारको अभिनयले दर्शकको मन जितेको बताए। भिडियोमा गौरवसँगै नायिका मेनुका प्रधानको अभिनय छ।

'नेपाल आइडल' रियालिटी सो सकेर काठमाडौं आइपुगेका संगीतकार न्ह्यु बज्राचार्यले गायन रियालिटी सोमा 'साइँली' गीत बढी गाइएको खुलाए। कलाकार तथा निर्माता दीपकराज गिरीले अहिलेका फिल्म र संगीतले समाजको वास्तविक कथालाई प्रस्तुत गरेको जनाए। गायक हेमन्तले गीतको वास्तविक नायक संगीतकार कालीप्रसाद बास्कोटा भएको दाबी गरे।

एल्बममा साइँलीसहित भन, तिमी नभाग, पिपलु चौतारी, ऐना, बोक्सी, बेग्लै र जीवन बोलका समावेश छन्। शीर्ष गीतमा हिमाल साउद र कालीप्रसाद बास्कोटाको शब्द छ।

प्रकाशित: ८ फाल्गुन २०७३ ०३:५१ आइतबार

साइँली गीतको भावमा फिल्म बन्ने