कला

एकल गायनमा सुनिँदै दीपक खरेल

काठमाडौं- उमेरले ५० को उकालो लागेका गायक दीपक खरेल साता दिनदेखि साँझमा ललितपुरको झम्सिखेलमा रमाइरहेका छन्। साँझको ३ बजेदेखि ६ बजेसम्म उनी आफूभन्दा झन्डै आधा उमेरका युवासँग सांगीतिक माहोलमा रम्छन्। संगीतका नयाँ बाजासँग तादात्म्यता मिलाउँदै उनी स्वर निर्खाछन्। उनको यो तयारी एल्बम निर्माणका लागि भने होइन, एकल गायनका लागि हो।

विकेन्ड क्लासिकले आगामी शनिबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजना गर्न लागेको 'विकेन्ड क्लासिक कन्सर्ट'मा दीपक खरेल आफ्ना चर्चित गीत सुनाउन उपस्थित हुँदै छन्। गायक खरेल त्यसैको तयारीका लागि झम्सिखेलस्थित मोक्षमा आफ्नो वाद्यवादक समूहसहित अभ्यास गरिरहेका छन्। 'आफ्ना सदावहार गीतलाई नयाँ सांगीतिक फ्लेबरमा श्रोतामाझ प्रस्तुत गर्नेछु,' खरेलले नागरिकसँग भने, 'कार्यक्रममा श्रोताले मेरा गीतमा नयाँ शैलीको संगीत पाउनेछन्। मेरा गीतमा संगीतको नयाँ फ्युजन हुनेछ।'

काठमाडौं ज्याज कन्जरभेटरीको संगीत संयोजनमा गुञ्जिन लागेका दीपक नयाँ पुस्तासँग काम गर्न पाउँदा उत्साही छन्। 'सधैं एउटै फ्लेबरको संगीतमा प्रस्तुत हुँदा दर्शकलाई गाह्रो हुन सक्छ, त्यसकारण मेरा गीत सुन्ने श्रोतालाई नयाँ स्वाद दिन ज्याज टोलीसँग आउँदै छु,' उनले भने, 'आफूभन्दा झन्डै आधा उमेरका युवासँग काम गर्न पाउँदा रमाइलो र चुनौती दुवै महसुस गरेको छु। नयाँपुस्तालाई पुरानो संगीतको मेलोडी हस्तान्तरण गर्ने अवसरका रुपमा पनि लिएको छु।'

'प्रतीक्षा गर मेरी मायालु', 'गरुँ कि मीठो भुल', 'यो कर्मभूमिको आँगनमा', 'तिम्रो त्यो हँसिलो मुहारको'लगायत गीतका स्रष्टा दीपक यीसहित १२ गीत लिएर श्रोता/दर्शकमाझ प्रस्तुत हुनेछन्। सांगीतिक करिअरमा उनको यो कन्सर्ट तेस्रोपटक हो। 'नयाँ अनुहारसँग दर्शकमाझ प्रस्तुत हुँदै छु, त्यसकारण पनि प्रस्तुतिमा संवेदनशीलता र इमानदारितालाई सँगै लैजानुपर्नेछ,' उनले भने।

सांगीतिक करिअरमा आफ्नो कोही पनि गुरु नरहेको बताउने दीपक आफूसँग ठोक्किने  प्रत्येक व्यक्तिसँग आफूले सिकिरहेको बताउँछन्। 'मेरो गुरु नै भन्ने कोही छैनन्, किनकि मैले संगीतको स्कुलिङ गरेको छैन,' उनले भने, 'प्रत्येक अनुहार तथा व्यक्ति मेरा लागि गुरुझैं लाग्छन्, किनकि उनीहरुबाट म नयाँ कुरा सिकिरहेको हुन्छु।'

केही वर्षअघि 'अभिव्यञ्जना' एल्बम ल्याएका दीपक आजकल कलेक्सन एल्बममा फाट्टफुट्ट सुनिन्छन् । यो एल्बममा बिना महतको शब्द र दीपक जंगमको संगीत छ। एल्बम निकाल्दा पनि त्यसको बिक्री नभइरहेको समय उनका गीत अझै पनि युट्युबमा हेर्नेको कमी छैन। 'मेरा गीत अझै पनि युट्युबमा हेरिन्छ, जसले गर्दा पनि नयाँ गीत श्रोतामाझ ल्याउन जाँगर बढेको छ,' उनले भने।

शनिबार हुने कार्यक्रममा दीपकलाई वाद्यवादनतर्फ बेस गितारमा रजत राई, सेक्सोफोनमा इनपराज श्रेष्ठ, गितारमा महेश तण्डुकार, ड्रममा निराजन तण्डुकार, किबोर्डमा विजयन्द्र श्रेष्ठले साथ दिनेछन् भने १९७४ एडीका गितारिस्ट मनोजकुमार केसी अतिथिका रुपमा दीपकसँग मञ्चमा सहकार्य गर्नेछन्।

आयोजक संस्था विकेन्ड क्लासिकका मनीष श्रेष्ठले दीपकका गीत अझै पनि रुचाइने भएकाले कार्यक्रमका लागि उनलाई छानिएको बताए। 'उहाँका गीत अझै पनि एउटा पुस्ताले रुचाउने गरेको छ, हाम्रो उद्देश्य पनि दीपकदाइकै समकालीनलाई दर्शकमाझ प्रस्तुत गराउने हो। यसपटक दीपकदाइ हामीमाझ हुनुहुन्छ, आगामी दिनमा उहाँकै समकालीन पुस्तालाई पनि प्रस्तुत गर्नेछौं,' मनीषले भने, 'वाद्यवादक र गायकबीच उमेरको अन्तर भए पनि उहाँहरुको काम गर्ने ट्युनिङ मिलेको छ।' कार्यक्रमका लागि नागरिक दैनिकले रोयल टि्रजर ह्विस्कीसँग सहकार्य गरेको छ।

०३५ मा त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको संगीत समारोहमा शम्भुजित बाँस्कोटाकै शब्द र संगीतको 'तिम्रो त्यो हँसिलो मुहारको' गाएपछि चर्चित बनेका दीपकका 'दीपक खरेलका गीत', 'मेलोडी अफ दीपक', 'माया बल्झेछ', 'भोलि कसले देखेको छ', 'आवर फिलिङ्स', 'आसय'लगायत दर्जन एल्बम बजारमा आइसकेका छन्। उनले गाएका 'पूर्णिमाको रात पनि', 'यो हल्लाको परिधि भित्र', 'तिम्रा हर प्रश्नको जवाफ'लगायत गीत पनि चर्चित छन्।

प्रकाशित: ५ फाल्गुन २०७३ ०२:१७ बिहीबार

एकल गायनमा सुनिँदै दीपक खरेल