कला

‘घडियाल काव्य उत्सव–२०८०’

नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

जिल्लाको देवचुली–१७ मा आयोजना भएको ‘घडियाल काव्य उत्सव–२०८०’ सहभागी हुँदै उनले  सङ्कटापन्न अवस्थाको घडियाल गोही संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताए। ‘घडियाल गोहीको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी रहेकोे छ’, उनले भने। पानीका मुहान जोगाउन र पानी सफा राख्न सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।मानवीय कारणले प्राकृतिक सम्पदाको नास हुँदै गइरहेकाले यस्ता सम्पदा जोगाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा कोइरालाले जोड दिए ।

सन् १९७० बाट नै दुर्लभ मानिएको अति सङ्कटापन्न अवस्थाको जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सवको दोस्रो संस्करण आयोजना गरिएको आयोजक ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए।पहिलो संस्करणका विषयवस्तु र मुद्दालाई परिस्कृत तथा परिमार्जित गर्दै आयोजना गरिएको उत्सवको मुख्य संरक्षकका रूपमा देवचुली नगरपालिका रहेको छ।उत्सवको दोस्रो दिन आज शनिबार ‘प्रकृतिसँग साहित्य’, ‘शिरको गाथा तीरको व्यथा’ र ‘वैभवशाली देवचुली शीर्षक’मा बहस तथा छलफलका कार्यक्रम भएको छ।

आज बिहानबाट काव्य वाचनको कार्यक्रम सुरु भएको छ।काव्य वाचनमा गण्डकी प्रदेशसहित मध्यनेपालका १८ जना स्रस्टाले कविता वाचन गरेका छन। आजको छलफलमा महानायक राजेश हमाल, साहित्यकार भूपिन खड्का, देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपाने, बुलिङटार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारी, विष्णुप्रसाद भुसाल, मोहनप्रसाद मरासिनीको सहभागिता हुँदैछ।विभिन्न तीन चरणमा हुने आजको छलफलमा छुट्टाछुट्टै विषयवस्तुमाथि छलफल गरिने कडरियाले बताए।  कार्यक्रमका लागि पिप्रहरस्थित होमस्टे परिसरमा खरको छानो हालेर आकर्षक मञ्च बनाइएको छ।खर र बाँसबाट निर्मित मञ्चमा परालको गुन्द्री ओछ्याइएको छ भने कोर्को, हलो, जुवा, फुर्लुङ, ढडिया, ठेकी, डालोलगायतका परम्परागत सामग्रीहरूले सजाइएको छ।उत्सवको पहिलो दिन शुक्रबार ‘सङ्कटमा घडियाल ः लोभदेखि लोपसम्म’, ‘वेग र भेगको दोसाँधमा नारायणी’, ‘शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा’, ‘चराचरमा चरा’, ‘नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता’ गरी पाँच वटा चरणमा कार्यक्रम भएका छन्।

छलफलमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी, पूर्वमन्त्री गणेश शाह, मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी सहभागी  थिए।त्यसैगरी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, चितवन राष्ट्रिय निकुञ्ज सौराहाका सेक्टर प्रमुख सरोजमणि पौडेल, डब्लुडब्लुएफका प्रतिनिधि डाक्टर घनश्याम गुरुङ, नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारी, संरक्षणकर्मी डिबि चौधरीसहितका व्यक्तिले छलफलमा सहभागिता जनाउनुभएको थियो।निकुञ्जको मुख्य कार्यालय चितवनमा रहेको र नवलपरासीवासीले निकुञ्जसँग सम्बन्धित स–साना कुरामा पनि सेवा लिन जिल्ला बाहिर जाँदा सास्ती खेप्नुपरेको विषयलाई छलफलमा चर्चा गरिएको थियो।

प्रकाशित: २३ वैशाख २०८० ०९:५५ शनिबार

‘घडियाल काव्य उत्सव–२०८०’ घडियाल गोही सङ्कटापन्न