कला

सजाय

लघुकथा

ध्रुव सर गणित विषयका राम्रा शिक्षक थिए। दैनिक कक्षा शिक्षण तथा गृहकार्य अनिवार्य जाँच गर्ने उनको बानी थियो। विद्यार्थी सबैले बुझ्नै पर्छ भन्ने उनको अलि एकोहोरोपन समेत थियो। सिकाइमा घर-परिवारको परिवेश, सामाजिक परिस्थिति समेत जिम्मेवार हुन्छ भन्ने कुरामा ध्रुव सरको त्यति ध्यान जान्नथ्यो। राम्ररी कक्षामा सिकाएपछि विद्यार्थीले आशलाग्दो नतीजा नदिंदा ध्रुव सर दिक्क मान्थे।

विद्यार्थीहरूले आज ध्रुव सर अलि रिसाएको देखे। सबैले गृहकार्य गरेका थिए। ध्रुव सरले घातांकको एउटा हिसाव बोर्डमा लेखे। उनले प्रतिभालाई बोर्डमा गएर उक्त समस्याको समाधान गर्न लगाए। डरले झण्डै काँपेका साना हातले बोर्ड मार्कर समाएर प्रतिभाले कोर्न थालिन्। उनले घरमा अभ्यास गर्न पाएकी थिइनन्। आज प्रतिभाको प्रतिभाले घुँडा टेकिसकेको थियो। तीन स्टेप कोरेपछि उनको यात्रा रोकियो।

ध्रुव सरले उनका घातांकहरूको मल्टिप्लिकेशनमा समस्या रहेको बुझिहाले। उनले यही समस्याको गाँठो फुकाउन कक्षामा धेरै प्रयत्न गरेका थिए। ध्रुव सरले प्रतिभाका गालामा दुई झापड हाने। केटीका गालामा राता छाप देखिए। छापलाई बगाउँलाझैँ गरी आँखाबाट आँसुका धाराहरू झरिरहेका देखिन्थे।

खोई किन हो गालामा परेका राता छापमाथि बगेका आँसु देखेर ध्रुव सरको गणितले पनि हारे जस्तो भयो। उनले आफ्नी छोरी गरिमालाई सम्झे। रोइरहेकी आफ्नी छोरी गरिमा नै उभिएको देखे। उनले सोधिहाले, ‘किन गर्न नसकेको त?’

उनले रुनेबाहेक केही बोल्न सकिनन्। ध्रुव सरले एकजना शिक्षिकासँग प्रतिभाबारे कुरा गर्दा झसंग भए। फुपू-फुपाजुका घरमा बस्ने प्रतिभाले बिहानभरि घर पुछ्ने, खाना बनाउने,लुगाकपडा धुने, भाँडा माझ्ने  सबै काम गरेर हतारोमा  विद्यालय आउँदी रहिछन्। उनकै छिमेकी शिक्षिका राधाको उक्त भनाइपछि ध्रुव सरले कहिल्यै केटाकेटी विद्यार्थीलाई शारीरिक सजाय नगर्ने प्रण गरे।

प्रकाशित: २१ वैशाख २०८० ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App