कला

सूर्यप्रसाद लाकोजूको कथासंग्रह सत्याग्रह: एक अवलोकन

पुस्तक

मैले दुई दिनअघि साहित्यकार सूर्यप्रसाद लाकाेजूको कथासंग्रह सत्याग्रह पढ्ने अवसर पाएँ। योभन्दा पहिले उनको कवितासंग्रह मेरो घाम पढ्दै थिएँ। सो कवितासंग्रहले चिसाप पुरस्कार पाएको थियो। उक्त कवितासंग्रह मलाई पनि साह्रै राम्रो लागेको थियो जसमा बिम्बै बिम्बले सिंगारिएको देख्दा मेरो मन आनन्दको सागरमा डुबेको थियो। सूर्यका हरेक सिर्जनात्मक कृति यथार्थपरक छन्, मार्मिक र सन्देशप्रद छन्। उनका सिर्जनाहरू पोखरी जस्तो जमेको देखिंदैन। नदी जस्तै सलल बग्दै सागर भेट्ने गर्दछ।

विधागत दृष्टिकोणले हेर्दा सत्याग्रह पहिलो पाइला भएर पनि अरू पोख्त कथाकारहरूको झैं निखार र बान्की देख्दा म त्यत्तिकै उनको बहुमुखी प्रतीभा देखेर निकै प्रभावित भएँ। कथा पढिरहंँदा विश्राम लिन मन मान्दैन। कथाले पाठकलाई आफूतिर तानिरहन्छ।

मैले दुई दिनअघि साहित्यकार सूर्यजीको कथासंग्रह सत्याग्रह पढ्ने अवसर पाएँ। योभन्दा पहिले उनको कवितासंग्रह मेरो घाम पढ्दै थिएँ। सो कवितासंग्रहले चिसाप पुरस्कार पनि पाएको थियो।

सूर्य लोकाजू एक नेपाली साहित्यमा समर्पित सिर्जनशील स्रष्टा र बहुआयामिक व्यक्तित्व हुन्। लामो समयदेखि नेपाली साहित्यका विविध विधामा सक्रियतापूर्वक कलम चलाउँदै आएका साहित्यकार लाकोजूका सांस्कृतिक निबन्धका तीन, कविताका पाँच, मुक्तकका पाँच, हाइकुका दुई, नियात्राका एक, अनुवादका एक, जीवनीपरक निबन्धका तीन, बालसाहित्यका नौ र संस्मरणको एक कृति प्रकाशित छन् भने सोही संख्यामा उनले साहित्यका विविध विधाका कृति सम्पादन समेत गरेका छन्। उनै सूर्य लाकोजूको कथासंग्रह सत्याग्रहबारे एक पाठकको नाताले केही शब्द कोर्ने जमर्को गरेको छु।

कथाकार लाकोजूको सत्याग्रह कथासंग्रहमा विविध विषयका एघार कथा छन्। सङगृहीत कथाहरूले देशभक्तिको भावना बोकेका छन्। वर्तमान राजनीतिको विषयमा पनि कथा बोलेको छ। कथाहरूले समाजिक विकृति, विसंगतिहरूलाई निमिटयान्न पार्नुपर्ने विचार पनि उठाएको देखिन्छ। जनताको नागरिक हक र अधिकार प्राप्तिको लडाइँको विषयलाई पनि कथाले बोलेको छ। हुँदा खानेहरूको पीडाको चित्रण कथामा छ। कथाहरूमा प्रेमप्रणयका विषय पनि उठाइएको छ। प्रेमलाई प्रेरणा र समर्पणको रूपमा चित्रण गर्ने काम कथाका माध्यमबाट कथाकारले गरेका छन्।

सो कथासंग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो। एघार कथा उनिएको यो कथासंग्रह नाम अनुसार त्यत्तिकै सशक्त र द्वन्द्वात्मक पाएको छु। कथामा प्रायः भुई मान्छेहरूको यथार्थ जीवनको चित्र कोरेको देखिन्छ। छाया पीडाबोधको चित्रण हुनुको साथसाथै प्रेम प्रसंगले पनि ओतप्रोत छन्।

क्रमशः सत्याग्रह, कमाल, अव्यक्त प्रेम, घडेरी, लाले, आमा, स्मृतिका, उद्वार, उपहार, बुनु , छविलाल आदि शीर्षक रहेको यस सत्याग्रह कथासंग्रहमा मानवीय समवेदनाको मार्मिक चित्रण पाइन्छ।

कथाहरूमा प्रेमप्रणयका विषय पनि उठाइएको छ। प्रेमलाई प्रेरणा र समर्पणको रूपमा चित्रण गर्ने काम कथाका माध्यमबाट कथाकारले गरेका छन्।

संग्रहको प्रथम कथा सत्याग्रहमा प्रजातन्त्र र स्वतन्त्रताप्रति समर्पित भएर बाँचेकी एक नारीको असफल प्रेम कथा चित्रण गरिएको छ।

कमाल कथामा मानवता नै सुख र सत्यको स्रोत हो भन्ने विचारको चित्रण पाइन्छ। मानिस धनले होइन मनले सम्पन्न हुन आवश्यक छ भन्ने धारणा पनि कमालमा छ।

अव्यक्त प्रेममा कर्तव्य र प्रेम बिचको मार्मिक द्वन्द्व देख्न सकिन्छ। घडेरी कथाले हुँदा खाने वर्गको पिर-व्यथाको कारुणिक चित्रण रहेको छ। जनप्रतिनिधिहरू अदूरदर्शी बन्दा विपन्न परिवारको उठिबास भएको सन्दर्भ घडेरी कथामा देखाइएकाे छ।

त्यस्तै बुनु कथामा वर्तमान जगतको मोबाइल संस्कृतिले दिशाहीन बनाइरहेकी एक प्रतिनिधि पात्रको मनोदशा देखाइएको छ। सामाजिक सञ्जालको दुरूपयोगका कारण मानिसको जीवनमा पर्ने कुप्रभाव बुनू कथाले देखाइएको छ।

आमा कथामा छोराहरू मूर्ख भएपछि आमाबाबुको हुर्मत कसरी लिंदो रहेछ भन्ने सूक्ष्म चित्रण छ। उद्वार नामक कथाले कोरानाकालीन बेथितिको झलक देखाइरहेको यथार्थ प्रस्तुति गर्दछ।

बुनु कथामा वर्तमान जगतको मोबाइल संस्कृतिले दिशाहीन बनाइरहेकी एउटी प्रतिनिधि पात्रको मनोदशा देखाइएको छ। सामाजिक सञ्जालको दुरुपयोगका कारण मानिसको जीवनमा पर्ने कुप्रभाव बुनू कथाले देखाइएको छ।

लाले समाजले उपयोग मात्र गरेको पात्र हो। समाजको स्वार्थी प्रवृत्ति लाले कथामा देखिन्छ। स्मृतिका असफल प्रेमको कथा हो। प्रेम प्राप्ति मात्र होइन, त्याग र समर्पण पनि हो भन्ने यस कथाले बताउन खोजेको देखिन्छ।

धर्ममा आस्था राख्ने प्रजातन्त्रको पक्षधर छविलाल काका लोकतन्त्रका लागि लामो समयसम्म लडेका योद्धा हुन्। उनको त्याग र बलिदानको मूल्यांकन कसैले गरेन। यी यथार्थलाई कथाकार लाकोजूले छविलाल काका कथामा देखाएका छन्।

लाकोजूका कथाहरू सरल र सरस छन्। पढ्न बसेपछि विश्राम लिन मन मान्दैन। यो सत्याग्रहको विशेषता हो। सत्याग्रहका विविध विषयका कथाहरू रहेकाले पाठकले आफ्नो रुचि अनुसारको कथा पढ्न पनि सक्दछन्।

प्रकाशित: २१ वैशाख २०८० ०५:३५ बिहीबार

अक्षर