कला

रारातालमा चार कृति लोकार्पण

अविरल मुक्तक यात्रा परिवारले रारातालमा रुद्र अधिकारीको मुक्तकसंग्रह शून्य गगन, विष्णु थापा विछोडको मुक्तकसंग्रह जीवनको लय,लव खड्का जय भद्रकालीको मुक्तकसंग्रह कैवल्य र रविन्द्र आशिष शैलीको कवितासंग्रह हिंडिरहेका आँखाहरू लोकार्पण गरेको छ।

काठमाडौंबाट वैशाख ९ गते हिंडेका चार स्रष्टाले ११ गते राराताल पुगेर कृतिकार आआफैंले आआफ्नो कृति लोकार्पण गरेका थिए।

नौलो प्रयोगको साथ गरिएको उक्त कार्यक्रम पहिलो हुन सक्ने अविरल मुक्तक यात्राका संयोजक तथा अध्यक्ष रुद्र अधिकारीले दावी गरेका छन्। सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली साहित्य समाजले चार सर्जकलाई स्वागत गरेका थिए।

सुन्दर उपत्यका सुर्खेत हुँदै दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुमा रहेको राराताल सडक बाटो प्रयोग गरी सजिलै पुग्न सकिन्छ।

कर्णाली नदीको तिर, सुन्दर उपत्यका जुम्ला, पहाडी बजार कालिकोट र खस भाषाको उद्गमस्थल सिंजा उपत्यका साथै सुर्खेत वीरेन्द्रनगरमा रहेको रमणीयस्थल काँक्रे विहार, गंगामाला देउती बजै साथै बुलबुल तालको समेत अवलोकन गरी फर्कने दिनमा बुलबुल ताल परिसरमा कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी र उपाध्यक्ष देवकी तिमिल्सिनाले  संयोजन तथा साहित्यिक कार्यक्रम आयोजना गरी विदाई समेत  गरेका थिए।

रारामा कृति विमोचन  साहित्यिक यात्रा  कार्यक्रम १५ गते काठमाडौ आएर समापन गरिएको थियो।

प्रकाशित: १८ वैशाख २०८० ०५:१३ सोमबार

अक्षर