कला

स्याबास केटा!

नियात्रा

नयाँ मान्छे भेट्नु, ठाउँ हेर्नु, विभिन्न खाले जीवनको अवलोकन र अनुभूति गर्नु, स्थानीय विशेषता बुझ्नु, त्यहाँका परिकार खानु अनि लुइँलुइँ साइकल चलाउँदै जानु अचेल मेरो जीवनको रङ्गीन पक्ष बन्दै गइरहेछ।

समथर ठाउँमा पो साइकल चढेर भ्रमण गर्ने हो, कहाँ डाँडाकाँडा पनि साइकल चढेर यात्रा गर्न सकिन्छ र? मैले यस्तो सोच्थें। अरूको के कुरा भयो र, आफै पो साइकलमा डाँडाकाँडा चढ्दै यात्रा गर्ने भइयो। साइकल चढ्दा प्राप्त हुने ऊर्जा, आत्मविश्वास अनि यसले सकारात्मक सोचलाई गर्ने मलजलका कारण म नियमित रूपमै साइकल चढ्ने भएको छु।

कोरोना कालमा अलि फुर्सद भएकाले म लामो दुरीको यात्रामा पनि जाने गर्न थालें। साइकल यात्रा गरेर नै मलाई सोलुखुम्बु क्षेत्र जान मन लाग्यो। त्यताका एउटा पथ-प्रदर्शकलाई सहयोगी बनाई म त्यो क्षेत्रको यात्रामा निस्कें।

नयाँ मान्छे भेट्नु, ठाउँ हेर्नु, विभिन्न खाले जीवनको अवलोकन र अनुभूति गर्नु, स्थानीय विशेषता बुझ्नु, त्यहाँका परिकार खानु अनि लुइँलुइँ साइकल चलाउँदै जानु अचेल मेरो जीवनको रङ्गीन पक्ष बन्दै गइरहेछ।

सोलुखुम्बु जाने चौ-चौ

नेपाल नचिन्ने विदेशीले माउन्ट एभरेस्ट चिन्छन्। नेपाललाई त्यो शिखर भएको देश र आफूलाई त्यो देशको बासिन्दा भनेर कति जना विदेशीलाई चिनाउनु परेको छ। उनीहरूलाई सोलुखुम्बु जिल्ला थाहा नभए पनि मलाई त थाहा छ नि। त्यसैले त्यता जान मन चौ-चौ गर्‍यो।

मान्छेले साँच्चै निर्मल प्रकृतिको रसास्वादन गर्न पाउने मुख्य ठाउँ हिमाल वा पहाड नै होला। त्यसैले हिमाल र उच्च पहाडतिरको रनवन घुम्नुलाई साङ्ग्रिला भनेको सुनेको पनि हुँ। त्यता हिँड्दा घरिघरि अप्रतीम मुस्कान भेटिन्छ। त्यताका बासिन्दामा अनि आफूमा पनि त्यस्तै आनन्दातिरेक भएर मुस्काउन मन लाग्छ।

हिमालतिरका दृश्य जादुमय लाग्छन्। विगतका यात्राका अविस्मरणीय सम्झनाले डोर्‍यायो पनि र म फेरि फाप्लु जाने निर्णयमा पुगें तर यसपटक साइकलमा। पहाडतिर साइकल चलाएर घुम्नु त्यति सहज र सामान्य अभ्यासको कुरो होइन तर मलाई यसो गर्ने चाहना बनेर आयो। यस्तो चाहना हुनुको कारण अचेल साइकल यात्रा मेरो रुचि बन्नु हो।

मान्छेले साँच्चै निर्मल प्रकृतिको रसास्वादन गर्न पाउने मुख्य ठाउँ हिमाल वा पहाड नै होला। त्यसैले हिमाल र उच्च पहाडतिरको रनवन घुम्नुलाई साङ्ग्रिला भनेको सुनेको पनि हुँ।

फाप्लुमा तारा र समिट वायु सेवाको जहाजले नियमित उडान गर्छन्, त्यसैले जान सहज पनि छ। साइकल यात्रा काठमाडौंदेखि नभई फाप्लुमा विमानबाट झरेपछि गर्ने योजना बनाएर म रमाना भएको थिएँ।

काठमाडौंदेखि फाप्लुसम्म समिट एयरको १३ सिटे हवाइजहाजमा उडियो। यो यात्रा जम्मा २० मिनेट जतिको थियो। त्यहाँ पुगेपछि मेरा पथप्रदर्शक हुने भनिएका किरण वाइबा मलाई लिन विमानस्थलमा आएका रहेछन्। मैले साइकल जहाजबाट निकालेर चक्का जोडें अनि बजारतिर लाग्यौं दुई जना।  

नोभेम्बरको महिना, चिसो चिसो भइसकेको थियो। ऊनीको बख्खु, ज्याकेट र पान्ग्देन लगाएका शेर्पा-सेर्पिनीहरू बाटोमा देखिन थाले। सडक धेरै ठाउँमा पुग्नाले देशको एक भागमा अर्को भागका मानिस देखिनु, भेटिनु सामान्य भएको छ। जस्तै हिमालतिर मध्य पहाड र तराईका अनि तराईमा पहाडका त कुरै छाडौं, हिमालतिरका मानिस भेटिन्छन्।

काठमाडौंदेखि फाप्लुसम्म समिट एयरको १३ सिटे हवाइजहाजमा उडियो। यो यात्रा जम्मा २० मिनेट जतिको थियो।

अझ यसो भनौं, एक खाले मानिस मात्र एक ठाउँमा देखिन छाडेर थरीथरीका मानिस देखिन, भेटिन थालेका छन्, अन्तरघुलन बढेको छ। फाप्लुजस्तो ठाउँमा पुग्दा पनि यस्तै भयो। हुन त यो पर्यटकीय जिल्ला भएर यस्तो भएको हो कि ! तर लुक्लातिर जस्तो धेरै पर्यटक आउने क्षेत्र पनि त होइन यो क्षेत्र।  

फाप्लु विमानस्थल अक्टोबर १९७६ मा खोलिएको रहेछ र पछि सर एडमन्ड हिलारीको पहलमा डिएचसी–६ ट्विनअटर विमानले उडान गर्न सकोस् भनी फराकिलो बनाइएको रहेछ।

अझ यसो भनौं, एक खाले मानिस मात्र एक ठाउँमा देखिन छाडेर थरीथरीका मानिस देखिन, भेटिन थालेका छन्, अन्तरघुलन बढेको छ।

इन्टरनेटले जानकारी गरायो– यो विमानस्थल समुद्री सतहभन्दा ७,९१८ फिट (२,४१३ मिटर) माथि छ। रनवेको लम्बाइ ६७१ मिटर (२,२०१ फिट) छ अर्थात् आधा किलोमिटरभन्दा अलि लामो मात्र। नुम्बुर हिमाल पृष्ठभूमिमा देखिने रहेछ। फाप्लु विमानस्थल-यो भेगका जनताका लागि राजधानी आवतजावत गर्ने मूलद्वार नै भने हुन्छ।

यात्राको तारतम्य

म धेरै यात्रा गरिराख्ने भएकाले यात्राको बन्दोबस्त गर्न मलाई सजिलो लाग्छ तर यो यात्राका लागि मानसिक रूपमा तयार हुन मलाई निकै समय लाग्यो, झन्डै ३ महिना। तीन पटकसम्म जान्छु भन्दाभन्दै के दुःख बेसाउन जानु जस्तो लागेर नजाने निर्णय गरेको यात्रा पनि हो यो। तर मन फेरियो फेरि र अन्ततः यात्रामा निस्कने दिन आयो।

जाने कि नजाने तुलबुल तुलबुलमै ब्युझिएँ बिहान। समिट एयरको म्यानेजरलाई फोन लगाएँ, ७ बजे एयरपोर्ट आइपुग्नू भने। भनेकै बेलातिर एउटा ब्याक प्याक बोकेर साइकलमा नै पुगें। सिङ्गै साइकल प्लेनमा राख्न अप्ठ्यारो हुने भएकाले दुइटै चक्का निकालेर छुट्याउनुपर्छ, हावा पनि निकाल्नुपर्छ, ट्युब पड्किन्छ भने। यस्ता झिल्टा काम गर्न पटक्कै मन नपरे पनि गर्नै पर्‍यो। कसले गरिदिने र ! यी सबै गर्दैगर्दा उत्सुकतापूर्वक मानिसहरू हेरिरहे।

म धेरै यात्रा गरिराख्ने भएकाले यात्राको बन्दोबस्त गर्न मलाई सजिलो लाग्छ तर यो यात्राका लागि मानसिक रूपमा तयार हुन मलाई निकै समय लाग्यो, झन्डै ३ महिना।

‘सर नमस्कार!’ एक जना भाइबाट अभिवादन आयो, ‘म अनुप एन्फोको।’

कुराकानीमा उनले मन खोले-मेरो साइकलवाला व्यक्तित्वबाट प्रभावित भएको भनेर प्रशंसा सुन्दा मज्जा नआउने कुरै भएन। एन्फो एक नाम चलेको गैरसरकारी संस्था हो, वाटर एड भन्ने संस्थाको साझेदार संस्था। म पूर्वी टिमोरमा २००६ देखि २०१३ को अवधिमा वाटर एडको देशीय निर्देशक थिएँ।

यसै गरी अर्का एक जना व्यक्ति मसँग बोल्न आए। मैले साइकलको पाङ्ग्रा खोल्दै गरेको देख्दा उनलाई कौतुहल लागेछ। ‘तपार्इं कता साइकल चढ्न जान लागेको?’

मैले भनें, ‘फाप्लु।’ उनले भने, ‘कति राम्रो। फाप्लुको प्रचारप्रसार गर्नुहुने भो !’

उनी योहो टिभीका मालिक रहेछन्। साइकलका कारण म त अलिक फरक, अलि कौतुहलको मानिस पो बनेछु। बच्चादेखि बुढासम्मले मेरो चर्तिकला उत्सुकता राखेर हेरिरहेको चाल पाइरहेको थिएँ।

रतनाङ्गे डाँडा

किरणसँग बसेर यात्राको योजना (आइटिनिनेरी) बनायौं-पहिलो दिन सल्लेरी वरिपरि, दोस्रो दिन रतनाङ्गे, तेस्रो दिन जुनबेसी, चौथो दिन तल्लो सल्लेरी अनि पाँचौं दिन काठमाडौं फर्कने तय भयो।  

किरण त्यहींका युवक हुन् २८-३० वर्षका। उनी साइकल चलाउन खप्पिस हुनुका साथै बनाउन जान्ने मेकानिक पनि हुन्। उनलाई मैले काठमाडौंबाट नै मेरो यात्राका लागि राइड-गाइड बन्ने गरी प्रबन्ध गरेको थिएँ। मेरो उद्देश्य स्थानीयलाई सहयोग गर्ने पनि थियो। प्रतिदिन ४ हजार रूपैयाँ दिने गरी कुरा तय भएको थियो चार दिनका लागि।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीको उचाइ २३०० मिटर रहेछ भने रतनाङ्गे डाँडाको उचाइ ३४०० मिटर रहेछ। डाँडो चढ्दा गाह्रो हुन्छ अनि अनेक कुरा मनमा खेल्छन्। रतनाङ्गे डाँडाको उकालोले उत्सुकता पनि जगाइराखेको थियो। त्यति बेला मनमा पहाड र जीवन उस्तै उस्तै भएको महसुस भयो। इन्च-इन्चमा कठिनाइ, इन्च-इन्चमा प्राप्ति अनि इन्च-इन्चमा नवीनता।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीको उचाइ २३०० मिटर रहेछ भने रतनाङ्गे डाँडाको उचाइ ३४०० मिटर रहेछ। डाँडो चढ्दा गाह्रो हुन्छ अनि अनेक कुरा मनमा खेल्छन्।

पहाडको उचाइ पुग्न पक्कै गाह्रो हुन्छ। साइकलमा लाग्ने आफ्नै बल, पसिना हो। खुट्टाबाट निकाल्ने बलले साइकलको पांग्रा घुमाउने हो। बल निकाल्दा असिनपसिन हुने त छँदै छ। कतिपय ठाउँमा असिनपसिन भएर मात्र पनि पुग्दैन, आफूलाई बोक्ने साइकललाई नै आफैले बोकेर हिँड्नुपर्ने नौबत पनि आउन सक्छ, निकै ठाडो उकालो छ, बाटो असजिलो छ भने।

साइकल चलाउँदा मस्तिष्कमा अक्सिजनको आपूर्ति बढ्छ। त्यसैगरी डोपामाइन ‘खुसी हर्मोन’ उत्सर्जन हुन्छ र एन्डोर्फिन हर्मोनको उत्सर्जनले सकारात्मक भावना पैदा गर्छ। यसले गर्दा साइकल उकालोमा चलाउँदा पनि मनोबल बढेर मद्दत पुग्छ।

दस वर्षको हुँदादेखि नै नयाँ ठाउँमा गएको यात्राको सम्झना छ, अनुभव छ। दस वर्षको उमेरमा भद्रपुर (झापा), राजविराज, सिक्किम, दार्जिलिङ, कालिम्पोङ, गुवाहाटी, सिलिगुडी, काँकडभित्ता, धुलाबारी, बिर्तामोड, विराटनगरजस्ता ठाउँहरू घुमेको याद आउँछ अनि मन प्रफुल्ल हुन्छ।

अनेक अनुभव भोगेर भेट्छ मान्छेले जीवनको स्वाद, चाहे त्यो अप्रिय नै किन नहोस् किनकि तितो पनि त स्वाद हो र मिठो पनि त लाग्छ हामीलाई तितो करेला अनि सिप्लिकान।

परिवर्तन जीवनको अङ्ग हो। परिवर्तनबाहेक अरू के नै स्थायी छ र यो संसारमा। साइकलको यात्रा गर्ने सोखका कारण परिवर्तनहरू चाँडो चाँडो अनुभूति गर्ने अवसर प्राप्त हुन्छ किनकि साइकल चलाउँदा छिटो छिटो दृश्यहरू फेरिन्छन्, तापक्रम फेरिन्छ।

दस वर्षको हुँदादेखि नै नयाँ ठाउँमा गएको यात्राको सम्झना छ, अनुभव छ। दस वर्षको उमेरमा भद्रपुर (झापा), राजविराज, सिक्किम, दार्जिलिङ, कालिम्पोङ, गुवाहाटी, सिलिगुडी, काँकडभित्ता, धुलाबारी, बिर्तामोड, विराटनगरजस्ता ठाउँहरू घुमेको याद आउँछ अनि मन प्रफुल्ल हुन्छ।

सल्लेरीबाट ११०० मिटर अग्लो रतानाङ्गे यात्रा साइकलमा गर्दा यस्ता छिटो परिवर्तनको खुब अनुभूति हुने नै भयो। शिखरमा पुगेपछिको आनन्द बिछट्टै, देखिने दृश्य सारै अनुपम, हन्डर खाँदै खाँदै जीवनमा भेटिएको सफलताजस्तै, सगरमाथा आफ्नो अगाडि उभिएजस्तै।

सगरमाथाको यति ठुलो खण्ड देख्न अर्को ठाउँ कालापत्थर नै जानुपर्छ। त्यसैले मेरो निर्क्याेल के रह्यो भने पूर्ण सगरमाथा सजिलै हेर्ने चाहना छ भने लुक्ला र नाम्चे बजार होइन, फाप्लु जानोस् अनि रतनाङ्गे डाँडा उक्लनोस्। यहाँबाट जस्तो त्यताबाट देखिन्न।

जुनसुकै डाँडा पुगे पनि एउटा कुरा चसक्क बिझ्थ्यो। त्यो हो भ्यु टावर। ३४०० मिटरको डाँडाको शिखरमा समेत रहेछ भ्यु टावर। त्यो डाँडाको शिखरबाट जे जति देखिन्छ, केही मिटर अग्लो भ्यु टावरबाट बढी के देखिने हो र!

रतनाङ्गेको शिखरमा भ्यु टावर त भाङ्ग्राको टोपीमा गुएँलाको फूल नै देखियो! एउटा दार्शनिकले ठिक भनेका छन्-भेडाहरूको देशमा ब्वाँसाहरू शासक हुन्छन्। नेपाललाई हेर्दा यो उक्ति मिलेझैं लाग्छ मलाई। एउटा स्रोतका अनुसार झन्डै ३ अर्ब रूपैयाँ खर्च भयो रे नेपालभरि एक वर्षभरि भ्यु टावर बनाउँदा। गरिबी र न्यूनतम आवश्यकतालाई जगमुनि पुरेर अट्टहास गर्दै उभिएका छन् भ्यु टावरहरू !

जुनसुकै डाँडा पुगे पनि एउटा कुरा चसक्क बिझ्थ्यो। त्यो हो भ्यु टावर। ३४०० मिटरको डाँडाको शिखरमा समेत रहेछ भ्यु टावर।

डाँडाकाँडा चढ्दा कहिलेकाहीं प्रकृतिको क्रूर झाप्पु पनि सामना गर्नुपर्ने हुन्छ-असिना, पानी, चट्याङ आदि। बाग्लुङको साइकल यात्रामा झरीले खुब झाप्पु हानेको थियो। रतनाङ्गेको झन्डै ४ घण्टाको बसाइ भने पूरै घमाइलो रह्यो। जे जति देख्न मिल्ने हो छर्लङ्ग देखियो। भाग्यवादमा विश्वास गरेर भन्ने हो भने ‘ओहो ! मेरो भाग्य’ मौसमले साथ दिएकोमा प्रकृतिलाई धन्यवाद!

पोहोर साल दसैंताका हामी साथीहरू मिलेर पिके पिक साइकलमा जाँदा झरीले गर्दा बीचबाटो धापबाट फर्कनुपरेको नरमाइलो सम्झना ताजै छ। वातावरणीय परिवर्तनका कारण मौसमको सामान्य पूर्वानुमान गर्न पनि गाह्रो हुँदै छ।

लुम्बुर हिमाल, पिके पिक आदि प्रख्यात थलोको अवलोकन गर्न पाउँदा मन्त्रमुग्ध भएका एक पर्यटक समूहले विभोर हुँदै पोखेको भनाइ सम्झना आयो, ‘देश हो तो ऐसा, क्यों करे ख्वाहिस स्वर्ग कि, स्वर्ग भी नेपाल जैसा सुन्दर नहीं होगा !’ मलाई पनि फाप्लु वरपर घुम्दा र आँखा अगाडि नै सगरमाथासहितको हिमशृंखला देखेर त्यस्तै महसुस भयो।

उकालो र ओरालो डाँडाकाँडा हिँड्दा उकालो मात्र हुन्न र ओरालो मात्र पनि हुन्न यदि सिरानतिर पुग्ने हो भने। मुस्किलले उकालो चढ्यो, त्यही चढेको उकालो जति प्रायः झर्नुपर्ने हुन्छ र ओरालो झर्न पाउँदा उकालो चढ्दाको मुस्किल फतक्क पग्लिन्छ।

ओरालोमा अलि जोखिम त रहन्छ नै र त्यसैमा मज्जा पनि लुकेको हुन्छ साइकल चलाउँदा। राम्रो होस् पु¥याउन सकिएन र लडियो भने करङको हड्डी, कलर बोन भाँच्चिने, लिगामेन्ट च्यातिनेजस्तो डर हुन्छ।

पोहोर साल दसैंताका हामी साथीहरू मिलेर पिके पिक साइकलमा जाँदा झरीले गर्दा बीचबाटो धापबाट फर्कनुपरेको नरमाइलो सम्झना ताजै छ।

हामी मजा लुट्न भनी चढेको होइन, फरक बाटो झर्‍यौं। यो बाटो अलि टेक्निकल तथा जंगल ट्रेलको झल्को दिने खालको रहेछ। ठाउँ ठाउँमा माने (बुद्धको मूर्ति तथा मन्त्र ढुंगामा कुदेर लस्करै स्थापना गरिएकालाई भनिने रहेछ) लाई दायाँ पार्दै सल्लेरी पुग्यौं। प्रकृतिको विविध रूपरंगलाई स्पर्श गर्दै, लडीबुडी खेल्दै बास बस्ने शेर्पा लज पुगियो।

बेलुकाको खानामा मःम र थुक्पा थियो। फाप्लुको शेर्पा लजमा यस्तै कुरा त खाने हो नि, सधंै खाने दाल, भात, तरकारी के खानु। मलाई यस्तै मन पर्ने। अझ त्यसमाथि यताको परम्परागत चुलोको नजिकै बसेर खाने सारै रहर लाग्यो, भलै डाइनिङ हल ठुलै थियो।

जुनबेसी

तेस्रो दिन जुनबेसी लागियो। जुनबेसी तल्लो सोलुखुम्बु क्षेत्रको २७०० मिटर उचाइमा रहेको सुन्दर शेर्पा गाउँ। परिदृश्य र यसको प्रकृति आश्चर्यजनक रूपमा सुन्दर छ। यहाँका मानिसहरू आफ्नो मौलिक संस्कृति र परम्पराले धनी छन्।

सगरमाथा आधार शिविर पदयात्रा वा पिके पिक पदयात्रा गर्ने पदयात्रीहरूका लागि यो सबैभन्दा महत्वपूर्ण जक्सन थियो। लुक्ला विमानस्थल बनेपछि यो बाटो अलि ओझेलमा परेको छ। पदयात्रीहरू लुक्लाको विमानस्थल प्रयोग गर्छन् सगरमाथातिर जान।

बाटो जुनबेसी खोलाको तिरैतिर गएर अलि परदेखि उकालो लाग्छ। ठाउँ ठाउँमा ससाना बस्ती छन्, जहाँ चिया खान पाइन्छ। लगभग २ घण्टामा जुनबेसी पुगियो। बस्तीको बीचसम्म पुग्न पैदल हिँड्नुपर्छ। गाडीको बाटोले गाउँको मौलिकता नासिने भएकाले पैदल मार्ग मात्र राखिएको हो भन्ने सुन्दा विचार पु¥याएजस्तो लाग्यो।

तेस्रो दिन जुनबेसी लागियो। जुनबेसी तल्लो सोलुखुम्बु क्षेत्रको २७०० मिटर उचाइमा रहेको सुन्दर शेर्पा गाउँ। परिदृश्य र यसको प्रकृति आश्चर्यजनक रूपमा सुन्दर छ।

हरेक गाउँ प्रवेश गर्ने ठाउँमा प्रवेशद्वार बनाउने विशेषता यहाँ पनि देखियो। कलात्मक ढोका शेर्पा÷तिब्बतियन शैलीको थियो, शेर्पा गाउँ आएको भन्ने भान हुन्थ्यो। सबैभन्दा मनमोहक गाउँको बीचमा गुम्बा थियो। यसका सबै भित्ता र छतमा बौद्ध चित्र (थाङ्का) बनाइएका थिए र बीचमा बुद्धको विशाल मूर्ति थियो। यो गुम्बा कम्तीमा ४०० वर्ष पुरानो रहेको अनुमान गरिन्छ।

म केटाकेटी हुँदा, २०३० सालताका शेर्पालगायतका हिमाली क्षेत्रका मानिस हाम्रो टोलसँगै काठेसिम्बु (श्री ः घ विहार) मा पुस र माघ महिनाको जाडो छल्न आउँथे।

त्यसैगरी शेर्पा रेस्टुरेन्ट पनि हाम्रो घर भएको क्वाःबहाल–ठमेल भेगमा निकै थिए। तोम्बा, मम, थुक्पा आदि सानैदेखि मन पर्‍यो मलाई, जुन शेर्पा रेस्टुरेन्टमा मिठो पाइन्थ्यो र खुब खाइयो पनि।

अलिपछि जब म काम गर्न थालें, सन् १९९५ तिर, टेन्ग्बोचे गुम्बा, सोलुखुम्बुको खानेपानी बनाउँदा योजनाको अनुगमनमा ३/४ पटक गइयो। त्यहाँका सम्मानित रिम्पोछे गुरुसँग भेट्ने मौका पनि पाएको थिएँ। शेर्पा संस्कृति तथा त्यहाँको प्राकृतिक सौन्दर्यले मलाई लोभ्याउन थालेको सम्झन्छु।

यात्राअघि शेर्पा होटेलमा ब्रेकफास्टमा तिब्बतियन रोटी र सोलुको आलु त छोड्नै भएन। तिब्बतियन रोटीप्रति मेरो विशेष लगाव छ। बेलाबेला काठमाडौंको बौद्धमा पनि जाने गरेको छु यो रोटी खान। तिब्बतियन रोटी आटाले बनाइएको हुन्छ। यो साधारण पुरी रोटीभन्दा ठुलो र मोटो हुन्छ। रोटीको बीचमा लाम्चो चिरेको हुन्छ, अनि डबल अम्लेट मेरो दैनिक ब्रेकफास्टमा हुन्छ नै। यसमा घिउ हालेर बनाइने हिमाली चियाले फाप्लुको विशेषता थप्यो। यति खाएपछि फेरि खान नपाए पनि ढुक्क भयो।

अलिपछि जब म काम गर्न थालें, सन् १९९५ तिर, टेन्ग्बोचे गुम्बा, सोलुखुम्बुको खानेपानी बनाउँदा योजनाको अनुगमनमा ३/४ पटक गइयो।

बाटोमा साइकल चलाउँदै जाँदा वरिपरिका ठाडा तथा भिरहरूमा बसेका मान्छेलाई हेर्दै गयौं। हिउँको रापमा सेकिएर र उकालो ओरालो गरेर मुस्तन्ड बनी पहाड नै हल्लाउन सक्लान् जस्ता बसेका मान्छेहरू छन् फाप्लुमा। ठाडा पाखामा चौंरी र भेडाहरू चरिरहेका छन्। बडेमानका चट्टानमाथि मान्छेका आस्थाले निर्मित छन् छोर्तेन र गुम्बाहरू बाटैभरि। फहराइरहेछन् मन्त्र प्रिन्टेड तोरणहरू। शेर्पा जाति बौद्ध धर्मावलम्बी रहेको यिनले नै बताउँछन्।

यिनै दृश्य हेर्दै, हिउँ पग्लेर बगेको खोला बग्दै गर्दाको कलकल सङ्गीत सुन्दै, उकालो चढ्दै २ घण्टामा जुनबेसी पुगियो।

जुनबेसीको बसाइमा हामीलाई मौलिक खाना खाने मौका मिल्यो। प्रमुख शेर्पा खाना रिकि-कुर (आलु रोटी), स्याक्पा (नुडल), मम र याकको घिउ विशेष थियो।

राति हिलारी रुममा सुत्न दिए। एडमन्ड हिलारी आउँदा सो कोठामा सुत्ने हुनाले उनको नाममा राखिएको रहेछ यो कोठाको नाम। यो गेस्ट हाउस काजी शेर्पाको रहेछ र उनी हिलारीका मित्र रहेछन्। जुनबेसीबाट फर्कंदा बाटो ओरालो थियो तसर्थ सजिलो भयो।

यिनै दृश्य हेर्दै, हिउँ पग्लेर बगेको खोला बग्दै गर्दाको कलकल सङ्गीत सुन्दै, उकालो चढ्दै २ घण्टामा जुनबेसी पुगियो।

भोलिपल्ट बिहानै फाप्लु एयरपोर्ट साइकलमा नै गएँ। किरण पनि आए बिदा गर्न। ९ बजेतिर समिट एयरको जहाज आइपुग्यो। २० मिनेट उडेपछि जहाजले काठमाडौंको जमिन टेक्यो।

आफै यसो सम्झें-स्याबास केटा ! साइकलमा सगरमाथाको नजिक पुगेर आइस् ! सायद मैले नै यसो भन्नु पर्दैनथ्यो यदि मेरा बाआमा आजसम्म बाँचेका भए। उहाँहरूले मलाई हौस्याउनका लागि पक्कै पनि स्याबास! भन्नुहुँदो हो।

प्रकाशित: १६ वैशाख २०८० ०३:०४ शनिबार

अक्षर