कला

प्रदीप खड्का: सिने उद्योगका नयाँ आशा

नेपाली सिने उद्योगमा केही यस्ता सीमित फिल्म छन्, जसले सिने इतिहासमा आफ्नो स्थान बनाएका छन्। प्रथम नेपाली चलचित्र ‘आमा,’ प्रथम रंगीन चलचित्र ‘कुमारी,’ प्रथम सिल्भरजुब्ली (सिनेमा हलमा धेरै दिन चलेको) ‘जीवनरेखा’, नेपाल–भारत लगानीको ‘पञ्चवटी’, अस्कर अवार्डमा नामाङ्कित ‘क्याराभान’ सँगै पछिल्लो पटक यो सूचीमा ‘प्रेमगीत ३’ परेको छ।

यो फिल्मलाई नेपाली फिल्म इतिहासमा यस कारण महत्वको मानियो कि पहिलो पटक भारतीय सिनेमा हलहरुमा एक साथ रिलिज हुँदै अहिलेसम्मकै सबैभन्दा बढी व्यापार गर्न सफल भयो। यो नेपालमा निर्मित कुनै पनि फिल्मले पाएकोमध्ये दुर्लभ अवसर थियो। र, यसको श्रेय लिए– अभिनेता प्रदीप खड्काले। 

उनले नेपाली फिल्मलाई भारतमा डबिङ गरी हिन्दी भाषामा रिलिजको ढोका खोलेर, नेपाली फिल्मका लागि अवसर देखाइदिए। यसै कारण उनी सिनेमा भित्रका नायक मात्र बनेनन्, फिल्म उद्योगकै तारणहारका रुपमा उदाए।

नेपालमा हरेक वर्ष औसतमा ८० देखि ९० वटा फिल्म बन्ने गर्छ। कोभिड १९ का कारण दुई वर्ष यता फिल्मको निर्माण सुस्त भएकाले २०७९ मा मात्र ४६ वटा फिल्म रिलिज भए। विदेशी फिल्मको समेत संख्या जोड्दा १३२ वटा हुन पुग्छ। यी सबैको बक्स अफिस व्यापार अनुमानित एक अर्ब ६२ करोड बढी रहेको छ।

यस्तोमा नेपालभित्रै असल नेपाली फिल्मको बजार राम्रो छ भन्ने उदाहरण ‘कबड्डी ४’ ले देखाएको छ। यसले सिनेमा हलबाट मात्र २१ करोडको व्यापार गरेको छ। प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’ ले भने नेपाली संस्करणबाट मात्र साढे सात करोड बढी व्यापार गर्न सफल भयो। भारतमापनि लगभग यही स्तरमा व्यापार गरेर ‘प्रेमगीत ३’ले एउटा सम्भावनाको पाटो देखाइदियो।

‘प्रेमगीत ३’ को सफलताले नेपाली कथालाई नेपालबाहेक अन्य भाषीमाझ पनि बेच्न सकिन्छ भनी सपना देखाएको छ। खासगरी यही महिनादेखि संसारकै सबैभन्दा बढी जनसंख्या बनेको मुलुक भारतमा नेपाली ‘कन्टेन्ट’ बेच्न सकिँदो रहेछ भनेर देखाएको छ।

‘तर बेच्न भने सजिलो छैन,’ नागरिक नायकका लागि संवाद गर्दै प्रदीप खड्काले भने, ‘कन्टेन्ट बलियो बनाउन सके मात्र हामीले बनाएको गोरेटोलाई अझ फराकिलो बाटो खन्न सकिन्छ।’ त्यही फराकिलो बाटो बनाउने प्रयत्नमा यतिबेला आफूले दिल, दिमाग र दलबल खपिरहेको प्रदीप बताउँछन्। र, यहाँसम्म सोच्नका लागि पनि प्रदीपले एउटा लामो बाटो तय गर्नुपर्‍यो।

स्वप्नजीवी बालक

बालकै छँदाको एक दिन सम्झन्छन्, प्रदीप। उनी निन्याउरो अनुहार लगाएर स्कुलबाट फर्किएका थिए। स्कुलमा केही विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाए। उनीहरुले वाहवाही बटुले तर प्रदीप भने त्यहाँ दर्शक मात्र बने। दर्शक हुँदाको एउटा बेफाइदा हुने रहेछ। अरुको वाहवाही सुन्नुपर्ने र आफूलाई कसैले पनि वास्ता नगर्ने।

आफूलाई वास्ता गरियोस् भन्ने उनको चाहनाले वाहवाही खोज्नतर्फ ध्यान आकृष्ट भयो। कारणवश, स्कुलमा उनले मञ्चमा उभिने अवसर पाएनन्। उनी घरमा अभिभावकसँग गनगन गरे। उनलाई सम्झाउँदै बुवाले भन्नुभयो, ‘मञ्चमा उभिन त विशेष कला हुनुपर्छ।’ उनलाई विशेष कलाका बारेमा थाहा थिएन तर जब उनी किशोर हुँदै जान थाले, अरुको ध्यानाकृष्ट गर्ने चाहनाले बेचैन बनाउन थाल्यो।

बच्चा बेलामा बुवाले भनेको उनलाई याद आयो, कि वास्तवमा अरुको ध्यानाकृष्ट गर्न कला हुनुपर्ने रहेछ। त्यसपछि आफ्नो कला देखाउन उनलाई हुटहुटी हुन थाल्यो तर उनलाई आफ्नो कला केमा छ भन्ने थाहा थिएन। उनले गीतार बोकेर गीत गाउने प्रयास गरे, कलेजमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिए। तापनि उनको नाम र ख्याति बटुल्ने चाहना पूरा हुन सकेन।

कलेजको पढाइ पूरा भएपछि भने उनले जीवनलाई गम्भीर रुपमा लिनैपर्ने भयो। उनी अस्ट्रेलिया जाने कि यहीँ नाम कमाउने भन्ने दोधारमा रहेका बेला साथीभाइसँग मिलेर ‘इस्केप’ नामक फिल्म बनाए। 

‘नाम कमाउने ध्येय र मलाई दर्शकहरुले चिनून् भन्ने आग्रहले नै फिल्म बनाएँ,’ प्रदीप सम्झन्छन्। तर यो फिल्म नराम्रोसँग फ्लप भयो। त्यसमा उनलाई बिल्कुलै चिन्ताको कुरा थिएन किनभने उनले पैसा कमाउने ध्येयले फिल्म बनाएका थिएनन्। फिल्मको पोस्टरमा जब आफूलाई ठूलो देख्थे, उनका लागि यही काफी थियो।

‘अरुको जीवनमा के हुन्छ मलाई थाहा छैन तर मेरो जीवनमा भने एकपछि अर्का संयोगहरु जोडिदै आए,’ नागरिकसँग कुरा गर्दै प्रदीपले भने, ‘जब ठूलो पर्दामा आफूलाई देखेँ, एउटा सन्तुष्टि पलायो तर सँगैमा अर्को कामका लागि पनि हुटहुटी उत्पन्न भयो।’

फिल्म त सिनेमा हलमा लाग्यो तर त्यो हिट भएन। उनी अर्को हिटको प्रतीक्षामा थिए। त्यो प्रतीक्षा ‘प्रेमगीत’ फिल्मले पूरा गरिदियो। यससँगै उनी नयाँ पुस्ताका नयाँ नायकका रुपमा उदाए। उनी जुन बेला उदाए, त्यो बेला राजेश हमालको युग सकिएको थियो। फिल्म उद्योगले ‘कागबेनी’ निर्माण गरेर अलग्गै नयाँ स्वादको घोषणा गरेको थियो। ‘लूट’ को सफलताले त दर्शकको नाडी छामेको मानियो। यस्तोमा मूलधारमा एउटा लबर ब्वाईको खाँचोलाई ‘प्रेमगीत’ मार्फत उनले टार्न सक्लान् भन्ने धेरैको अपेक्षा थियो। नभन्दै सो फिल्म हिट भयो। उनको छवि एउटा प्रेमिल नायकका रुपमा उदायो। यसरी व्यापक दर्शकमाझ आफ्नो परिचय उजिल्याउने उनको सपना पूरा भयो।

अर्को छलाङ

सन्तोष सेन र उनको टोलीले एउटा महत्त्वाकांक्षी फिल्मको कथा लिएर आयो। कथा ‘प्रेमगीत ३’ को थियो र यसलाई हिमाली क्षेत्रमा छायाँकन गरिने भयो। फिल्ममा जोडिएका हरकोही हिमाली क्षेत्रको सुन्दरता र फिल्मको कथाबाट मोहित थिए। त्यसैले यो फिल्मले अर्को मानक बनाउँछ भन्नेमा फिल्म युनिट पक्का थियो। फिल्मका निर्देशक छेतेन गुरुङ र सन्तोष सेनलेसुटिङमा कुनै सम्झौता गरेनन् र तयार भयो एउटा सुन्दर हिमाली कथा।

फिल्म रिलिज गर्ने तयारी हुँदै गर्दा संसारलाई कोभिड १९ ले ठप्प पार्‍यो। फिल्मको आन्तरिक काम हुँदै गर्दा यही बेला फिल्मलाई भारतमा पनि रिलिज गर्ने सम्भावना खोज्दै प्रदीप र फिल्म निर्देशक सन्तोष मुम्बई पुगे। त्यहाँ दुवैले ‘कन्टेन्ट हङ्ग्री’ युग शुरु भइसकेको महसुस गरे। 

सिनेमा हल ठप्प हुँदा ओटिटी प्लेटफर्ममा विविध विषयका सारा संसारका फिल्महरु मान्छेका हातहातमा पुगेको देखे। एकैखाले कथाबाट वाक्क भएका दर्शकलाई केही नयाँ दिन सके नेपाली फिल्मको नयाँ बाटो पाउनेमा उनी पक्का भए। यसका लागि मुम्बईमा नयाँ फिल्म रिलिज गर्न कयौँ स्टुडियोसँग कुरा गरे।

धेरै चरणका कुराकानी, प्रयास र खर्च अनि छ महिनाभन्दा बढी समय मुम्बई डुल्नुको फाइदा उनको फिल्म भारतका विभिन्न ठाउँमा हिन्दी भाषामा रिलिज हुने भयो।

‘यो काम गर्न कति कठिन होला भन्ने थाहा भएको भए शायद कसैले पनि प्रयास गर्दैनथ्यो होला,’ उनले खुल्दै भने, ‘केही पनि थाहा नभएकाले झ्याम्म हाम्फालियो र हेलिँदै पौडन सिकियो।’

नभन्दै हिन्दी भाषामा डब गरिएको ‘प्रेम गीत ३’ कोभिड १९ को आतंकपछि एउटा सुन्दर खबरका रुपमा उदायो। यसले भारतभर लगानीको दोब्बर व्यापार गर्‍यो। फिल्मको लगानी करिब चार करोड थियो। भारतमा मात्र यसले दोब्बर व्यापार गर्‍यो। नेपालमा भने यो ‘कबड्डी ४’ र ‘छक्कापञ्जा ४’ पछि सबैभन्दा बढी कमाउने फिल्मका रुपमा दरियो।

एउटा अभिनेताका रुपमा उनले देखेको अर्को सपना पूरा भयो। त्यसो त कतिपयले उनलाई बलिउडमै बसेर संघर्ष गर्न नसुझाएका होइनन्। उनलाई आफ्नो त्यो बाटो नरहेको प्रस्ट छ।

‘मैले देशमै बसेर अन्तर्राष्ट्रिय रुपमा फिल्म बनाउन सकेँ भने सबैभन्दा ठूलो योगदान हुन्छ,’ उनी भन्छन्, ‘बलिउडमा बसेर संघर्ष गरेर सफल नै भएँ भने पनि मेरा लागि मात्र त्यो फाइदाको कुरा हुन्छ, उद्योगका लागि हुँदैन।’

अबको योजना

‘प्रेमगीत ३’ को अन्तर्राष्ट्रिय बजार परिक्रमाले उनलाई एउटा कुरा सिकायो– हामीले कन्टेन्टमा जोड दिनुपर्छ। राम्रो विषय भएका मनछुने फिल्म बनाउन सकेका खण्डमा संसारभर नै बजार छ। राम्रो फिल्म बनाउन नसके, नेपालमै पनि भविष्य छैन। त्यो कुरा त हरेक वर्ष रिलिज भएका असफल फिल्मको लामो सूचीबाट नै थाहा भइहाल्छ। गत वर्ष रिलिज भएका ३६ वटा नेपाली फिल्मलेसोचेजस्तो सफलता हात पार्न सक्नुका पछाडि यही कारण थियो।

अहिलेसम्म नेपाली दर्शक रिझाउन नेपाली फिल्मले जेजस्तो बाटोहरु बनाएका छन्, त्यसलाई कायमै राख्दै विश्वस्तरमा जान सक्ने फिल्महरु बनाउँदै जानुपर्ने र प्रेमगीत ३ को बाटोलाई फराकिलो बनाउनुपर्ने चुनौती छँदैछ। यो चुनौती उनका लागि अबको बाटो बन्न पुगेको छ।

उनको ध्याउन्न चाहिँ, हिन्दी फिल्मको ठूलो बजार भन्दा पनि पहाडी रेन्जको भूटानदेखि भारतको देहरादूनसम्म आफ्ना सिर्जनालाई राम्रोसँग जमाउनुमा छ। त्यसका लागि ठूलो मिहिनेत चाहिन्छ।

नेपालमा कर्पोरेट फिल्म मेकिङको वातावरण अझै बनिसकेको छैन। एक समय चौधरी ग्रुपले नेपाली फिल्म ‘बासुदेव’ बनाएर यसमा सम्भावना खोजेको थियो। त्यस्तै केही वर्षअघि ‘सिजी इन्टरटेन्मेन्ट’ खडा गरेर मनोरञ्जन उद्योगमा ‘केही गर्न’ खोजेको थियो। ‘कागबेनी’ र ‘सानो संसार’मार्फत क्वेस्ट इन्टरटेन्मेन्टले पनि ‘कर्पोरेट कल्चर’ सिकाउन खोजेको थियो तर ती सबै प्रयास फिल्म उद्योगका लागि ‘प्रयास’ मै सीमित हुन पुगे।

‘अब फिल्म उद्योगले आफूलाई फराकिलो पार्ने सुनौलो अवसर आइपुगेको छ,’ प्रदीपले उत्साहित हुँदै भने, ‘त्यसका लागि राम्रा फिल्म निर्माताले कर्पोरेट हाउसको शैलीमा काम गरेर स्वदेशी बजारलाई स्थिर राख्ने र विदेशी बजारमा पाउ फैलाउने काम गर्नुपर्छ।’

त्यो काम कसले गर्छ त ? उनी भन्छन्, ‘अरुले पनि गर्नु होला तर म एउटा सामूहिक प्रयत्नमा लागिपरिरहेको छु। केही साथीहरुको सहयोगले वर्षमा कम्तीमा चार वटा फिल्म निर्माण गर्ने, त्यसमध्ये कम्तीमा एउटा फिल्म विदेशी बजार ताक्ने किसिमको बनाउने तयारीमा छु।’

उनका लागि अघिल्लो वर्ष उत्साहजनक रह्यो। बजारका हिसाबले उनी भारत पुगे भने नेपालमै पनि उनले एउटा मानक फिल्ममा काम गर्न पाए। अघिल्लो वर्ष बनेका राम्रा फिल्मको सूचीमा ‘प्रकाश’ पनि पर्छ। द्वन्द्वकालमा एउटा पढेलेखेको हतास युवाको भूमिकामा उनी यति जमे कि एउटा व्यावसायिक फिल्मको ‘लबर ब्वाई’लाई समीक्षकले समेत वाहवाही गर्न भ्याए। 

२०८० ले पनि उनलाई यस्तै उत्साहित पार्नेमा उनी ढुक्क छन्। त्यसका लागि उनले ‘कामिनो’को कथा सुनाए। एउटा नेपाली अमेरिकी सपना पछ्याउँदै कसरी दक्षिण अमेरिका हुँदै संयुक्त राज्य अमेरिका छिर्छ भन्ने विषयमा बनाइने ‘कामिनो’ मानक फिल्म बन्नेमा ढुक्क छन्। यस्ता फिल्मले नै आफूलाई वर्षौंसम्म जीवित राख्ने उनको बुझाइ छ।

यसरी एउटा नाम कमाउने इच्छा गर्ने बालक आफ्नो सपना पछ्याउँदै फिल्मी नायक प्रदीप मात्र नबनी फिल्मी बजार विस्तारको नायकसमेत बन्न पुगेका छन्।

प्रकाशित: १३ वैशाख २०८० ०९:१६ बुधबार

प्रदीप खड्का अभिनेता प्रदीप खड्का 'प्रेमगीत ३'