कला

दीक्षान्तमा 'दलित' मनोविज्ञान

काठमाडौं-

आँसुको गाउँ सरेर

सपनाको देश आयौं

मनका कुरा पुर्‍याउँछौं भनी

विश्वासको गीत गायौँ...

समाज परिवर्तनको यस्तै आशा बोकेर सुदूरपश्चिम नेपालबाट राजधानी छिर्छन्, प्रकाश विश्वकर्मा र उनका साथी रमेश विश्वकर्मा। हक्की प्रकाश र थोरै डराउने रमेशले विश्वविद्यालयबाट स्नातकोत्तरको डिग्री हासिल गर्छन्।

विश्वविद्यालयको दीक्षान्त समारोहमा शिक्षामन्त्रीले दलित भनेर सम्बोधन गरेको रिस थाम्न नसकी मन्त्रीमाथि प्रकाशले हातपात गर्छन्। त्यसपछि उनी र उनको साथी रमेशलाई फकाइफुल्याई गरेर प्रहरीकाण्ड टुंगिन्छ।

राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक 'दीक्षान्त' यस्तै परिवेशमा अघि बढ्छ। नाटकले दलित समुदायको मनोविज्ञानलाई प्रस्तुत गरेको छ।

कर्णालीमा भेल

कालीका लम्कन्या माछो

मेरा खोलामा खेत

को आया बिरानो मान्छे

यस गीतले जोड्छ प्रकाशको गाउँ। जहाँ उनका बुबा रणबहादुर विश्वकर्मा आरनमा गाउँका विष्टको कुटो, कोदाली र खुकुरीमा धार लगाउँदै हुन्छन्। दुई छोरा र एक छोरी पढाइमा व्यस्त छन्।

जेठा छोराको पढाइमा सन्तुष्ट रहे पनि कान्छाले गाउँकै विष्टकी छोरीसँग हिमचिम बढाएपछि रणबहादुर दम्पतीलाई चिन्ता थपिन्छ।

उता सहरमा आफू दलित भएर नहेपिन र अरुलाई जोगाउन प्रकाश कानुनी लडाइँ लड्छन्। कानुनका ज्ञाताले पनि परम्परादेखि चलिआएको रीति एक्कासि परिवर्तन नहुने सुनाउँछन्। बहसकै क्रममा प्रकाश बोल्छन्, 'मेरो शुक्रकीटमा के छ र मेरा सन्तान जन्मनुअघि नै दलित हुन्छन्? दलित र गैरदलित भन्ने कानुन नै खारेज हुनुपर्छ, यसले मानिसका अवचेतनमा दलित भनेर झन् गाडिदिएको छ।’

यसरी नाटक 'दीक्षान्त'को कथा अघि बढ्छ। गाउँमा प्रकाशका बुबा मरेपछि गाउँले काँध दिन आउन अझै सकेका छन् वा छैनन्? प्रकाशले मागेको न्याय पाउँछ या पाएको शिक्षाको दीक्षान्त कोरा कागजमा सीमित हुन्छ? यो थाहा पाउन शिल्पी थिएटरमा चलिरहेको नाटक दीक्षान्त हेर्न पुग्नैपर्छ।

नाटकको निर्देशन घिमिरे युवराजले गरेका हुन्। उनले नाटकले दलितका लागि गैरसरकारी संस्थाले पहिचान र समानताका कार्यक्रम ल्याए पनि त्यसले दलित मनोविज्ञानमा के फरक ल्यायो भन्ने प्रश्नको उत्तर खोज्ने बताए।

नाटकको लेखन शिव रिजालले गरेका हुन्। उनका अनुसार दुई वर्ष अघिदेखि नाटकको पुनर्लेखन सुरु गरिएको हो। उनले शास्त्र चलाउने र आरन चलाउने दुवैले शास्त्र नै चलाइरहेको बताउँदै अछुत भनिएको एउटा युवा विद्यार्थीलाई आफूले वर्तमान समाजको योद्धा बनाएर मञ्चमा उतारेको दाबी गरे।

नाटकका पात्रले जीवन्त अभिनय गरेेको दर्शकले मञ्चमै अनुभूत गर्छन्। सुदूरपश्चिमा भाषा र भेष झल्काउने विप्लव प्रतीकको गीत जमेको छ। वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यको संगीतले दर्शकलाई मञ्चमा बाँधेर राख्छ। माघ ६ गतेबाट सुरु भएको नाटक माघ २९ गतेसम्म मञ्चन हुनेछ।

प्रकाशित: ११ माघ २०७३ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App