कला

नेपाल आइडल र हिमालय रोडिज टेलिभिजनमा

काठमाडौं- नेपाली दर्शकले रुचाएको अन्तर्राष्ट्रिय रुपमा चर्चित दुई रियालिटी सो नेपाली फ्रेन्चाइजका रुपमा दुई नेपाली टेलिभिजनबाट प्रसारण हुने भएको छ।

भारतसहित विभिन्न ५४ देशबाट प्रसारण भइरहेको गायन रियालिटी सो 'अमेरिकन आइडल' शृंखलालाई अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत एपी वान टेलिभिजनले 'नेपाल आइडल'को रुपमा र एमटिभी च्यानलबाट प्रसारण भइरहेको चर्चित रियालिटी सो 'एमटिभी रोडिज'लाई हिमालय टेलिभिजनले 'हिमालय रोडिज' को रुपमा सञ्चालन गर्न लागेको हो।

दुवै टेलिभिजनले आइतबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिए। एपी वान टेलिभिजनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले टेलिभिजनमा फरक नयाँ कुरा केही गरौँ भन्ने सोच राखेकाले 'नेपाल आइडल' गर्न लागेको बताए। 'विश्वमा दर्शकले सबैभन्दा बढी रुचाउने विषय खेलकुद र रियालिटी सो रहेछ, त्यसकारण पनि हामीले खेलकुदलाई भन्दा बढी रियालिटी सोलाई प्राथमिकता दियौँ,' उनले भने।

सोका निर्देशक लक्ष्मण पौडेलले विदेशका च्यानलका सेटजस्तै नेपालमा पनि सेट बनाइने बताए। नेटवर्कका अध्यक्ष रामेश्वर थापाले लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन 'नेपाल आइडल'ले महŒवपूर्ण भूमिका खेल्ने दाबी गरे।

सोमा संगीतकार न्ह्यु बज्राचार्य, गायिका इन्दिरा जोशी र गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा निर्णायक छन्। माघ १२ गतेबाट सुरु हुने सोको अडिसन नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर र पोखरा हुँदै काठमाडौंमा आएर सकिनेछ। आयोजकले १६ देखि ३० वर्ष उमेर समूहका नेपाली नागरिकता भएकाहरु नेपालभित्र वा नेपालबाहिरबाट सहभागी हुन पाउने प्रावधान राखेको छ।

'नेपाल आइडल' विजेताले महिन्द्रा केयुभी वान ओ ओ कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बमको करार प्राप्त गर्नेछन्। आयोजकले निकट भविष्यमै नियमित प्रसारण हुन लागेको एपिवान टेलिभिजनमा यो सो ३२ भागसम्म प्रसारण हुने जनाएको छ।

यता, हिमालय टेलिभिजनले 'एमटिभी रोडिज'को नेपालमा धेरै प्रशंसक भएकाले त्यसलाई नेपाल फ्रेन्चाइजका रुपमा 'हिमालय रोडिज' गर्न लागिएको जनाएको छ। सोका निर्देशक अमनप्रताप अधिकारीले अन्तर्राष्ट्रिय फ्रेन्चाइज राष्ट्रिय टेलिभिजनमा प्रसारित हुन पाउनु रोमाञ्चक कुरा भएको बताए। 'यसले नेपाली निर्माणको प्रयासलाई अन्तर्राष्ट्रियस्तर प्राप्त गर्न मद्दत पुर्‍याउनेछ,' उनले भने। अमनले नेपालमा सन् २०१५ मा 'एमटिभी रोडिज' आएको स्मरण गर्दै अन्तर्राष्ट्रियस्तरकै नियम–कानुनमा रही आफूहरुले पनि सो चलाउने बताए।

फागुनको तेस्रो सातादेखि पोखराबाट सुरु हुने सोको अडिसन, बुटवल, चितवन, धरान हुँदै काठमाडौंमा आएर चैत १ मा सकिनेछ। भायकम १८ र एमटिभी इन्डियासँगको साझेदारीमा हुने कार्यक्रममा अभिनेत्री दिया मास्के, र्‍यापर आशिष राना (लाउरे) र सञ्चारकर्मी रेमनदास श्रेष्ठ निर्णायक छन्। रेमन र आशिषले आफूहरु 'एमटिभी रोडिज'को फ्यान भएकाले पनि सो रोमाञ्चक हुने बताए भने दियाले रोनाधोनाभन्दा भिन्न किसिमको वास्तविक प्रयोगलाई सोमा देख्न पाइने जनाइन्।

प्रकाशित: ११ माघ २०७३ ०३:१३ मंगलबार

नेपाल आइडल हिमालय रोडिज टेलिभिजनमा