बाह्रौं दिन भएको थियो हामी कोरामा बसेको। कमलदाइले ‘आज राति मलाई उठाउन पर्दैन, तिमीहरू बाहिर जान परे एक्लाएक्लै जाऊ ल’भन्नुभयो। तर भाइ नवीन बिहान ५ बजे पनि बाहिर जान डराइरहेको थियो।
बाको स्वर्गबास हुनुभन्दा २ महिना अगाडि हाम्रा छिमेकी दाइ भाउजू मारेर जेल गएका थिए। उनका छोराछोरीको चिहिलबिहिल भयो। बाल्यकालको त्यस घटनाले हामीलाई सदैव त्रसित बनाइरह्यो। किनकि, हामीलाई मरेको (मारेको) मान्छेले तर्साउँछ भन्ने लाग्थ्यो।
साँझ परेपछि जुठी भाउजू आउँछिन् भन्ने डरले हामी बाहिर निस्कँदैनथ्यौं। दिदीको विवाह भइसकेको थियो। हामी चार जना आमाको साडी समातेर एकैचोटि बाहिर जाने गथ्र्यौं। आमा सबै छोराछोरी लिएर बाहिर निस्कनुहुन्थ्यो। सायद आमा पनि भूत आउला भनेर डराउनुहुन्थ्यो होला। त्यतिबेला गाउँमा बिजुली बत्ती पनि थिएन।
बा बितेपछि खानलाउनकै लागि खासै दुःख नभए पनि सहज र सजिलो आर्थिक अवस्था थिएन। आमाको कठोर तपस्या थियो, हामी चार जनालाई पढाउने। आमाको सबैभन्दा पहिलो मिहिनेत हामीलाई खुवाउनु नै हुन्थ्यो।
हुन त धरतीमा सबैका आमा ईश्वरकै अवतार हुन्छन्। तैपनि साँवा अक्षर नपढेकी, जन्मिएको दुई वर्षमा आमा गुमाउनुपरेकी हाम्री आमाले आफूले कहिल्यै नपाएको माया हामीलाई कसरी दिनुभयो होला? मलाई कहिलेकाहीं विस्मय लाग्छ।
वैशाख लागेपछि स्कुलमा बिहान पढाइ हुन्थ्यो। तर कुनै दिन हामीले खाना नखाईकन स्कुल जानु परेन। हाम्रो घरबाट स्कुलको दुरी हिँडेर ४५-५० मिनेट थियो। हामीलाई स्कुल चाँडो पुग्नुपथ्र्याे। तर घरमा घडी थिएन। तैपनि आमालाई समयको ख्याल अवश्य हुन्थ्यो। स्कुल जाँदा जाउलो, दिउँसो २ बजे तयारी खाजा अनि स्कुलबाट आउँदा पाकिरहेको भात। सम्भवतः आमाको जीवन मेसिनजस्तो चल्थ्यो।
हुन त धरतीमा सबैका आमा ईश्वरकै अवतार हुन्छन्। तैपनि साँवा अक्षर नपढेकी, जन्मिएको २ वर्षमा आमा गुमाउनुपरेकी हाम्री आमाले आफूले कहिल्यै नपाएको माया हामीलाई कसरी दिनुभयो होला? मलाई कहिलेकाहीं विस्मय लाग्छ।
हाम्रा बाहरू छुट्टिँदा हामीलाई केही सुन परेको रहेछ। त्यसलाई बैंंकमा राखेर असारमा रोपाइँ गर्ने र मंसिरमा धान बेचेर निकाल्ने आमाको आर्थिक व्यवस्थापकीय खुबी पनि गजबकै मान्छु।
हुन त हाम्रो ठुलो माग त के नै थियो र? तैपनि आमाले सामान्य मागहरू सहजै पुर्याइदिनुहुन्थ्यो। कक्षा ८ पढ्दा मैले साइकल मागें। एक छाके अनसनबाट दसैंको दुइटा खसीमध्ये एउटा बिक्री गरेर मेरा लागि साइकल र अर्काेको आधा पैसाले दसंै व्यवस्थापन भयो। विष्णुपुरबाट शिवनगर स्कुलसम्मको साइकल यात्रा आहा ! जिन्दगीमा यति धेरै खुसी त संसारकै मै मात्र थिएँ कि? आमाले गर्नुभएको संघर्ष र बलिदानको त सीमा नै छैन।
पछि भाइ अध्ययनार्थ डेनमार्क गयो। दुवै छोरीलाई आमासित छाडेर शोभा र म काठमाडौं आयौं। हामीले काठमाडौंमा व्यवसाय गर्यौं। त्यसपछि आमाको बसाइ काठमाडौं र चितवनमा बाँडिएर हुन थाल्यो। आमाबाको मंसिरको श्राद्ध सकेर चितवन जाने र सामान्यतया चैतमा काठमाडांै आउने गर्नुहुन्थ्यो।
आमा काठमाडौं–चितवन गरेर जाडो–गर्मी गर्दै समय बिताउँदै हुनुहुन्थ्यो। यसै क्रममा फोनमा कुरा गरिरहँदा मुख सुकिरहेको छ, किन हो भन्नुहुन्थ्यो। लक्ष्मी दिदीले गर्मीले गर्दा मुख सुकेको होला भनेर मिस्री र ग्लुकोज ल्याइदिनुभएछ। त्यही क्रममा हामी हाम्रो जन्मथलो जाने योजनामा थियौं। आमा चितवनबाट सिधै पोखरा जानुभयो। हामी आमासँगै कास्कीको सल्यान पुग्यौं।
आमा धेरै गलिसक्नुभएको रहेछ। उकालो बाटो मिस्री खाँदै भूमिस्थानको मन्दिरमा पुग्यौं। पुजा सकी काठमाडौं आएर आमालाई अस्पताल लगेर जँचाउन लगेको त डाक्टरले चिनीको मात्रा चेक गर्नू भनिहाले।
रिपोर्ट लिन जाँदा ल्याबको प्राविधिकले ‘आमालाई ठिक छ? आँखा देख्नुहुन्छ नि’भनेपछि सातो गयो। डाक्टरले भनेका कुरा अहिले कसरी व्याख्या गरौं?
आमालाई मुख बार्ने कुरा भयो। साह्रै गाह्रो भयो। आमाको मनपर्ने तरकारी आलु, मनपर्ने फलफूल आँप अनि मनपर्ने खाना भात। यी तीनवटै कुरा खान नहुने !
जति गर्दा पनि चिनीको मात्रा घटेन। एक दिन आमाले खाना खान लागेका बेला भान्सामा गएको थिएँ। आमाले आलु लुकाएर भातले छोपेर राख्नुभएको रहेछ। मैले केही भनिनँ। तर आमा डराउनुभयो।
अब आमाको खानपिनमा ख्याल गर्नुपर्ने भयो। आमाले जीवनभर बिहानको खाना दिउँसो कहिल्यै खानुभएन। तर चिनी रोग देखिएपछि ‘भो भात नफाल, म दिउँसो खान्छु’ भन्न थाल्नुभयो। हामी दुई जना पसल गएपछि दिउँसो आमा मन लागेको खाना बनाएर खाने गर्नुहुँदो रहेछ।
आमा धेरै गलिसक्नुभएको रहेछ। उकालो बाटो मिस्री खाँदै भूमिस्थानको मन्दिरमा पुग्यौं। पुजा सकी काठमाडौं आएर आमालाई अस्पताल लगेर जँचाउन लगेको त डाक्टरले चिनीको मात्रा चेक गर्नू भनिहाले।
फेरि डाक्टरकहाँ गयौं। परीक्षण गर्दा यस्तो त नहुनुपर्ने भन्दै औषधि थप गर्ने काम क्रमशः भइरह्यो। तीन वर्ष नियमित ओखती खाँदै गर्दा एकदिन अलि बढी गाह्रो भयो भन्नुभयो। हतारहतार बाइकमा राखेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा गयौं। तर भीडले गर्दा हामीले पालो नै पाउन नसक्ने अवस्था देखेपछि तुरुन्तै ग्रिनसिटीमा गयौं।
आमालाई सामान्य परीक्षणपछि भर्ना गरियो। भोलिपल्ट बिहान डाक्टरहरू आउन थाले। डाक्टर सूर्य देवकोटाले बाहिर बोलाएर भन्नुभयो, ‘आमालाई मुटुको समस्या छ। टिचिङ अस्पतालभित्रको मनमोहनमा ल्याउनू। म त्यहीं नै हुन्छु।’ उहाँले आफ्नो मोबाइल नम्बरसमेत दिनुभयो।
मनमोहनमा गएर परीक्षण गर्दा त आमालाई हर्ट अट्याक भएको रहेछ। त्यो पनि ठुलो नै। आमालाई क्रिटिकल केयर सेन्टरमा राख्नुपर्ने भयो। आमा बाहिर बस्न पाउँदा खुसी नै हुनुहुन्थ्यो। उता गएपछि भने निराश हुनुभयो। हामी तोकिएको समयमा मात्र भित्र जान पाउने भयौं।
डाक्टरहरूको सल्लाहअनुसार मुटुको परीक्षण गर्नुपर्ने भयो। अघिल्लो साँझबाट केही खान दिइएको थिएन। भोलिपल्ट अर्काे अलि कमजोर बिरामी आएपछि आमाको पालो ढिलो आयो। म भेट्न गएको त आमा रुन थाल्नुभयो। जीवनमा कतिको आँसु देखियो होला। तर आमाका ती आँसु मेरा लागि ज्यादै पीडादायी भयो। आमाले रुँदै भन्नुभयो, ‘मलाई मर्न गाह्रो नहोला तर तिमीहरूलाई देख्न नपाउँदा मलाई गाह्रो हुन्छ। त्यसमाथि भोकभोकै।’
अति भयो भनेर डाक्टरलाई भेट्न गएको त डाक्टरले तल फोन गरेर आमालाई बोलाइसक्नुभएको रहेछ।
परीक्षणपछि कम्प्युटरमा आमाको मुटु हेर्न मिल्ने अवस्थामा हामीभित्र गयौं। डा.राजेन्द्र बराल (आमाको दाइका छोरा), डा. निर्दाेष पोखरेल (भान्जा) र मलाई कम्प्युटर स्क्रिनमा देखाउँदै डाक्टर चन्द्रमणिले भन्नुभयो, ‘छ ठाउँमा ब्लक छ। अपरेसन गर्न समस्या हुन्छ।’
आमाको मुटु, त्यो पनि क्षतविक्षत अवस्थामा। मन सम्हाल्नै मुस्किल भयो। जतिसुकै आदर्शका कुरा गरे पनि रुनबाहेक त के नै गर्न सकिन्छ र? भाइ नवीनलाई युरोपबाट बोलाएँ।
ओखतीले काम गर्न सुरु गरेपछि आमालाई बिस्तारै अलि सहज भयो। आमालाई आफ्नो स्वास्थ्यमा कति समस्या छ भन्ने केही थाहा दिइएको थिएन। क्याबिनमा सारेपछि आफन्त र छिमेकीको आगमन सुरु भयो। बाटोमै बसेर सबै जनालाई मुटुको बेथा हो भन्यौं।
बिस्तारै अन्य ठाउँमा पनि समस्या देखिन थाले। दिसा नहुने मुख्य समस्या भयो। दिसाका लागि बल गर्दा मुटुमा अप्ठ्यारो पर्ने रहेछ। एकदिन शनिबार आमाले बल गर्दा पसिना आएछ। डाक्टर चन्दमणिलाई जानकारी दियौं। उहाँले मलाई फोनमै सल्लाह दिनुभयो। मेरो ढुकढुकी झन् बढ्यो।
डाक्टर सूर्य देवकोटासितको मित्रता अझै घनिष्ठ हुँदै गयो। डाक्टर सूर्यलाई अस्पताल र घरमा भेट्दा आमा साह्रै खुसी भएको र कुनै पीडा नभएको जस्तो व्यवहार गर्नुहुन्थ्यो। मलाई लाग्छ, डाक्टर सापको व्यवहारका कारण प्राप्त सकारात्मक सोचले हामीले थप छ महिना आमाको साथ पायौं।
आमाको उमेर ८१ लागेको थियो। आमालाई चौरासी पूजा गर्न रहर थियो। उहाँका दाइहरू आउँदा पनि के छ रहर भन्दा चौरासी गर्ने भन्नुभएको थियो। उपचारका क्रममा खर्च बढेको बुझेपछि आमाले पर्दैन, अहिले दाजीको पनि गरेको छैन भन्न थाल्नुभयो। मैले आमाको मनोविज्ञान बुझेर चौरासी गर्न कुनै आर्थिक समस्या नहुने र गर्न मन लागेको बताएपछि आमाले हुन्छ भन्नुभयो।
आमालाई लामो समयदेखि ढाड दुख्ने समस्या थियो। करिब १८-२० वर्षदेखि ओेखती खाइरहनुभएको थियो। ढाडको समस्या अचाक्ली बढेर आमालाई साह्रै पीडा हुन थाल्यो। ग्रिनसिटी, टिचिङ हुँदै ग्रान्डी पुगेपछि थाहा भयो– आमाको ढाडको हाड त पुरै खिइएर सकिएछ। बिस्तारै हिँड्नै नसक्ने हुनुभयो। त्यसपछि आमा डाइपर लगाउन बाध्य हुनुभयो।
पीडामोचक ओखती खाए पनि पखाला लाग्ने र बान्ता लाग्ने हुन थाल्यो। आमाको पीडा हेर्नै नसक्ने अवस्था थियो। आमा जति बेला पनि छोरीसित ‘बाबा कता गयो’भनिरहनुहुन्थ्यो।
संसारको सबैभन्दा प्रिय सम्बन्ध हजुरआमा र नातिनीकै हो। यति धेरै प्रिय र साँच्चै लोभलाग्दो। पखाला लागेपछि आमा आत्तिनुभयो। मलाई बैतर्नी गरिदेऊ भन्नुभयो। मैले ग्रान्डी अस्पतालका डाक्टर विनोद बिजुन्छेलाई सम्पर्क गरें। उहाँले ओखती रोक्न भन्नुभयो।
आमासित सल्लाह गरेपछि नवीनलाई पनि बोलाएँ। नवीन आउने दिनमा नै वैतरणी र दशदान गर्ने सल्लाह भयो। नवीन १०ः३० मा घरमा आयो। गुरु पनि ठ्याक्क आइपुग्नुभयो। वैदिक विधिअनुसार सबै कर्म सकियो। गुरुसित साइत हरेर वैशाख १२ गते ८४ पूजाको सामग्री टिपेर तयारी गरियो।
नवीन आएपछि आमा खुसी हुनुभयो। वैतरणी गरेपछि आफन्तहरूसँग भेटघाट बढ्न थाल्यो। आमा दिउँसो बाहिर घाममा र राति कोठामा सुतेर आफन्तसित भेटघाट गरेर समय बिताउन थाल्नुभएको थियो। जतिसुकै आदर्शका कुरा छाँटे पनि आफ्नो पेसा व्यवसायमा लाग्नुपर्ने म बिहान पसल आउँदा म भरे मात्र आउँछु ल आमा, नवीन छ भन्थें। आमा हुन्छ हुन्छ भन्नुहुन्थ्यो। तर शोभा पसल आउने बेला बाबुलाई एकैछिन भए पनि पठाइदेऊ ल भन्नु हँुदोरहेछ। त्यसपछि म फेरि घर जान थालें। साँझमा घर गएपछि के खायौं, के गर्यौं, मैले तिमी गएपछि सुन्तला खाएँ, यस्तो खाएँ, को–को आएजस्ता सबै विवरण बुहारीलाई सुनाउनु हुन्थ्यो।
फागुन २३ गते शनिबार थियो। बिहानै पसलमा गएँ। ११-१२ बजे खाना खान आउँछु भनें। तर के भयो, भयो। बिहान ८ बजे नै घर गएँ। आमासित बस्न मन लाग्यो। नवीन एक हप्तामै फिर्ता हुने गरी आएकाले राति जाने तयारी गर्दै थियो। दिनभरि भेटघाट गरेर दिन बिताइयो। खाना खाँदै गर्दा ज्ञानु दिदी, निर्दाेष भान्जा, महिम भान्जासहित खाना खायौं। आमाले के छ तरकारी भन्नुभयो। शोभाले पनिर भनेपछि ल थोरै ल्याऊ भन्नुभयो। आमाले आफ्नै हातले खानुभयो।
आमाले पटकपटक फोटो खिचिदेऊ र बाबुलाई टीका लगाइदिनुपर्छ, म अक्षता बनाउन सक्दिनँ, तिमी बनाइदेऊ भनेर शोभालाई भन्नुभएको थियो। हामी कसैलाई पनि फोटो खिचिहालौं भन्ने लागेन या खिचेनौं। खाना खाएपछि आमाको डाइपर फेर्नुपर्ने बेला भएकाले हामी बाहिर निस्कियौं। भाइ नवीन झोला मिलाउँदै थिए, म बाथरुम गएँ। एकैछिनमा शोभाले आत्तिएको स्वरमा बोलाइन्। एकैछिनमा परी र ज्ञानु दिदी पनि हतारमा माथिल्लो तलामा जानुभयो। आमा त चेतनाशून्य भइसक्नुभएछ।
केही समयअघि बोलिरहनुभएकी आमा कति छिटो हामीबाट टाढा हुनुभयो अनन्त सम्झना छाडेर ।
प्रकाशित: ९ वैशाख २०८० ०१:४७ शनिबार