कला

‘अधुरो क्यानभास’को सिक्वेल मञ्चन

धरान–मुक्ति र निमुको दाम्पत्य जीवन सुखसँग चलिरहेको हुन्छ। मुक्ति कवि अनि चित्रकार पनि हुन्छन्। २०६२÷०६३ को जनआन्दोलनमा राजतन्त्र मुर्दावादको नारा लगाउदै दुवै जना स्वतस्फुर्त सडकमा उत्रन्छन्।

मुक्तिलाई निरंकुश सत्ताको गोली लाग्छ, उनी सडकमै ढल्छन्। रक्ताम्य श्रीमान्(मुक्ति)को शव काखमा लिएर रोइरहेकी निमुलाई पनि पाखुरामा गोली लाग्छ। निरंकुश सत्ता उनीप्रति कति पनि दया देखिँदैन। पक्राउ गरेर कालकोठरी जेलमा कोच्छ। उनी जेलमुक्त हुदा नेपालमा लोकतान्त्रिक गणतन्त्र अर्थात नयाँ विहानी आइसकेको हुन्छ। तर, यो नयाँ विहानीले निमुको जीवनमा भने खुशीको विहानी ल्याउँदैन । जनआन्दोलनमा शाहदत प्राप्त गरेका आप्mनो श्रीमान्(मुक्ति)को नाम निमुले शहिदको सूचिमा भेट्दिनन्। गोली लागेर घाइते भएको अवस्थामा पनि उनी जेलमा कोचिनु पर्छ । एउटा पाखुरा राम्रोसँग चल्दैन। तर, उनी राजनीतिक पीडितको सुचिमा पर्दिनन्।

‘सत्ता मात्रै परिवर्तन भएछ, राजीतिक व्यवस्था मात्रै फेरिएछ। शहीदलाई त पार्टीहरुले भागवण्डा लगाइसकेछ। हामी त कुनै पार्टीमा थिएनौं, स्वतस्फुर्त आन्दोलनमा गएका थियांै’, निमु एक्लै पीडा पोख्छिन्, ‘शहीद र शहीद परिवारको मूल्यांकन छैन । देशमा अझै अमनचयन शान्ति छैन, सुशासन छैन । जताततै विकृति, भ्रष्टचार बढेको छ।’ पति(मुक्ति)सँगको वियोग अनि सत्ताले गरेको चरम वेवास्थाले निमु विक्षिप्त बनेकी छिन् ।

घरको एक छेऊमा मुक्तिले अधुरै छोडेको क्यानभासलाई पूरा गर्न कोसिस गर्छिन्, तर सक्दिनन्। त्यो क्यानभास पूरा गर्न मुक्ति आउँछ भन्ने भ्रम पालेर बस्छिन्। मुक्तिको पदचाप आएको ठानेर ऐना हेर्दै आफूलाई सिंगार्छिन् । तर, सब भ्रम मात्र हुन्छ। उनी एक्लै रुन्छिन्, चिच्याउछिन् र मनभित्र गाठो परेको कुण्ठालाई आशुसँगै पखाल्छिन् ।

हिंस्रक बाजहरुबाट जोगाउन निमुको परेवलाई पिंजडाभित्र राखेकी हुन्छिन्। स्वतन्त्र उड्ने पंक्षीको स्वतन्त्रता खोसेर कहिलेसम्म पिंजडामा कैद गर्ने? उनी आफै जुक्ति निकाल्छिन्, परेवालाई नै सशस्त्र बनाउने। शान्तिको प्रतिक मानिने परेवालाई शस्त्र थमाएर निमु पिंजडाबाट मुक्त गर्छिन्। ठिक त्यसैबेला उनको घर नजिक दुर्घटना हुन्छ । स्कुलबाट फर्कैदैं गरेको उनको मुक्ति र निमुको प्रेमको एक मात्र निसानी, छोरा आगतको पनि झण्डावाल गाडीले ठक्कर दिएर मृत्यु हुन्छ।

देशमा लोकतान्त्रिक गणतन्त्र आयो, तर त्यही लोकतन्त्र र गणतन्त्रको लागि ज्यान दिने मुक्तिहरु, तिनका परिवारजन र जनताले भने कुनै परिवर्तनको महसुस गर्न पाएका छैनन् । व्यवस्था फेरियो, तर सत्तामा पुगेका नेता र तिनका प्रवृत्ति उस्तै । यही तितो यथार्थलाई सोमबार साँझ धरान सभागृहमा आरम्भ नाट्य डबलीद्वारा मञ्चन गरिएको एकल नाटक अधुरो क्यानभासको सिक्वेलले उजागर गर्यो ।

एकल नाटकमा निमुको चरित्रमा रङ्गकर्मी पानस गुरुङले सशक्त अभिनय गरेकी छिन्। शुरुदेखि अन्त्यसम्म एकल अभिनय र संवादद्वारा दर्शकहरुलाई एकाग्र बनाउन उनी सफल भइन् । आरम्भका अध्यक्ष गोपाल देवानको लेखन रहेको नाटकलाई सचिन क्षेत्री र राजन राईले निर्देशन गरेका हुन्। मञ्चको परिकल्पना सचिव प्रविण राईको हो । सोमबार मञ्चन गरिएको अधुरो क्यानभास सिक्वेल हो । आरम्भको शुरुवाती समयमा सुरज सुब्बा नाल्बोले अधुरो क्यानभासमा एकल अभिनय गरेका थिए ।

प्रकाशित: २६ पुस २०७३ ०७:२५ मंगलबार

अधुरो क्यानभासको सिक्वेल मञ्चन