कला

आदिशास्त्र

लघुकथा

‘त्यो पृथ्वीको सबैभन्दा जेठो शास्त्र हो।’

अग्लो मञ्चमा रहेको व्याशासनबाट आइरहेको थियो आवाज। उनले फूर्तिसाथ भने, ‘संसारमा सबभन्दा पहिला हाम्रो भूमिमा हाम्रा पुर्खाले रचना गरेका हुन्। अहिले युरोप र अमेरिकाका मान्छेले लगेर पढ्न थालेका छन्। यसमाथि अनुसन्धान गर्दै छन्।’

उनले यति मात्र बोलेनन्। निकै घमण्डका साथ प्रश्न पनि गरे, ‘कसैलाई यसबारे केही सोध्नु छ?’

उनले बडो अहंकारका साथ प्रश्न ओकलेपछि श्रोता भएर बसेका मदनले सोधे, ‘संसारको सबभन्दा पहिलो रचना हुनुको अर्थ त्योभन्दा पहिला मान्छेमा रचना गर्ने क्षमता थिएन। हो?’

पण्डितजी बोल्न सकेनन्। क्वारक्वार्ती हेरिरहे मदनको अनुहारमा।

श्रोता मदनतिर फर्के। उनले अनुरोध गरे, ‘सत्य कुरा के हो सर भनिदिनुपयो!’

मदनले भने,‘मान्छे दुई खुट्टाले हिंड्न थालेपछि अघिल्ला खुट्टा कामविहीन हुनु स्वाभाविक थियो। पछि तिनलाई हात भन्न थालियो। हातले श्रम गर्न मात्र होइन श्रमका औजारहरू समेत बनाउन थाले। त्यसको मार्गदर्शनका निम्ति दिमागले रचना गर्न थाल्यो। त्यही दिनदेखि ऋग्वेदको रचना सुरु भयो। आदिशास्त्रको रचनाकार आदि मानव।’

प्रकाशित: २९ चैत्र २०७९ ०७:३० बुधबार

अक्षर