कला

पानीको थोपा कर्कलाको पातमा बोके जस्तै लाग्छ

मुक्तक

(१) मुक्तक

पानीको थोपा कर्कलाको,पातमा बोके जस्तै लाग्छ,

खुलमखुल्ला कोमल मुटु, हातमा बोके जस्तै लाग्छ।

तिम्रो मेरो सम्बन्ध पनि, यस्तैयस्तै महसुस गर्छु,

पड्कन तयार भएको बम, साथमै बोके जस्तै लाग्छ।

 (२) मुक्तक

कसरी सक्यौ मलाई, रेटेर जान,

मुटुमै लेखेको नाम, मेटेर जान।

सँगै जिउन चाहेनछौ,म के भन्थे र,

सक्थ्यौ नि अन्तिम पटक,भेटेर जान।

 (३) मुक्तक

बिहे गर्दा पिउँदिन भन्थ्यो, केही दिनमै पिएर आउन थाल्यो,

दूध किन्न दिएको पैसा,भट्टीमा दिएर आउन थाल्यो।

साँच्चै गाह्रो छ मलाई,साँझ बिहान भान्छा धान्न,

घरमा भुटुन छैन भन्दा, रक्सी लिएर आउन थाल्यो।

 (४) मुक्तक

कति रहेछन् उनका प्रेमी, गनेर साध्य भएन,

कति सम्झाउँ कति बुझाउँ, भनेर साध्य भएन।

हो म हार खाएरै, उनीबाट टाढिएको हुँ।

उनी सधैं आगो,म पानी, बनेर साध्य भएन।

 (५) मुक्तक

एक दिन तिम्रो मनमा पनि,मेरो माया जाग्ने बनाउँछु,

हात जोडेर मेरैसामु, मायाको भिख माग्ने बनाउँछु।

उनको माया किन बेलैमा,बुझिनछु भन्ने लागोस्,

मेरो माया सम्झी-सम्झी, पश्चताप लाग्ने बनाउँछु।    

प्रकाशित: २९ चैत्र २०७९ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App