कला

कथाकार लाकोजूको ‘सत्याग्रह’ बजारमा

कथाकार सूर्यप्रसाद लाकोजूको कथासंग्रह ‘सत्याग्रह’ बजारमा आएको छ। नेपालको राजनीतिमा चैत्र महिनाको महत्त्व ठूलो रहेकाले कथा यही महिना प्रकाशन गरेको कथाकार लाकोजूको भनाइ छ। चैत्र महिनामा भएको राजनैतिक परिवर्तन पनि कथाको विषय बनेको छ।

सत्याग्रहमा एघार कथा छन्। प्राय कथाहरू हुँदा खाने भुई मान्छेका छन्। उनीहरूको दुख, संघर्ष, पीडा कथा भएर पोखिएका छन्।

त्यस्तै कथाहरूमा माया-प्रेमका सन्दर्भ पनि छन्। सामाजिक सञ्जालको दुरूपयोगका कारण जीवन बर्बाद भएको प्रसंग पनि कथामा छन्। राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथाहरूमा छन्। सो कथासंग्रह ट्रान्सवल्ड पब्लिकेशन काठमाडौले प्रकाशन गरेको हो।

कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरूको मेला,स्पर्श, मेरो मन मेरो मीत, पनौती, पनौतीको बाह्र वर्षे मकरमेला, स्मृतिका आलेखहरू प्रेरणाको चौतारी,  गुराँस फुल्ने मन, कोपिला, केही काभ्रेली अक्षरकर्मीहरू, घामको चुम्वन, अक्षरका स्वरहरू, स्वर्णिम धुन, सुसेली , पनौतीका केही जात्रापर्वहरू, घाम फुल्ने याम,  स्मृतिको आँखिझ्यालबाट, यःमरी, घाम उदायो, शाश्वत स्वरहरू, मेरो घाम, फूलैफूल, साथी, मेरो सानो घर, आसामको स्पर्श, दिवाकरका चुम्वन लगायतका तीन दर्जन साहित्यिक कृति प्रकाशित छन्। कविता विधाका सशक्त कवि लाकोजूको यो कथासंग्रह भने पहिलो कृति हो।

प्रकाशित: २५ चैत्र २०७९ ०७:१२ शनिबार

अक्षर