कला

नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा

नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ।

निर्देशक कँडेलले केही घटनाक्रम आफैंसँग मिल्दो रहेको बताए। ‘मेरो जीवनको केही भोगाइ चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ। यो हाम्रै समाजसँग जोडिएको कथा हो’, उनले भने, ‘कथ्य शैलीमा केही परिवर्तन ल्याउने प्रयाश गरेका छौं। यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ।’ चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ।

अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गरेकी छिन्। छायाङ्कन अवधिभर एकै परिवार भएर समय बिताएको उनी बताउँछिन्। ‘हामीले भूमिकालाई जीवन्त बनाउन चलचित्रभित्र देखिएझैं परिवार बनेर केही समय बितायौं। यसमा समाजको नदेखिएको पाटालाई उजागर गर्ने कोसिस गरिएको छ। यो मनोरञ्जन मात्र होइन’, अभिनेत्री पन्तले भनिन्, ‘मेरो जीवनसँग पनि केही मेल खान्छ। जीवनलाई फरक किसिमले बुझ्ने मौका पाएकी छु।’

अभिनेता नेपालले एउटा दृश्यमा अभिनेत्री पन्तसँग अभिनय गर्दा भावुक भएको बताए। ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो। सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुबा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ। सन्ध्या र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई भावुक बनायो’, नेपालले भने,‘दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ।’

निर्माता श्रीधर पौडेलले यसअघि चलचित्र ‘गोपी’ निर्माण गरेका थिए। ‘जिज्ञासा, विचार अनि यथार्थको कथाको भाव व्यक्त गर्ने चलचित्र ‘बहाव’ मा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतले अभिनय गरेका छन्।

प्रकाशित: २४ चैत्र २०७९ ०४:४६ शुक्रबार

अक्षर