कला

‘डोनाल्ड ट्रम्प’ बजारमा

काठमाडौं– अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लेखिएको पुस्तक बजारमा आएको छ। सुन्दर भाषाशैली र निकै रोचक प्रस्तुति रहेको पुस्तक ‘डोनाल्ड ट्रम्पः एउटा अर्बपतिको ह्वाइटहाउस यात्रा’ लेखक तथा सञ्चारकर्मी अच्युत कोइरालाले लेखेका हुन्।

पुस्तकमा ‘एउटा ठट्टाले राष्ट्रपति बन्न उक्सायो, ट्रम्पको बाल्यकाल, झगडा र ट्रम्प, कंगाल ट्रम्प, दोस्री पत्नी मार्ला म्यापल, टेलिभिजन सोका बादशाह, प्रचारको भोक, सुन्दरीको भीडमा, मेलेनियाः नग्न मोडलदेखि प्रथम महिलासम्म, ट्रम्पको राजनीति र व्यापार, विजय भाषण, ट्रम्पको सम्पत्ति सूची’ जस्ता आकर्षक शीर्षक छन्। अमेरिका जस्तो विकसित देशमा व्यक्तिका संघर्ष र सफलता,  जीवनशैली, सोच र राजनीतिमा उदाउने आधारबारे पुस्तकले प्रस्ट्याउने प्रयास गरेको छ।

‘बायोग्राफीको मानकअनुसार लेख्ने कोसिस गरेको छु। यसमा बाल्यकाल देखिकै ट्रम्पबारेका घटना र व्यवहारलाई लिइएको छ,’ पुस्तकबारे लेखक कोइराला भन्छन्, ‘यो पुस्तकमा रेफरेन्सहरु बढी प्रयोग गरिएको छ। चर्चित व्यक्तित्वबारे इन्टरनेट वा मिडियामा सूचना पाइन्छ भन्ने भ्रम धेरैलाई हुन्छ । तर, त्यस्तो प्रकारको सूचना वा जानकारी पर्याप्त हुँदैन।’

ट्रम्प स्वयंले डेढ दर्जन किताब लेखेका छन् । ती किताबले नै ट्रम्पबारे पर्याप्त जानकारी नदिने कोइराला बताउँछन्। ‘ट्रम्प यस्ता व्यक्ति हुन्, जसले आफूले भन्न खोजेको कुरा मात्रै व्यक्त गर्छन् न कि मान्छेले जान्न चाहेको,’ उनले भने, ‘हाउ टु गेट रिच’ भन्ने ट्रम्पले लेखेको किताबमा आफ्ना कर्मचारीबारे मात्रै लेखेका छन्। तर, त्यसमा धनी हुने कुनै सूत्र दिइएको पाइँदैन।’

आफूले भने यो पुस्तकमा ट्रम्पबारे निकै थुप्रै जानकारी एकमुष्ठ पस्केको उनले बताए । पाँचपोखरी प्रकाशन गृहले बजारमा ल्याएको पुस्तकको मूल्य तीन सय ५० रुपैयाँ रहेको छ।

प्रकाशित: १४ पुस २०७३ १०:४६ बिहीबार

डोनाल्ड ट्रम्प बजारमा