कला

साहित्यकार पन्तलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

साहित्यकार रामप्रसाद पन्तलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार-२०७९ अर्पण गरिएको छ। नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले बानेश्वरस्थित गुरुकुल नाटक घरमा आयोजित एक समारोहकाे बिच पन्तलाई पुरस्कार अर्पण गरिएको हो।

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषका सदस्य सचिव देविका तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले उक्त पुरस्कार अर्पण गरेका हुन्।

साहित्यिक पत्रकार शर्माले जनस्तरबाट रकम बटुली आफ्नो नाममा पुरस्कार राखेर गुन लगाएको बताए। उनले आफू सम्मान र आदरको भोको नरहेको भन्दै अब यति धेरै सम्मान र आदर नगर्न पनि आग्रह गरे।

साहित्यिक पत्रकार पन्तले तिरस्कृत पुरस्कृत हुन नहुने र पुरस्कृत तिरस्कृत हुन नहुने बताए। आफूले दायित्व प्रतिष्ठानबाटै पुरस्कार पाएकाे र पुरस्कार त्यही राख्ने र सकेसम्म सदुपयोग गर्ने उनले बताए।

कार्यक्रममा सम्मानित स्रष्टा पन्तको नियात्रासंग्रह सोनार बांग्ला र अभिव्यक्ति साहित्यिक पत्रिकाको विमोचन लाेकार्पण पनि गरिएको थियो।

कोषका कोषाध्यक्ष शंकर भारतीले धन्यवाद ज्ञापन तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले सञ्चालन गरेको कार्यक्रममा लाेकार्पित कृतिबारे प्राडा लक्ष्मणप्रसाद गौतम र अभिव्यक्तिबारे विधान आचार्यले समीक्षात्मक टिप्पणी गरेका थिए।

यसैगरी कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य र साहित्यकार किशोर पहाडीले स्वागत मन्तव्य दिएका थिए।

उक्त पुरस्कार दोस्रो पटक अर्पण गरिएको हो। यसअघि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई अर्पण गरिएको थियो। कोषमा ५ लाख रुपैयाँ जम्मा भएको र सोही रकमको ब्याजबाट पुरस्कार दिने गरिएको कोषका कोषाध्यक्ष शंकर भारतीले बताए।

प्रकाशित: २३ चैत्र २०७९ ०६:०३ बिहीबार

अक्षर