कला

अस्ताए संगीत गुरु प्रभाकर मधुबाबु

दाङ– ‘श्यामले मुरली बजाए बृन्दावनैमा, मोहनले मोहनी लगाए बृन्दा वनैमा।’ चन्द्रकला शाहले यो गीतको ‘मेलोडि’ सुनाउँउने वित्तिकै उनका लामो समयदेखिका संगीत सहयात्री मधुबाबु थापाले भनेका थिए– ‘दिदी यो भजन मैले गाउन पाउनै पर्छ।’

वर्षौंसम्मको सांगीतिक सहयात्राको विश्वास मधुबाबुकै आवाज राख्ने निधोमा चन्द्रकला पुगिन् । गत शनिवार दुबैजनाले भजन गायकीको भरपुर प्रयास थाले। आउँदो शनिबार रेकर्ड मिति तय भयो। शनिबार आउने छ। तर अफसोच ! मधुबाबुसँगै भजन रेकर्ड गर्ने शनिबार अब चन्द्रकलाको जीवनमा कहिल्यै आउने छैन। उनका सांगीतिक सहयात्री थापा बिहीबार सदासदाका लागि अस्ताएका छन्। ‘उनलाई यो भजनमा आवाज भराउनु मेरो ईच्छा पूरा गर्न सकिन,’ चन्द्रकलाले नागरिकसँग भनिन्, ‘आउँदो शनिबार रेकर्ड गर्ने कुरा थियो, दुई दिन अघि नै उठेर गए।’ यो निधनले चन्द्रकलाको ४३ वर्षदेखिको सांगीति सहयात्रा सदासदाका लागि टुटेको छ।

लोकगीतका हस्ती तथा संगीत गुरु ६३ वर्षीय थापाको बिहीबार काठमाडौँ अनामनगर स्थित डेरामा अकस्मात निधन भएको छ। बिहानको खाना खानुभन्दा अघि नुहाउने क्रममा थापाको अकस्मात निधन भयो। शाहका अनुसार थापामा केही समयदेखि मुटुको समस्या थियो। ‘उनले औषधि खाइरहेका थिए,’ शाहले भनिन्, ‘हिँजो साँझ मात्रै पतञ्जलीको औषधि खानु पर्यो दिदी भनेर मलाई भनेका थिए।’

दाङ सौडियारका थापा दृष्टिविहिन थिए। तर, बाँच्दा संगीतको रोशनीले जग चकमन्न बनाउँदै आए। २०३९ सालदेखि संगीतको औपचारिक यात्रा प्रारम्भ भएको थियो थापाको। उनले २०३९ सालमा ‘भैगो हजुर मायाँ जाल नबुन, गैगो हजुर मायाँ लाउने दिन,’ बोलको लोकगीत रेडियो नेपालमा रेकर्ड गराएका थिए। चन्द्रकलाले यो गीतको स्मरण गर्दै भनिन्, ‘आँफूले गीत गाएजस्तै सबैलाई मायाँ मारेर गए।’ २०३९ मा रेकर्ड गराएको यो गीतले चन्द्रकला शाहको मन छोयो। संयोग नै मान्नु पर्छ यी दुबै कलाकार २०४० मा आफ्ना गीत बजेबापतको रोयल्टी लिन एकै दिन रेडियो नेपाल पुगेका रहेछन्।

‘मलाई मधुबाबु दृष्टिविहीन होलान् भन्ने पनि थाहा थिएन,’ चन्द्रकलाले भनिन,  ‘उनको गीत सुनेर भेट्ने ईच्छा खुबै लागेको थियो, २०४० मा उनको र मेरो पहिलो भेट रेडियो नेपालमा भयो।’ त्यहीबेला देखि दाङ सौडियारका थापा र दाङ हापुरकी शाह सांगितीक सहयात्री बने। ‘उनले आँखा नदेख्ने, तर गायकी यति मिठो,’ उनले भनिन्, ‘यो मान्छेलाई सहयोग गर्नुपर्छ भनेर म अभिभावकको भुमिकामा रहँदै आएँ,म उनको दिदी बनेर उनको सेवा गरिरहेँ।’

योबीच चन्द्रकला र मधुवावुले झण्डै सयको हाराहारीमा युगल लोकगीत गाए। ‘मोहनी लगायौकी मन्तर गरेर,’ बोलको थारु लयमा आधारित उनीहरुको संयुक्त गीत निकै मन पराइएको थियो। यस बाहेक ‘डालीमा कोइली र मैना, मायाँ बाहेक संसारमा कोही छैन,’ ‘भनमायाँ गौँथली हैनौर’ लगायतका गीतमा चन्द्रकला र थापाले संयुक्त गाएका छन्। ‘मधुबाबु मेरो भाई मात्रै गुमेन, मेरो सांगितीक सहयात्री गुमेको छ,’ चन्द्रकलाले भनिन्, ‘संगीत क्षेत्रमा उसको जस्तो साथ अब मलाई सायदै मिल्ने छैन।’

हरेक विधाको संगितमा अब्बल थिए मधुबाबु। गायन, लेखन तथा संगीतमा उत्तिकै खप्पिस थिए। २०३९ देखि संगीत यात्रामा प्रवेश गरेका उनले पाँच सयको हाराहारीका गीतमा स्वर अनि संगीत दिए। मुख्यतः लोक गीत गायनमा सक्रिय रहँदै आएका उनले आधुनिक गीतमा समेत संगीत भरेका थिए। उनी भजन गायनमा समेत उत्तिकै शौखिन थिए। उनीद्वारा संगीतवद्ध ६ वटा आधुनिक गीत बजारमा आएका छन्। थापा शास्त्रीय संगीतका विज्ञ समेत थिए। भारतको इलाहावादबाट शास्त्रीय संगीतमा संगीत प्रभाकर (बि म्यूज) गरेका थापालाई संगित विज्ञकै रुपमा चिन्ने गरिन्छ। यो विधामा प्रयोग हुने तानपुराको ‘सुर’ मिलाउन सक्ने कमै मध्यका उनी एक थिए। ‘मधुबाबु संगीतविज्ञ हुन्,’ शाह भन्छिन्, ‘शास्त्रीयसंगीतमा प्रयोग हुने तानपुराको सुर मिलाउन सक्ने कम मध्यका एकजना सर्जग उनी थिए।’

थापा कुनैबेला बुटवलदेखि पश्चिमका स्रष्टाहरुको एकमात्रै संगीत गुरु थिए। गायकी प्रवेश गर्ने हरेकले उनै थापालाई पछ्याउँथे। ‘उहाँ जस्तो ज्ञान भएको मान्छे संगीतमा कमै मात्रै थिए,’ उनका चेला दाङका संगितका राजेश क्षेत्री भन्छन्, ‘उहाँको ज्ञान सिक्न पाउनुनै हाम्रा लागि अहोभाग्य हो ।’ उनका अर्का चेला संगीतकार यादव योगीले आँफूमा भएको संगीतको ज्ञान सहजै चेलाहरुलाई बाँड्न सक्ने कुशल अभिभावकको रुपमा सम्झिन्छन्। ‘उहाँमा अहमता वा घमण्ड मैले कहिल्यै देखिन,’ यादवले सम्झिए, ‘चेलाहरुलाई ज्ञान बाँड्न कुनै कन्जुस्याई नगर्ने मान्छे हो उहाँ।’ थापाले गीतसंगीतमा पुरानो मौलिकता बचाईराख्नु पर्छ भन्ने भावना कहिल्यै छोडेनन्। उनका शिष्यहरुले नयाँ आधुनिक समाजसँगै चल्नु पर्ने बताउँदा पनि उनले सहजै ईन्कार गरिदिन्थे।

‘मेरो समय उही हो, म उही समयमा चल्छु,’ थापाको भनाइ उदृत गर्दै यादव भन्छन्, ‘हामीहरुले गीतमा नयाँ पन दिनु पर्यो भन्दा उहाँले कहिल्यै मान्नु भएन, मौलिकता जोगाई राख्नु पर्छ भन्ने मानसिकता उहाँमा जहिले पनि रहिरह्यो।’
संगीतयात्रको दौरानसँगै २०५० देखि उनी रेडियो नेपालका जागिरेसमेत थिए। काठमाडौँको अनामनगरमा एउटा कोठा भाडामा लिएर बस्दै आएका थापा सामान्य जीवनशैलीमै चल्दै आएका थिए। संगीतमा अथक मेहनत र समय खर्चेका थापाले सम्मान भने पाउन सकेनन्। चन्द्रकला भन्छिन्,  ‘लामो समय सम्म संगितमा खटिईरहे, तर पनि सम्मान नपाएर बिते।’
बिहीबार निधन भएका थापाको शब अन्तिम श्रद्धान्जलीका लागि शुक्रवार प्रज्ञाभवनमा राखिने र दाहसंस्कारका लागि गृह जिल्ला दाङ ल्याईने उनका छोरा प्रविणले जानकारी दिए।

प्रकाशित: ८ पुस २०७३ ०५:०२ शुक्रबार

अस्ताए संगीत गुरु प्रभाकर मधुबाबु