कला

उपन्यासकार सापकोटाको ‘चिसो बाफ’ लोकार्पण

उपन्यासकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले लोकार्पण गरे।

लोकार्पण कार्यक्रममा आख्यानकार अमर न्यौपानेले  कथानकको संरचनामा नौलो प्रयोग र काल्पनिकता उपन्यासको विशेषता रहेको बताए। उनले भने,‘सिर्जना आविष्कार हो र लेखनमा आविष्कार गर्ने उनको ट्रेन्ड हो। यो उपन्यासमा उनको छुट्टै नवीन शैली छ,’ उनले भने, ‘लेखकले असामान्य कथालाई सहज ढंगले प्रस्तुत गरेका छन्। उपन्यास पढेपछि पाठक सुन्दर सन्तुष्टिमा हराउँछ।’

कल्पनाशीलता र प्रयोगधर्मीतामा उपन्यास अब्बल भएको पत्रकार, निबन्धकार दीपक सापकोटाले बताए। ‘उपन्यासको कथानक, चारित्रीकरण, प्रयोग, शैली उद्देश्यपूर्ण र अर्थपूर्ण छ। विसंगत पाटाको कथालाई अँध्यारो स्वरूपमा भनिएको छ’, सापकोटाले भने, ‘पात्रहरू भ्रान्त पथिक छन्, विपरीत चिन्तनले भरिएको विभ्रान्त अवस्थामा छन्। उपन्यासको निर्मिति भिन्न छ।’

समालोचक ज्ञानु अधिकारीले ‘चिसो बाफ’ नेपाली साहित्यमा सुन्दर ढंगले लेखिएको प्रयोगपरक आख्यान बनेको बताइन्। ‘प्रयोग छ तर कथा असाध्य सरल छ। प्रयोगधर्मी लेखन यति सरलसँग लेखिनु चुनौतीपूर्ण छ। पाठकलाई त्यही कथा बुझे जस्तो पनि र नबुझे जस्तो पनि लागिरहन्छ,’ उनले भनिन्।

विश्व साहित्यमा भइरहेका प्रयोगमाथि विमर्श गर्दै उपन्यासकार सापकोटाले प्रयोगधर्मी आख्यान लेख्न खोजेको र पाठकलाई फरक स्वाद दिन चाहेको बताए। उनले भने, ‘पाठकलाई लागोस्, उपन्यासका घटनाहरू सपना जस्ता हुन् भन्ने मेरो चाहना हो।’

यसअघि लेखक सापकोटाका  ‘पूर्णविराम’, ‘खरानी’, ‘प्रेम कतिपय’ नाटकसंग्रह र ‘काँचाे कागज’ उपन्यास प्रकाशित छन्। कलम प्रकाशनले प्रकाशन गरेको किताबको मूल्य ४४५ रुपैयाँ छ।  

प्रकाशित: १९ चैत्र २०७९ ०७:५७ आइतबार

अक्षर