कला

दौंतरीमा गुन्जिए सरूभक्त र तीर्थ श्रेष्ठ

नेपाली लेखक संघ, गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको दौंतरी कविता वाचन कार्यक्रममा समकालीन स्रष्टाद्वय सरुभक्त र तीर्थ श्रेष्ठ उभिएका छन्। पोखरालाई आधारभूमि बनाएर नेपाली साहित्यलाई गहकिलो योगदान दिने साहित्यकारद्वय सरूभक्त र श्रेष्ठले कार्यक्रममा आफ्ना कविताका साथै कविता लेखनका रोचक सन्दर्भ समेत प्रस्तुत गरे।

हिँडेर जाँदा मुस्किलले एक मिनेटको दुरीमा हुर्किएका दुई बालकहरूबीच चिनाजानी पृथ्वीनारायण क्याम्पस पढ्दा मात्रै भयो, त्यो पनि नाटक मञ्चनको सिलसिलामा।

नेपाली लेखक संघ, गण्डकीका महासचिव सञ्जीव पौडेलले नेपाली लेखक संघको पृष्ठभूमि र दौंतरी कार्यक्रमको अवधारणा प्रस्तुत गरेर सुरु भएको कार्यक्रममा दौंतरी कवि सरूभक्त र श्रेष्ठका विविध आयामको उद्घाटन एवम् लेखन गर्भका सन्दर्भ खोतल्ने काम नेपाली लेखक संघ, गण्डकीका अध्यक्ष कवि डा. ईश्वरमणि अधिकारीले गरेका थिए। तीर्थ श्रेष्ठद्वारा लिखित ‘हिउँमा लेखिएका नामहरू’ कविता वाचन गरेर ईश्वरमणि अधिकारीले कार्यक्रमको थालनी गरेका थिए।

केही कविता सुनाएपछि र दौंतरी संवाद भएपछि ईश्वरमणिले कवि तीर्थ श्रेष्ठलाई सोधे- ‘भक्तराज श्रेष्ठ कसरी सरूभक्त भए? भन्न मिल्ने जति भनिदिनुहुन्छ कि !’ उपस्थित सबैले सरूभक्त कसरी सरूभक्त भए भन्नेबारे आज जान्न पाइने भइयो भनेर उत्सुकतापूर्वक ध्यान दिएर सुनिरहेका थिए, तर कवि श्रेष्ठले बडो चलाखीपूर्ण जवाफ दिए, ‘फलामखानी उत्खनन गर्ने खानीमा वरिपरि तारबार गरिएको हुन्छ, जोकोहीलाई प्रवेश दिइँदैन।’

आफ्नो साथीको त्यति गोप्य कुराको पोको जहाँ पायो त्यहीं सबैका अगाडि सार्वजनिक नगर्ने भन्दै मित्रताभित्रको गोपनीयताको उच्चतम नमुना प्रस्तुत गरे। साथीले आफ्नो विगत नबताएकोमा गर्वको हाँसो हाँसे कवि सरूभक्त। विविध सन्दर्भमा ठट्यौली पारामा प्रस्तुत भएका कवि सरूभक्तलाई सुन्दा प्रेक्षालयमा हाँसो फैलिएको थियो। कार्यक्रममा दुई कविका करिब एक दर्जन कविता प्रस्तुत भएका थिए। कविताकै क्रममा दुवै साहित्यकारले साहित्य लेखनका माध्यमबाट प्रज्ञाप्रतिष्ठानको नेतृत्वसम्मका बारेमा आआफ्ना अनुभव पस्केका थिए।

कार्यक्रम सम्पन्न भएपछि कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले मायाको चिनो दिएर दौंतरी कविहरूलाई सम्मान गरेका थिए। कार्यक्रममा दौंतरी कार्यक्रमको दोस्रो शृङ्खलाका रूपमा ‘दौंतरी (मुक्तक)’ कार्यक्रम गर्ने निर्णय सुनाइएको थियो। आगामी शृङ्खलामा दौंतरीका रूपमा साहित्यकार दीपक समीप र जीवनसागर भण्डारीलाई उभ्याउने गरी साहित्यकार सरूभक्त र तीर्थ श्रेष्ठले खाँदा ओढाएर दोस्रो शृङ्खलामा उभिनका लागि शुभकामना दिएपछि कार्यक्रमको समापन भएको थियो। 

प्रकाशित: १८ चैत्र २०७९ ०४:३८ शनिबार

अक्षर