कला

झमकको आँसु र ‘संघर्ष’ कथासङ्ग्रह

पुस्तक

यतिखेर म कथाकार शोभा ज्ञवालीका कथाहरूमाथि केही टिप्पणी लेख्न खोजिरहेको छु। उनका कथा र कथाका पात्रका बारेमा केही लेख्न बस्दा केही दिनअघि धनगढीमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली नारी साहित्य सम्मेलन सम्झिरहेछु। सम्मेलन आयोजना गरेर सुदूर पश्चिमाञ्चल साहित्य समाजले निकै राम्रा मुद्दालाई बहसमा प्रवेश गरायो। नारी कथाकार शोभा ज्ञवाली, उनको कथासङ्ग्रह ‘सङ्घर्ष’ र आफैमा सङ्घर्षशील यस सङ्ग्रहका पात्रहरूबारे केही लेख्दा त्यो यात्राको सम्झनालाई सम्झनामा राखेर प्रस्तुत आलेखमा म एकै पटक दुई धारमा बग्न खोजेको छु।

सम्झना र केही अनुभूति मिसिएपछि संवेदना तर्ने नदी अर्कै हुनेरहेछ। छालाको आँखाले हेर्ने कि मनको आँखाले? कसरी बुझिएला दर्शक र दृश्यमाथिको दृष्टिसम्बन्ध? यो कस्तो कहर हो चेतनाको र मान्छेकै तहमा मान्छे किन मान्छेको नजिक हुन सकिरहेको छैन। लाग्छ: चेतना बिस्कुन हुन थालेपछि बेमौसमी हल्का पानीको पनि चिन्ता। चिन्ताकै लस्करमा आत्मकेन्द्रित छ मान्छे र प्रत्येकलाई आफ्नो सङ्घर्ष काँडाजस्तो लाग्छ र अरूको सङ्घर्ष फूलजस्तो ? झमक घिमिरे सोध्छिन्–जीवन काँडा हो कि फूल?

कथाकार शोभा ज्ञवालीको पहिलो कथासङ्ग्रह हो–‘सम्पूर्ण आकाश’। उनको दावा छ–महिला आधा आकाश होइन, ऊ पूर्ण आकाश हो। कर्मको बाहिरी संसार र भित्री घरेलु संसार सँगसँगै हाँकेर जीवनको सङ्घर्ष अघि बढाउने कर्मशील नारी कसरी आधा हुन सक्छिन्? कसरी आधा आकाश, कसरी आधा धर्ती? उनको भनाइमा अनुभूति पनि छ र अस्तित्वको दाबी पनि।

लाग्छ: पूर्ण हुन त फूल पनि चाहिएला र काँडा पनि। फूल र पातको कुरा त त्यतिखेर आउँछ, जब बोट हुन्छ। कतिले गमलामा फूल देख्लान् त कतिले त्यही फूल अडिएको डाली। कति डाली पलाएको बोट देख्लान् त कति बोट उभिने माटो। कतिले देख्लान् त्यही माटो राखिएको गमला र कति माटोकै रहस्यमाथि चिन्तन गर्लान्। यसरी छुट्टिन्छ लेखनको तह र चिन्तनको धरातल। को कति सोच्छ र कसरी सोच्छ भन्ने कुरामाथि सोच्ने तह निर्भर गर्छ। यही तह तहको व्याख्या हो सम्मेलन पनि र लेखन पनि।

ज्ञवालीका कथाका पात्र आर्थिक रूपमा कमजोर छन् तर निरीह छैनन् र आफै उत्तर खोज्छन् आफ्ना लागि। समस्याको मूलमा छन् तर समाधानको मूलबाटो पनि आफै खोज्छन्। आफै पनि उद्योग व्यवसायमा लागेकी र व्यवसाय उन्मुख नारीलाई अवसर दिएर तिनकै नेतृत्व दाबी गरिरहेकी ज्ञवाली कथामार्फत समाजमा छिरेकी छिन् र समाजमार्फत कथामा प्रवेश गरेकी छिन्। दुवै भन्न सकिन्छ। हिजो सगर्व भनिन्थ्यो लेखन आवाजविहीनको आवाज बन्नुपर्छ तर अचेल भाष्यमा केही परिवर्तन आएको छ। एउटाले अर्काको कुरा पूर्ण रूपमा भन्न सक्तैन। कोही पनि आफ्नो हातमा माइक बोकेर आफूखुसी अर्काको आवाज नबनोस्। जसको आवाज हो माइक उतै फर्कोस्। उसकै हातमा राखिदेऊ माइक। आफ्नो स्वर ऊ आफै बोलोस्, आफै भनोस् आफ्नो कुरा। लेख्नेहरूले ती आवाज सुनेर तिनकै भाषामा लेखिदिऊन्। समयले मागेको लेखन कथ्यको परिवर्तन वा परिवर्तन खोज्न लेखकले खोज्ने एउटा नयाँ बाटो हो यो। लेख्नु शिक्षा हो कि रूपान्तरण? लेख्नु उपदेश हो कि सन्देश प्रवाह? वा केही होइन? प्रश्नहरू सदा जीवित रहन्छन् र उत्तरहरू समयसापेक्ष हुनसक्छन् र फेरिन पनि सक्छन्। लेखनले कति लामो समयलाई सम्बोधन गर्न सक्छ? लेखकको खास सामर्थ्य र दीर्घजीवन त्यसैमा निर्भर रहन्छ।

आज नारीका भनिएका समस्या नारीका मात्र होइनन्। दलित, जनजाति वा मधेशीका भनिएका समस्या पनि तत्तत्का मात्र होइनन्। सबैका हुन् र देशका हुन्। देशकै समस्या कसरी एउटाको मात्र हुनसक्छ र कसरी आधा वा निश्चित प्रतिशतको मात्र हुन सक्छ ? यो सम्पूर्णको हो, सम्पूर्ण आकाशको हो।

धनगढी सम्झना

केही दिन धनगढी बसेर राजधानी फर्किएपछि धनगढीका ३ सन्दर्भ यतिखेर आँखाभरि आइरहेका छन्।

सन्दर्भ एक: २०१५ मा बिपी कोइराला नेतृत्वको प्रथम जननिर्वाचित सरकारमा मन्त्री भएकी द्वारिकादेवी ठकुरानीको कर्मआँगन हो धनगढी। उनी डोटीमा जन्मेकी थिइन् र उनले सुदूर पश्चिमलाई कर्मथलो बनाएर राजनीति गरिन्। आज पनि मन्त्रीपरिषद्मा एक दुई महिला मन्त्री अटाउन धौधौ छ, त्यो बेला सुदूर पश्चिमबाट मन्त्री ! उनको सङ्घर्ष कस्तो थियो होला? त्यो समयमा परिवारसँग, समाजसँग, सामाजिक संरचनासँग र आफैसँग उनले कसरी र कति लडिन् होला? यो भावुक प्रश्नको उत्तर कठोर हुन सक्छ। धनगढी छउन्जेल यो प्रश्नले हानिरह्यो मनतिर पनि मस्तिष्कतिर पनि।

सन्दर्भ दुई: वर्तमानकी एक चर्चित लेखक झमक घिमिरेसँग मञ्चमा सँगै रहेर मौन अभिव्यक्तिमा गरिएको मौन संवाद। झमकका अक्षरमा आगो पनि छ र आँसु पनि। त्यस दिनको संवादमा उनको आँखाबाट पटक पटक बगेको आँसु कतिले देखे, देखेनन् कुन्नि तर त्यो आँसु दुःखको थिएन, उनलाई समाजले बोध गरेको हर्ष आँसु भएर बगेको थियो वा सम्भावित प्रश्नको उत्तर उनकै किताबबाट खोजेर सहजकर्ताले उठाएको प्रसङ्ग।

कार्यक्रम सकिएपछि उनीसँग पूरक संवाद त भयो तर सहजकर्ता हुनुको नाताले मैले यो प्रश्न उठाइनँ। झमकलाई मञ्चमा देखेपछि देख्नेहरूले आफैभित्र अनुभूत गरेको हृदय हल्लाउने जीवनआँधी कम्ता वेगवान् थिएनन्। झमक आवाजसँग, हातसँग, गोडासँग, परिवार, समाज र आफैसँग एक्लै लडिरहेकी छिन्। त्यो लडाइँ सार्थक छ तर कतिले बुझ्दा हुन् बाँच्नु र सङ्घर्षबीचको बेग्लै अर्थमा। चिन्ता बाँच्नेहरूलाई बाहिरको दुःख, प्राप्ति वा लाभहानीले छुन्छ तर जब मान्छे चिन्तन हुँदै चैतन्यको तहमा प्रवेश गर्छ, उसलाई भौतिक सुखको आवरण फिका लाग्छ। पाठमा राजपाट छोड्ने बुद्ध पढाएर त्यही बुद्ध पढेको छोरोले अकुत सम्पत्ति कमाएन भनेर उसैसँग विद्रोह गर्ने बाउहरूको समय हो यो। झमकले संसारी सुख तोडेर मनको सुखमा आफूलाई उभ्याइसकेकी छिन्।

सन्दर्भ तीन: लेखनमा नयाँ पाटो र मूल बाटो खोजिरहेका लेखक महिलाहरूको अर्थपूर्ण बहस र सामाजिक रूपान्तरणको चेतनासहित समाजसेवा गरिरहेका यस समयका नारीहरूको विविध सङ्घर्षको बहुकोणीय कथा। आज पनि छुत–अछुत, आज पनि मलाम जान हुने कि नहुने? आज पनि छोरीले के गर्ने–नगर्ने भन्ने प्रश्नको लक्ष्मणरेखा र आज पनि जातिभेद, लिङ्गभेद, समान अस्तित्वको दाबीमा विभेद, निर्णय प्रक्रियामा विभेद र निर्णयमै विभेद। सम्मलेनका क्रममा उठेका सन्दर्भ हुन् यी।

 नारीका समस्या, त्यसमाथि सुदूर गाउँका नारीका समस्या, दलित नारीका समस्या, अशिक्षित नारीका समस्या। यी परम्परागत समस्या हुन् परम्परैदेखि आएका तर समस्याको रूप झन् फेरिएको छ। अचेल गाउँ सहर पस्न थालेको छ। मान्छेको आँखा संघीय राजधानीतिर छ। त्यहाँ पहुँच नभए प्रदेश राजधानी जाने, त्यो पनि नभए गाउचाहिँ छोड्ने र जिल्ला सदरमुकाम पुग्ने। यसबाट गाउँको पुख्यौली पेसा पनि उतै छुट्यो, नयाँ ठाउँमा खर्चको तुलनामा आयआर्जन छैन। झन् कमाउनेको भन्दा बेरोजगारको सङ्ख्या बढी। शोषण र उत्पीडन त त्यहाँ थपिन थालेको छ। यो झन् डरलाग्दो कथा हो। सासू सुसुरा गाउँमा, छोराछोरी पढाउन बुहारी सदरमुकाममा र कमाउने नाममा छोरो विदेश। पारिवारिक समस्या बहुकोणमा छिरेको छ। पाटो आर्थिक मात्र छैन। बहस बाँकी नै छ। हो, यही पाटोमा छिरेर कथा लेखेकी छिन् शोभा ज्ञवालीले। यो उनले दिएको कथालेखनको राम्रो योगदान हो।

शोभा ज्ञवालीका पात्रहरू

कथाकार ज्ञवालीका दुई कथासङ्ग्रह सार्वजनिक छन्। सम्पूर्ण आकाश र सङ्घर्ष। सुपठित, व्यावसायिक र सामाजिक तथा व्यावसायिक जीवनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी ज्ञवालीले कथाहरूमा साधारण महिलाको कथा भनेकी छिन्। कथामा समस्याका चाङ छन् तर समाधान पनि त्यही समस्याबाट खोजेकी छिन्।

आफ्ना कथामार्फत उनी आफैले भनेकी छिन् : हे नारी हो, किन हेपिन्छौ? कसैले हेपेर हेपिने तिमी को हौ? किन डटेर मुकाबिला गर्दैनौ? किन मृत्युको बाटो रोज्छौ? किन आफ्नो शक्ति प्रयोग गरेर अघि बढ्न सक्तैनौ? किन चुकुल लगाएर कोठामा एक्लै रोएर बस्छौ? के मर्नु र तनाबमा डुब्नु एक मात्र विकल्प हो? यसरी ज्ञवाली प्रश्नहरू लिएर उपस्थित भएकी छिन्।

इतिहास पढेर जीवन बिताउने कि आफैले इतिहास बनाउने? यो पनि एक प्रश्न हो। ज्ञवालीका कथाका पात्र आफैले खोज्छन् आफ्नो बाटो र हराभरा बनाउँछन् उजाड जीवन। उनी पुष्पाहरू पुष्पित भएको देख्न चाहन्छिन् र यसरी पुष्पित हुने बाटो स्वरोजगार हो भन्छिन्। कथालाई आर्थिक जीवनसँग जोडेर परिवर्तन खोज्छिन् र महिलालाई सिप र उद्यमसँग जोड्न राज्यसँग समेत आग्रह गर्छिन्। उनका पात्रहरू आफै ठाउँठाउँ पुग्छन् र अवसर खोज्छन्। सामाजिक व्यथितिका विरुद्ध उभिएर परिवर्तनको उदाहरण बन्ने आँट गर्छन्।

चिन्तनको सीमा र नयाँ प्रयोग

ज्ञवालीका कथा सरल लाग्छन्। घटनाप्रधानजस्ता र आदर्श उन्मुखजस्ता पनि लाग्छन्। कुनै शास्त्रीय सीमा वा कथाको कथ्य परिभाषाको उनलाई मतलब छैनजस्तो देखिन्छ। प्रतिस्पर्धी, सकारात्मक र आँटी पात्र खडा गरेर आँटको सन्देश प्रवाह गर्न खोजिएको छ र उनले भनेकै जस्तो यी पात्रहरू समाजका साँच्चिकै पात्र हुन् कि जस्तो पनि लाग्छ। कर्मवाद र भाग्यवादको मौनता तोड्न आग्रह गरिएको छ। बढी हेपिनु भनेको हिंसाको वातावरण हो र यो हिंसाको जवाफ फेरि हिंसाकै तहमा आयो भने के गर्छौ? भन्ने खबरदारीसँग महिलालाई कम नआँक्न चेतावनी छ। मायापिरतीका प्रसङ्ग, विवाह, पुनर्विवाह र स्वनिर्णय आदिका सन्दर्भ प्रशस्त छन् तर ती जीवन निर्वाह, स्वरोजगारी, स्वावलम्बन र सुकिलो जीवनको आधार बनेर देखापरेका छन्।

विद्रोहको ज्वाला उठे पनि फेरि समन्वय र सहकार्यका लागि एकता र मित्रताको मैदान पनि सँगै छ। यी केही सन्दर्भ हुन् कथाका तर कथाकार ज्ञवालीका पात्र पनि कतै न कतै नेतृत्वकै खोजीमा छन्। यो उनी आफै विभिन्न संघसंस्थामा हुनु, नेतृत्वदायी तहमा हुनु र आफैले नेतृत्व गरेर नेपाली महिलाको जीवनमा परिवर्तन ल्याऊँ भन्ने भित्री हुटहुटी आफैभित्र हुनकोे बाहिरी अभिव्यक्ति हो भन्न पनि सकिन्छ। साहित्यलाई केवल कल्पनाको फूलजडी सीमाबाट समाजको स्पन्दनसँग जोड्ने यो चेतना भने उत्कृष्ट र समयसापेक्ष देखिन्छ। दुइटा सङ्ग्रहको लेखन शिल्प, विषय संयोजन र कथ्यको परिधि उस्तैउस्तै छ। यो ‘नारी मिसन’ लेखन हो पनि भन्न सकिन्छ।

सम्मलेन, बहस र बहसको लेखन

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनको यो तेस्रो संस्करण हो। यो संस्करणलाई नारीसँग जोडेर साहित्य समाजले नारी महिमा मात्र गाएन, समस्या खोतल्ने प्रयास पनि गर्‍यो र समाधानको बाटो खोज्नका लागि नयाँ बाटो पनि देखाउने प्रयास गर्‍यो। अहिलेका चर्चित लेखकहरूसँग साक्षात्कार गरायो र विशेष योगदान दिएकाहरूको जिउँदो कथा उनीहरूकै मुखबाट सुनायो। चर्चित आख्यानकार रामलाल जोशी, सांस्कृतिक चेतनासहितका गायक यज्ञराज उपाध्याय, समाजका अध्यक्ष तीर्थराज पाण्डे र महासचिव गणेश नेपालीसहितको टोलीको खटाइ र झमकलाई निम्तो दिन उनीहरू आफै धनकुटा पुग्दाको अनुभवसँग उनीहरू जसरी मञ्चमा उभिए र उनीहरूले नारीका मुद्दालाई जसरी उठाउने कोसिस गरे, ती प्रयास सुन्दर छन् तर सुन्दरताको सीमा हुँदोरहेनछ। सुन्दरता आफै सङ्घर्षको कारण पनि हो र यी सबै सन्दर्भले सङ्घर्षकै कथा बोकी ल्याएका छन्। समाधानको बाटो भन्नु त शोभा ज्ञवालीका कथाहरूले भनेजस्तो आफैभित्र जागृत हुने सामूहिक प्रयास न हो।

प्रकाशित: १८ चैत्र २०७९ ०१:५२ शनिबार

अक्षर