कला

पाकमा हट्यो भारतीय फिल्मको प्रतिबन्ध

पाकिस्तानी कलाकारको अभिनय रहेको भनी भारतमै प्रतिबन्धको माग खपेको बलिउड फिल्म 'ए दिल है मुस्किल'को एक दृश्य।

इस्लामावाद- पाकिस्तानमा रहेका मुख्य मुख्य सिनेमा घरले भारतीय फिल्ममाथिको प्रतिबन्ध फुकाउने निर्णय गरेका छन्। सेप्टेम्बरमा दुवै देशको सम्बन्ध तनावको उत्कर्षमा पुगेपछि पाकिस्तानले सिनेमा घरमा भारतीय फिल्म नलागाउने निर्णय गरेका थिए।

कास्मिरमा पाकिस्तानको संरक्षण पाएको भनिएको उग्रवादीले भारतीय सेनाको ज्यान लिएपछि दुवै देशको सम्बन्ध साँस्कृतिक रुपमा पनि बिग्रिएको थियो। पाकिस्तानका कलाकारले अभिनय गरेको भारतीय फिल्म हलमा नचलाउन दबाब दिँदै प्रदर्शन भएका थिए भने उता पाकिस्तानले पनि भारतीय फिल्मलाई हलमा बन्देज लगाउने घोषणा गरेको थियो। तर पाकिस्तानको निर्णय भने भारतमा पाकिस्तानी कलाकारलाई देश निकाला गर्नुपर्ने र उनीहरुलाई बलिउड फिल्म काम गर्न बन्देज लगाउनु पर्ने माग भएपछि आएको थियो।

तर पाकिस्तानका हल सञ्चालकले आफैंले गरेको यस्तो निर्णयबाट घाटा खान थालेपछि निर्णय फिर्ता लिएको बताएका छन्। पाकिस्तानमा पनि अधिकांश मानिस बलिउड फिल्मका पारखी छन्।

पाकिस्तानका वितरक तथा हल सञ्चालकले आइतबारबाट नै भारतीय फिल्ममाथिको प्रतिबन्ध हटाएको बताएका छन्। पाकिस्तानले यसरी भारतीय फिल्ममाथि बन्देज लगाएको दोस्रो पटक हो। यसअघि सन् १९६५ मा इन्डो पाकिस्तान युद्धको बेला पाकिस्तानले यस्तो निर्णय लिएको थियो। यस्तो प्रतिबन्ध सन् २००८ सम्म जारी थियो।

मुस्लिम समुदायको बाहुल्य रहेको कस्मिर लामो समयदेखि दुई देशको झगडाको कारण बन्दै आएको छ। यही कारणले त्यहाँ दुई पटक भारत र पाकिस्तान आमने सामने भइसकेका छन्। आज पनि कस्मिर विश्वमा नै सबैभन्दा धेरै सैनिकको उपस्थिति भएको क्षेत्रको रुपमा प्रख्यात छ।

भारत–पाक सिमानाको उरी भन्ने भारतीय क्षेत्रमा गत सेप्टेम्बरमा उग्रवादी आर्मी क्याम्पमा आक्रमण गर्दा १८ जना सैनिकको ज्यान गएको थियो। आक्रमणका पछाडि पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएको छ।

प्रकाशित: ४ पुस २०७३ ०८:१२ सोमबार

पाकमा हट्यो भारतीय फिल्मको प्रतिबन्ध