कला

कलाकारहरुले बाँडे ब्लाङ्केट

काठमाडौं- संगीतकार विकास चौधरीको पहलमा रौतहटको डुमरियामा निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर विक्रान्त मेहताको नेतृत्वमा खटेका टोलीले ३ सय ५० जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । डुमरिया आसपासका बालबालिकादेखि बुढापाकासम्म स्वास्थ्य परीक्षणमा सहभागी भएको संगीतकार चौधरीले जानकारी दिए । 

संगीतकार चौधरीसहति गायक पूर्ण राई, रन्जित कुमार सहनीलगायतका टोलीले सर्लाहीको द्वन्द्वपीडित बालबालिकाको लागि ब्लाङ्केट पनि प्रदान गरेको छ । चेतना द्वन्द्व बालगृहका बालबालिकालाई २० थान ब्लाङ्केट प्रदान गरेको चौधरीले जानकारी दिए । टोलीले सर्लाहीको जमुनियास्थित दलित वस्तीमा पनि ब्लाङ्केट वितरण गरेको छ । चौधरीका अनुसार जमुनियाका करिब दुई सय दलित परिवारलाई ब्लाङ्केट वितरण गरियो ।

‘जाडोयाममा चिसोबाट धेरैको ज्यान गएको समाचार वर्षेनि सुनिन्छ,’ संगीतकार चौधरीले भने, ‘तिनै ज्यान बचाउनका निम्ति ब्लाङ्केट वितरण गरेका हौ ।’ अमेरिकाको क्यालोरोडस्थित शान्ति इन्टरटेन्मेन्टका अध्यक्ष हरि उप्रेतीको संयोजनमा निशुल्क स्वास्थ्य परीक्षण र ब्लाङ्केट वितरण गरिएको चौधरीले जानकारी दिए । 

प्रकाशित: ३ पुस २०७३ १०:४३ आइतबार

कलाकारहरुले बाँडे ब्लाङ्केट