कला

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाई

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई दिइने भएको छ। 

पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप) ले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई प्रदान गर्ने बताएको छ।

साहित्यकार सरुभक्तको संयोजकत्वमा तीर्थ श्रेष्ठ र विक्रम गुरुङसहित पोयुसाँपका अध्यक्ष र सचिव पदेन सदस्य रहेको पुरस्कार छनौट समितिले खरेललाई पुरस्कार दिन सिफारिस गरेको थियो। सोही सिफारिसलाई पोयुँसापको बैठकले पारित गरेको पोयुसाँपका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए।प्रत्येक दुई वर्षमा दिइने पुरस्कारको राशि दुईलाख रुपैयाँ नगदसहित दोसल्ला र सम्मान पत्र रहेको छ। पुरस्कार यही वैशाख १६ गते पोखरामा अर्पण गरिने पोयुसाँपले जनाएको छ।

नेपाली गीत, सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनेमध्ये एक जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने पुरस्कार स्थापनाकर्ता तथा पुरस्कार छनौट समितिका संयोजक सरुभक्तले बताएका छन्। उनका अनुसार लेखन, गायन, संगीत र वाद्यबादनको कुनै एक क्षेत्रमा वा बहुविधामा योगदान गरेका व्यक्ति छनौटमा पर्दछन्।

पुरस्कृत खरेल ६ दशकदेखि अनवरत रुपमा नेपाली गीत लेखनको क्षेत्रमा क्रियाशील छन्। वि.स.१९९५ साल माघ २७ गते काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेलका ए दूरका सितारा (२०१४, गीत सञ्चयन), के हो तिम्रो नाउँ (२०२०, गीत सञ्चयन), मेरी पारु (२०२२, गीत सञ्चयन), प्रियतमा (२०३६ गीत सञ्चयन) प्रकाशित छन्। खरेलले एक सय भन्दा बढी चलचित्रमा गीत लेखेका छन्। उनी २०२०, २०२२, २०२६ र २०२८ मा रेडियो नेपालको सर्वोत्तम गीतकारका रुपमा पुरस्कृत भईसकेका छन्।

खरेल शाही नेपाली चलचित्र संस्थानमा २०४३ देखि २०५० सम्म नायब महाप्रबन्धक बनेका थिए भने श्री रत्न रेकर्डिङ संस्थान, संगीत प्रवर्द्धन समिति, केन्द्रीय चलचित्र जाँच समितिलगायतमा सञ्चालनक समिति सदस्य भईसकेका छन्।

सरकार प्रमुखले प्रदान गर्ने विभिन्न विभूषणसहित पाँच दर्जन बढी सम्मान र अभिनन्दनबाट खरेल अभिनन्दित भईसकेका छन्। उनले २०३९ सालमा छिन्नलता गिती पुरस्कार तथा २०५६ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार पनि प्राप्त गरिसकेका छन्। राष्ट्रगानका संगीत सर्जक अम्बर गुरुङको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो। 

प्रकाशित: १५ चैत्र २०७९ ११:४१ बुधबार

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेल