कला

चार स्रष्टालाई घुम्ती सम्मान

घुम्ती कवि गोष्ठी नेपालले चार स्रष्टालाई घुम्ती सम्मान अर्पण गर्ने भएको छ। घुम्ती कवि गोष्ठीको अध्यक्ष रामकुमार पण्डित क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले साहित्यकारहरू शङ्कर भारती, डिल्लीप्रसाद मुलतिहुन, धन्वन्तरि मिश्र(कात्यायन) र रन्जु खनाललाई सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

संस्थाका अध्यक्ष रामकुमार पण्डित क्षेत्री,उपाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव मन्जुश्री केसी प्रधान, कोषाध्यक्ष रामचन्द्र दाहाल, सदस्यहरू त्रिलोचन आचार्य, परशुराम परासर र कपन बानेश्वर साहित्यिक साप्ताहिकका सहसम्पादक परशुराम अधिकारीको उपस्थितिमा भएको बैठकले आउँदो वैशाख ९ गते  साहित्यकार वेदमणि घिमिरेको घरमा हुने १२५ औं घुम्ती कवि गोष्ठीको अवसरमा सो सम्मान प्रदान गरिने भएको छ।

हरेक पच्चीस शृंखलामा प्रदान गरिने घुम्ती सम्मानबाट यसअघि पिताम्बर भण्डारी, भुवनहरि सिग्देल, नरनाथ लुइटेल,मन्जुश्री केसी प्रधान, निबन्ध आचार्य, शीतल गिरी, ढुण्डीराज मरासिनि, डा विदुर चालिसे, डा बमबहादुर थापा जिताली, ओमप्रसाद कोइराला, प्रेम राई परीक्षित, पुरुषोत्तम नेपाल लगायतका स्रष्टा सम्मानित भइसकेका छन्। हरेक महिनाको दोस्रो शनिबार बिहान विभिन्न स्थानमा कवि गोष्ठी गर्दै आएको घुम्ती कवि गोष्ठी नेपालले पच्चीसौं शृंखलामा सम्मान प्रदान गर्ने र त्यसपछि सस्थामा नेतृत्व परिवर्तन गर्ने परम्परा कायम गरिंदै आएको छ।  

प्रकाशित: १५ चैत्र २०७९ ०६:०१ बुधबार

अक्षर