जुम्ला–कुडारी– २ की दिलमाया शाही कमारो चलचित्र हेर्दा भावविह्वल भइन्। कमारो परिवारले भोग्नु परेको पीडा देख्दा उनलाई असैह्य भयो। आँशु झार्दै उनले भनिन्, ‘कमारो चलिचित्र साँच्चिकै यहाँको परिवेशमा आधारित चलचित्र रहेछ। यसले कर्णालीवासीको पीडालाई जस्ताको त्यस्तै उतार्न खोजेको छ।’ दिलमाया जस्ता चलचित्र महोत्सवमा सहभागी भएका सयौं दर्शकको मन जित्यो कमारोले। मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अवसरमा तीन वटा चलचित्र प्रदर्शन गरिएकोमा कमारोले यहाँको मानिसहरुको मन जित्यो। दिलमायाले भनिन्, ‘कमारो प्रथा उन्मुलनकालागि यो चलचित्र निकै लाभदायक हुन सक्छ।’
चलचित्र महोत्सवमा कर्णालीको जनजीवन सुहाउँदो लद्दाक र भूकम्पले थिलोथिलो पारेको वारपाकका स्थानीयको अवस्थाको चित्रण गर्ने लघु चलचित्र देखाइएका थिए। जस मध्ये दर्शकलाई मन छोएको चलचित्र कमारो हो। जुम्ला सिजाको परिवेशसँग सम्वन्धित यो चलचित्र खस भाषामै निर्माण गरिएको छ। कमारो चलचित्रका निर्देशक अरुणदेव जोशी पछाडि पारिएका कर्णाली क्षेत्रको सिजा उपत्यकाको एक कमारो परिवारको कथा समेटिएको बताउँछन्। सो चलचित्रमा कमारो परिवारका सदस्यले भोग्नु परेको यौन उत्पिडनको पीडाहरु समावेश गरिएको छ।
चलचित्रमा कमारो परिवारका बालवालिकाले साहु महाजनका छोराछोरीको जुठो भातले गुजारा चलाउनु पर्ने, तथानाम गालीगलौजको सीकार बन्नु पर्ने, साहुको घरमा पालिएको कुकुर भन्दा घटेको व्यवहार गर्ने गरेको देखाइएको छ। मालिकले दशौं तलाको घरमा बसेको र कमारोले जति काम गरेपछि झुपडी बास बस्नु परेको, गरिव, निमुखाको पसिनाको मूल्य नभएको चलचित्रमा समेटिएको छ।
स्थानीय कलाकारले स्थानीय भाषा शैलीमा यो चलचित्र तयार पारेका छन । स्थानीय व्यवस्थापक प्रकाश उपाध्याय कमारो चलचित्र कर्णालीको इतिहास भएको बताउँछन । यहाँको धार्मिक, सास्कृतिक र सामाजिक विभेदलाई टप्लक्क टिपेर चलचित्रमा समावेश गरिएको उनले बताए । खस सभ्याताको केन्द्र सिजमा छायांकन भएको सो चलचित्र जुम्लावासीको यथार्थता भएको उनले बताए। चलचित्रका कोर्डिनेटर दिपेन्द्र उपाध्याय भुतकालको यर्थाथताले वर्तमानको अवस्थालाई बदल्ने मनसायले चलचित्र निर्माण गरिएको बताउँछन्। कर्णालीको पहिरन,कर्णालीको संस्कृति र कर्णालीको परिवेश एकैसाथ चलचित्रमा उतारिएको उनले बताए। दर्शकले चलचित्रले कर्णालीको कथावस्तु बोलेको बताए । यो चलचित्र काठमाडौं माउण्टेन फेस्टिवललगायत विभिन्न कार्यक्रममा उत्कृष्ट अवार्ड जितेको थियो ।
प्रकाशित: २६ मंसिर २०७३ ०९:१० आइतबार