कला

राष्ट्रियता झल्काउने काव्यिक कृति

पुस्तक

लकडाउनको समयमा सामाजिक सञ्जालको छन्द चौतारी नामक पेजमा वासुदेव पाण्डेयका कविताहरू दिनकै (कुनै कुनै दिन त दुईवटा पनि) पोस्ट हुन्थे। मलाई याद छ, पूर्व सांसद एवम् छन्द कवि बलदेव शर्मा मजगैंयाले उहाँकै कविताको पोस्टमा ‘तपाईं छन्द कवितामा कलम चलाउने अद्भुत प्रतिभा हो। आफ्ना सिर्जनालाई यति सस्तो नबनाउनुहोस्।’ भनेर प्रतिक्रिया जनाए। उहाँको यो कमेन्टले म पनि आकर्षित भएको थिएँ अनि मैले पनि केही कुरा लेखेथें। त्यसलगत्तै म वासुदेव पाण्डेयसँग फेसबुकमा जोडिन पुगें। अहिले पनि उहाँ दिनकै कविता पोस्ट गरि नै रहनुभएको छ। उहाँमा कवित्व छ भन्ने कुराको बलियो प्रमाण हो यो।

साझा प्रकाशनबाट प्रकाशित ‘परेवा र बाज’ कविता सङ्ग्रहभित्र ६० वटा फुटकर कविता सङ्कलित छन्। उहाँले नै सिर्जना गर्नुभएको पछिल्लो कृति ‘परेवा र बाज’ पढ्ने पढाउने खेलो गर्दै गर्दा मैले पनि पढें।

शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, वसन्ततिलका, इन्द्रवज्रा, तोटक, भुजङ्गप्रयात, मालिनी, स्रग्धरा, पञ्चचामर, भ्रमरावली, चित्रलेखा, कुसुमविचित्रा, फुल्लदाम, सारङ्गी/लीलाखेल जस्ता लगभग १८ वटा फरक फरक छन्दका कविता सङ्ग्र्रहमा सङ्गृहीत छन्। कविताहरू पाँचदेखि सात श्लोकसम्मका रहेका छन्। सबैभन्दा बढी शार्दूलविक्रीडित र मन्दाक्रान्ता छन्दमा कविताहरू रचना गरिएका छन्। आम प्रचलनभन्दा भिन्न लाग्ने सारङ्गी, फुल्लदाम, भ्रमरावली, चित्रलेखा, कुसुमविचित्राजस्ता छन्दहरूमा पनि कविको लेखनी रसाएको छ।

सुनारले सुनका ससाना टुक्राबाट हार बनाएजस्तै छन्द कविहरू पनि शब्दलाई त्यसरी नै तौलेर, नापेर र बान्की मिलाएर राख्छन् भन्ने कुरा मैले किताबमा पढेको हुँ। छन्द मिलेका कविता लय हालेर पढ्दा ती किताबमा लेखिएका कुरा सत्य रहेछन् भन्ने यस्तै अनुभूत हुन्छ। कविले पनि आफूले सिर्जना गरेका कवितामा छन्द र अलङ्कारको प्रयोगलाई निकै खिपेर, कुँदेर राखेका छन्।

भिन्चीले जो अनुकृति गरे चित्र मोनालिसाको

देख्छौं आफ्नै प्रतिछवि जहाँ हुन्छ ऐना सिसाको  स्रष्टा (पृष्ठ ३१)

श्रीलङ्का शिव, राम रोम, बिचरो माने छ मुग्लानमा

बिर्खे बेरुत, कालु काबुल पुग्यो जङ्गे छ जापानमा

बाध्यता (पृष्ठ ३५)

विदेशिनु रहर नभएर बाध्यता बनेको छ। मरेर जाने चोलामा आफ्ना बुबाआमा, श्रीमान–श्रीमती, छोराछोरी, इष्टमित्र, गाउँघर, समाज छोड्नुको पीडा शब्दमा वर्णनातीत छ। प्रथमतः काम नै नपाइनु, पाइहाले श्रमको सम्मान नहुनुजस्ता कुराले विदेसिनु परेको कुरा कविले शार्दूलविक्रीडित छन्दमा शब्दहरू बुन्छन्:

पढ्दैमा घरखेत बन्धक भयो घट्दै गयो तागत

खोज्दा काम मिलेन यो मुलुकमा खाडी पुगे अन्ततः

नेपाली श्रमले विदेश सजियो, केही कमाए पनि

बोकाझैं बलिको भईकन रहे जो बन्न खोज्थे धनी।

बाध्यता (पृष्ठ ३५)

विद्यालय तहमा भिन्न भिन्न लेखकका निबन्धका पुस्तकबाट ‘मेरो देश’, ‘राष्ट्रियता’, ‘देशभक्ति’, ‘हाम्रो संस्कृति’ जस्ता शीर्षकमा निबन्ध पढ्दा जुन फरकपन देखिन्छ, कविले पनि उल्लिखित शीर्षकजस्तै भाव झल्किने खालका फरक फरक छन्दमा कविताहरू सिर्जना गरेका छन्। देशप्रेमकै सन्दर्भमा कवितामा प्राकृतिक सम्पदाको वर्णनका साथै जातजाति, भाषाभाषी, धर्म, संस्कृति, चाडबाड, भेषभूषा, राष्ट्रिय विभूति, पूर्वीय दर्शन, हिमवत् संस्कृतिजस्ता समग्र सांस्कृतिक पक्षको उजागर गरेका छन्।  

फुली नौला नौला कुसुम सजिएका उपवन

मिठो बास्ना बोकी सबतिर पुगेको छ पवन

राष्ट्रचिन्तन ( पृष्ठ ९)

बोकी ऊर्जा जल हिमनदी भेट्न जान्छन् तराई

राई, लिम्बू, खस, मगर छन् छैन कोही पराई

देशभक्ति (पृष्ठ १०)

२१ औं शताब्दीका हामी मानव अझै पनि कथित जातीय छुवाछुतको दलदलमा फसेका छौं। कठै हाम्रो नियति ! देशमा जतिसुकै ठुलाठुला राजनीतिक क्रान्ति भए पनि अनि पहिचानका नारा उरालिए पनि हाम्रो सोचमा परिवर्तन आउन नसकेको कुरालाई कविले जोडदार रूपमा  उठाएका छन्।

कामी शोषित, गाइने दलनमा, सार्की सधैं हेलित

कस्तो शासनतन्त्र हो मुलुकमा सोधौं कता कोसित

कोली, डोम चमार मार सहँदै पर्ने सधैं पिल्सिन

चल्ने गर्दछ काम, दाम र कला पानी नचल्ने किन?

दलनको चलन (पृष्ठ ११)

सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत पक्षमा सुधार हुनका लागि देशमा ठुलै क्रान्तिको आवश्यकता रहेको कुरा कवि स्वीकार गर्छन्। पञ्चमहाभूत (आगो, पानी, आकाश, तेज, वायु) लाई क्रान्तिनायकका रूपमा खडा गर्दै कवि भन्छन्:

ल्या ए सूर्य ! प्रचण्ड ताप जगको सल्काइदे शोषण

हावा रौद्र भई उडा अब छिटो पापी छली दुर्जन

आस्था राष्ट्रियता सुशासन जहाँ हे¥यो उहीं दुर्दशा

गर्दै क्रान्ति मसाल बाल्न नसके फेरिन्न हाम्रो दशा

क्रान्ति निमन्त्रण (पृष्ठ ३७)

वर्तमान समयमा मानवता हराएको, लोकाचार बढेको, स्वार्थीपन बढेको कुरा कविताका उल्लेख्य विषयवस्तु बनेको छ। जीविकोपार्जनका लागि धन अत्यावश्यक वस्तु बनेको कुरा नकार्न सकिँदैन। सुखको स्रोत धन हो कि मन भन्ने विषय आफैमा बहसको विषय पनि बन्ला।

नीतिशतकमा भनिएको छः

यस्य नास्ति स्वयं प्रज्ञा, शास्त्रं तस्य करोति किं

लोचनाभ्यां विहीनस्य, दर्पणः किं करिष्यति

अर्थात् जो मनुष्यसँग आफ्नो स्वविवेक छैन, शास्त्रले त्यसलाई केही गर्न सक्दैन। जस्तो नेत्रविहीन व्यक्तिका लागि दर्पण व्यर्थ हुन्छ।

कवि पनि यस्तै जीवन दर्शन झल्किने भावना व्यक्त गर्छन्:

झुक्ने वृक्ष पछारिँदैन सजिलै आओस् ठुलो हुन्डरी

कालो दाग मुहारमा तर सधैं ऐना पुछें बेसरी।

मौरि सञ्चय गर्दछन् मह मिली लैजान्छ मान्छे लुटी

के पो लान्छ र साथ मानिस मरे खोलेर जान्छन् मुठी।

अज्ञान (पृष्ठ ५९)

वर्तमान विसङ्गत समाजबाट उत्पन्न भोगाइ र अनुभूतिका बाबजुद पनि कविले देशप्रेम र प्रकृतिप्रेमलाई केन्द्रबिन्दुमा राखेर थुप्रै कविता सिर्जिनु कविको सकारात्मक सोच, चिन्तन र कवित्व हो। कविता अभिनयात्मकभन्दा पनि गेयात्मक विधा हो। बजारमा अहिले कविता बढी अभिनयात्मक बन्न पुगेको अवस्था छ। विश्वविद्यालयीय तहमा अध्ययन गर्दै गर्दा रस, अलङ्कार जस्ता साहित्यिक तत्वको चर्चा र अध्ययन गर्दा म सधैं जहाँ पनि एउटै मात्र सोच्ने गर्थें।

साहित्यमा सबैभन्दा बढी लेखिने विधा कविता तर उत्कृष्ट चाहिँ एकादुई भन्ने कुरा बुझेपछि मेरो अल्पज्ञताको समाधान भएको हो। कवि पाण्डेयमा कवितात्मक उत्कृष्टताको सम्भावना देखिन्छ। यद्यपि सरलतामा मिठासपूर्ण अभिव्यक्ति दिँदा नै कविता मिठो हुन्छ। उनका कविता जटिलतातर्फ उन्मुख भएको अनुभूत ठाउँ ठाउँमा हुन्छ। कविताहरू पढ्दै गर्दा शीर्षकसँगै कुन छन्दमा रचना गरिएको र गण सूत्र पनि सँगै राखिदिन सकेको भए नवआगन्तुक छन्दप्रेमीहरूका लागि सुनमा सुगन्ध हुने थियो। 

प्रकाशित: ११ चैत्र २०७९ ०१:४१ शनिबार

अक्षर