कला

नारीचेतना मुखरित गर्ने कथा

पुस्तक

कथा साहित्यको लोकप्रिय विधा हो। यसको इतिहास मानव उत्पत्तिको इतिहाससँगै गाँसिएको छ तर संसारमा आधुनिक कथा लेखनको परम्परा अमेरिकी कथाकार एडगर एलेन पोबाट सुरु भएको हो। रामायण र महाभारतजस्ता संसारकै लोकप्रिय कृतिले कथाकै कारणले प्रसिद्धि फैलाएका हुन्। नेपालमा आधुनिक कथा लेखनको परम्परा गुरूप्रसाद मैनालीद्वारा थालनी भएको हो। मैनालीले थालनी गरेको कथाको धारा आदर्शोन्मुख सामाजिक यथार्थवादी धारा हो। त्यसपछि कथाकार विश्वेश्वरप्रसाद कोइरालाका कथामा यौन मनोवैज्ञानिक धाराको थालनी भयो।

कथाकार शशी थापा पण्डितद्वारा लिखित ‘उठ तिलोत्तमा’ समस्याप्रधान सामाजिक यथार्थवादी कथासङ्ग्रह हो। यसलाई युरेका पब्लिकेसनले बजारमा ल्याएको हो।

यस सङ्ग्रहमा लिमीको त्यो रात, माटो पलायन, दस्तखत, बुढी बेहुली, मुक्ति, पासो, जोगिराम भोरुवा, उठ तिलोत्तमा!, मृत्यु–आभास, आजको मुनामदन, के आउला त्यो दिन?, प्रश्नको पहाड, कोरोनामा रेमिट्यान्स, आखिर ऊ पनि त मानिस नै थियो, म रोहिणी लेख्दै छु, बुद्धको कथा गरी जम्माजम्मी पन्ध्रवटा कथा सङ्कलित छन्। कथाकारले आफ्ना कथामा हिन्दु मिथक र संस्कृतिका विविध मूल्यमान्यताका आधारमा नयाँ अवधारणा पस्केकी छन्।

पश्चिमी मुलुकका प्रसिद्ध यौनमनोवैज्ञानिक सिग्मन्ड फ्रायडभन्दा हाम्रा ऋषिमहर्षिहरू यौनप्रति बढी उदार भएको तर्क कथाकार थापाले कथामा प्रस्तुत गरेकी छन्। उनले महाभारतका तीन नारी पात्र सत्यवती, कुन्ती तथा माद्रीलाई उदाहरणका रूपमा प्रस्तुत गरी तिनीहरूले परपुरुषबाट आफ्ना सन्तान कुन्तीले कर्ण सूर्यद्वारा, युधिष्ठिर धर्मराजद्वारा, भीम वायुद्वारा, अर्जुन इन्द्रद्वारा र माद्रीले नकुल र सहदेव अश्विनीकुमारद्वारा जन्माएको प्रसङ्ग उल्लेख गरेकी छन्।

यसै सन्दर्भलाई जोडी ‘उठ तिलोत्तमा’ शीर्षकको कथामा कथाकार थापाले तिलोत्तमाका क्षत्रीय पति अभयराजलाई ब्राह्मण परशुरामले आफ्नो बन्चरोले क्षत्रीको विनाश गर्ने अभियानमा हत्या गरेपछि आफ्नो लोग्नेको रक्ताम्य लासमा घोप्टो परेर रोइरहेकी तिलोत्तमालाई अब नरोऊ, बरु ब्राह्मण पति माधवलाई अँगालेर नियोग प्रथाबाट क्षत्री सन्तानको जन्म दिई क्षत्रीय वंशको संरक्षण गर भन्ने मूल अर्थमा यस सङ्ग्रहको प्रतिनिधित्व गर्ने कथा ‘उठ तिलोत्तमा’ले शीर्षक चयनको सार्थकता पाएको देखिन्छ।

नेपालमा पछिल्ला केही वर्ष यता जातीय शीतयुद्धको विभीषिकाले मलजल पाएको छ। अदृश्य रूपमा यहाँको राजनीतिमा जातीय युद्ध भइरहेको कता कता रमरम अनुभूति हुन्छ। जसलाई कलात्मक अभिव्यञ्जना दिने काम कथाकार थापाले यस कथामा गरेकी छन्। यसका साथै विधवा विवाहले सामाजिक रूपमा स्वीकृति पाउनुपर्छ भन्ने सन्देश पनि यो कथाले दिएको छ।

नेपालमा प्रेस स्वतन्त्रता प्राप्त भएपछि धेरै नारी स्रष्टाहरू देखा परेका छन्। नारीमा जाग्रत् चेतना सशक्त थियो भन्ने प्रमाणका रूपमा कथाकार थापाका कथा आएका छन्। ‘लिमीको त्यो रात’, ‘दस्तखत’, ‘बुढी बेहुली’, ‘पासो’, ‘उठ तिलोत्तमा’, ‘जोगीराम भोरुवा’ शीर्षकका कथामा यौनसमस्या मुखरित भएको पाइन्छ।

कथाकार थापाका कथा क्षत्रीय अध्ययनमा आधारित छन्। यी कथा थापाले तत्तत् क्षेत्रमा पुगेर जस्ताको त्यस्तै टपक्क टिपेर ल्याएकी छन्।

‘लिमीको त्यो रात’ कथामा तामाङबाला फुर्वाको मिठो आतिथ्य सत्कारको वर्णन छ। हुम्लाकी कुमारी आमा र समाजको दृष्टिकोणको कुरा यस कथामा छ। डोल्पामा अहिले पनि बहुपति प्रथा कायमै छ र यसको असरको कुरा छ कथामा। स्थानीय भाषाशैलीको प्रयोगले कथालाई जीवन्त तुल्याएको छ। जस्तैः ‘त्यस्तो गर्न पाउँदोइन है ताँइले। केई पाउँदोइनस्, अब सुत्न पाउँछोस्, सुत्।’

यो कथा वास्तवमै कथासङ्ग्रहको उत्कृष्टमध्येको एक कथा रहेको छ। महिलामा रहेको पाठेघर उसको अस्तित्व समाप्त गर्ने पासो हो भन्ने नयाँ प्रयोग कथाकारले ‘पासो’ शीर्षकको कथामा गरेकी छन्।

‘बुढी बेहुली’ कथाले दोलखाका थामी जातिको बिहेबारीको संस्कारलाई प्रस्तुत गरेको छ, जसअनुसार बेहुलाबेहुलीले सन्तान जन्माएर ती सन्तानको बिहे गर्ने समयमा आफ्नो बिहे गर्ने अनौठो चलनको उद्घाटन गरेको छ। बाबुको बिहे हेर्लास् भन्ने हाम्रो समाजमा प्रचलित उखानलाई र मान्यतालाई चरितार्थ गरेको छ। छोराछोरी आफ्नै बाआमाको जन्त जाने विचित्रको संस्कृति त्यहाँका थामी जातिले संस्कारका रूपमा अपनाएका छन्।

‘दस्तखत’ कथाले लोग्नेस्वास्नीको सम्बन्ध विच्छेदको घटनालाई प्रस्तुत गरेको छ। आजका महिलामा आएको आत्मविश्वास यो कथामा देख्न सकिन्छ। मुक्ति कथाले धर्म निरपेक्षताको परिणाम हिन्दु धर्म कमजोर भएको सन्देश दिएको छ। हिजोका दिनमा मानसरोवर कैलाश नेपालमा भएको तथ्यको उद्घाटन पनि गरेको छ। मुनामदन कथाले हिजो भोट जाने युवाहरू आज खाडी मुलुकतिर जाँदै छन् भन्ने सन्देश दिएको छ। ‘जोगीराम भोरुवा’ कथाले थारु विधवा महिलाको विवाह प्रथालाई रोचक तरिकाले प्रस्तुत गरेको छ। ‘मृत्यु–आभास’ कथाले माओवादी जनयुद्धका बेला राज्यसत्तामा भएकाको पीडालाई प्रस्तुत गरेको छ। समग्रमा प्रस्तुत कथासङ्गहमा सङ्कलित कथामा नवीन शैली र शिल्पको प्रयोग भएको पाइन्छ।

‘उठ तिलोत्तमा’ कथाले अन्धभक्त संस्कृतिको अन्त्य गरी समतामूलक समृद्ध र सुसंस्कारयुक्त समाजको परिकल्पना गरेको छ। अन्धकार र अन्धविश्वासमा कुहिराको काग बनेका दूरदराजका महिलावर्गलाई नारीजागरणको सशक्त चेतना यो कथाले प्रदान गरेको छ। जस्तै–‘उठ तिलोत्तमा, तिमी बाँच्नुपर्छ। तिम्रो लोग्ने नउठ्ने गरेर ढलिसक्यो। उसको अस्तित्वको रक्षा अब बाँचेर तिमीले गर्नुपर्छ।’

सशक्त एवम् जाग्रत नारीचेतनाको आवाज मुखरित हुनु, नेपालका दुर्गम स्थानहरू र हिमाली भेगमा स्वयं कथाकार पुगी सामाजिक यथार्थको उद्घाटन गर्नु, यौन समस्या होइन बरु यो समाधान हो भन्ने चेतनाको पुष्टि पूर्वीय आर्य सभ्यताका आधारमा गर्नु, नेपालभित्रको सांस्कृतिक विविधताको प्रस्तुति गर्नु, कथामा स्थानीय भाषाशैलीको प्रयोग गरी भाषिक प्रस्तुतिलाई तिक्खर बनाउनु, नारीवादलाई मूल आधार बनाई कथाको रचना गर्नु, रामायण, महाभारत आदि जस्ता धार्मिक ग्रन्थलाई आधार बनाई नारी अधिकारको पुष्टि गर्नु, शान्तिप्रतिको अनुराग, बुद्ध भावना र देश दुखेको पीडाबोध गर्नु आदि कथाकार थापामा प्रवृत्तिगत विशेषता हुन्।  

प्रकाशित: ११ चैत्र २०७९ ०१:२६ शनिबार

अक्षर