कला

शब्दकोश संशोधन शुरु

काठमाडौं- नेपाल प्रज्ञा-प्रतिष्ठानले 'नेपाली बहत् शब्दकोश'को दसौँ संस्करण संसोधन कार्य शुरु भएको छ। संसोधनका लागि प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा समिति गठन गरि काम शुरु भएको हो।

गत कात्तिक ३० गते बसेको प्राज्ञपरिषद्को बैठकले नवौँ संस्करणका केही प्रविष्टि सच्याउने निर्णय गरेको थियो। सोही बैठकको निर्णयअनुसार शब्दकोश संशोधन गरी दसौँ संस्करण तयारी गर्न समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ। 

दसौँ संस्करण संशोधन तथा तयारी समितिमा प्रा. गोपीकृष्ण शर्मा, डा. तुलसी भट्टराई र सहप्राध्यापक हेमनाथ पौडेल सदस्य रहेका छन्। परिमार्जित शब्दकोशमा सच्याइएका विषयमा प्राविधिक सरसल्लाहका लागि प्राविधिक परामर्शदाताका रुपमा डा. कर्णाखर खतिवडालाई मनोनयन गरिएका प्रतिष्ठानले उल्लेख गरेको छ । 'शब्दकोश सच्याउने काम शुरु भएको हो ,'समितीका सदस्य सह प्राध्यापक हेमनाथ पौडेलले नागरिकसँग भने,' अहिले पनि त्यसैको बैठक चलिरहेको छ ,सँगै काम पनि भैरहेको छ।' उनका अनुसार खुट्टा काटिएका शब्दहरुको परिमार्जन पहिलो प्राथमिकतामा परेको छ। 'त्यतिबेला युनिकोडको समस्याले पनि यस्तो निम्त्याएको हो ,'उनी थप्छन् ,'अब त्यसो हुन्न।'

कुलपति उप्रेतीले नवौँ संस्करणमा भएका प्रविष्टिले विवाद र प्रयोगकर्तालाई असहजता निम्ताएकाले सच्याउन थालिएको बताए। उनका अनुसार  सच्याइएपछि प्रतिष्ठानको वेभसाइटमा संशोधित संस्करण राखिनुका साथै प्रकाशन पनि गरिने छ।   

प्राज्ञ–परिषद्को निर्णयअनुसार नेपाली बृहत् शब्दकोशको नवौँ संस्करणमा प्रयोग भएको वर्णविन्यासका सच्याइने पक्षहरूसमेत सार्वजनिक गरिसकेको छ। जसअनुसार संयुक्त व्यञ्जन वर्णको व्यवस्थापनमा ‘द' वर्णसँग जोडिएर आउने शब्दका मूल व्यञ्जनको खुट्टा नकाट्ने। जस्तोः बुद्ध, युद्ध, द्वन्द्व, विद्यालगायतका शब्दहरू। नयाँ मानक बनाउन खोज्नेले बुध्द, युध्द, द्वन्द्व पारेका थिए।

अन्य वर्णबाट बनेका संयुक्त व्यञ्जन प्रयोग भएका प्रविष्टिलाई नेपाली बृहत् शब्दकोशका २०५८, २०६७ का प्रविष्टि अनुकूल राख्ने। त्यसैगरी पदयोग र वियोगका सम्बन्धमा एकल अर्थ दिने व्यक्तिका नाममा पहिला दुई शब्द जोडेर लेख्ने। तर, व्यक्तिनाम व्यक्तिको पहिचानसँग जोडिएकाले कुनै व्यक्तिले इच्छाअनुसार छुट्याएर लेखेमा अन्यथा नमान्ने। लिपिचिह्न गणना नगरी एकार्थी स्थान नाम, दिनको नाम शब्दलाई पदयोग गरेर लेख्ने। त्यसैगरी, विभक्ति चिह्न र नामयोगीलाई पूर्व प्रचलनअनुसार मूल शब्दसँग योग गरेर लेख्ने। तर, पूर्वकालिक अपूर्ण, पूर्ण र सामान्य भविष्यत् क्रियालाई छुट्याएर लेख्ने।

ह्रस्व–दीर्घ र इकार सम्बन्धमा पनि पुरानै मानकलाई प्रतिष्ठानले मान्यता दिएको छ। जात, थर बुझाउने पहिचानसँग जोडिएका सबै शब्दका अन्तिम ईकार र ऊकार दीर्घ लेख्ने।विवादित स, ष, श को प्रयोग २०५८ र २०६७ को नेपाली शब्दकोशका संस्करणबमोजिम नै गर्ने निर्णय भएको छ। तर, पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने श लाई जातिले प्रचलनमा ल्याएअनुसार गर्न सकिने जनाईएको छ।

विस्थापित प्रविष्टिलाई पूर्व संस्करणबमोजिम नयाँ संस्करणमा सच्चिँदैछ। नेपाली बृहत् शब्दकोश २०४० मा प्रविष्टि पाएका तर आगन्तुक र तद्भव शब्दको व्यवस्थापनमा परिवर्तन भएका शब्दहरूका प्रविष्टिलाई वैकल्पिक प्रविष्टिको रूपमा शब्दकोशमा समावेश गर्ने र त्यस्ता प्रविष्टिको अर्थ लेख्दा मानक प्रविष्टिका अर्थलाई हेर्नुसमेत भनेर जनाइँदैछ। फूल, फुल, जुन, जून, पुरा, पूराजस्ता सुन्दा एउटै लाग्ने तर अर्थ फरक दिने शब्दको प्रविष्टि र अर्थ पनि फरकफरक दिइने भएको छ।

नेपाली भाषाको एउटै मानक निर्धारण गर्न सरोकारवाला निकायहरूसँग छलफल चलाउने तयारी प्रतिष्ठानले गरेको उनको भनाइ छ।

संयुक्त अक्षरलाई सरल बनाउन खुट्टा काटेर लेख्ने भन्ने विवाद २०६९ सालको निर्णयले उब्जाएको हो। यो निर्णयसँगै औपचारिक रूपमा भाषा कस्तो बनाउने भन्ने पहल गरिरहेका संस्था प्रज्ञा–प्रतिष्ठान र त्रिविको केन्द्रय नेपाली विभाग दुवै विवादमा तानिए। सडक,संसद र अदालत हुँदै नेपाली शब्दकोशका भाषा पुरानै मानक अनरुप सच्याइन थालेको हो।

प्रकाशित: २३ मंसिर २०७३ ०३:३२ बिहीबार

शब्दकोश संशोधन शुरु