कला

राष्ट्रियता

कविता

गोधूलि साँझ

घाम निभेको आकाश हुँदै

जब एउटा जहाज पश्चिमतिर हानिन्छ

मेरो घरको छत थर्थराउँछ

छतमाथिको बाक्लो सेतो हुस्सु

जहाज समाउन पछिपछि भाग्छ

जब सक्तैन समाउन जहाजको पुच्छर

जब सक्तैन रोक्न वायुयानको वेग

गएकै बाटो कालो अनुहार लिएर फर्कन्छ

र मेरो छतमाथि नै उभिएर

बर्सातको आँसु खसाल्छ

डुबिसकेको घाम

निमेषभरका लागि डाँडाको चेपबाट उदाउँछ

र,रक्तिम आभाको चर्को आलोकमा

हवाइमार्ग अवरुद्ध गर्न संघर्ष गर्छ

मेरो छतको छातीमा छ राष्ट्रियता

मेरो देशको हुस्सुमा छ राष्ट्रियता

मेरो परिवेशमा उदाउने घाममा छ राष्ट्रियता

सन्तान विछोडको यादमा रुने बादलमा छ राष्ट्रियता

साँच्चै! अन्त कता कता बाँचेको होला खै

मेरो प्यारो राष्ट्रियता?

प्रकाशित: ९ चैत्र २०७९ ०७:२५ बिहीबार

अक्षर