बिरामी साथीलाई सरकारी अस्पतालको इमरजेन्सीमा पुर्याएपछि सन्तोषको सास फेरें। ‘अब त ज्यान बचाउन सकिन्छ कि!’ मनभित्र आशा पलायो।
विस्तारामा लमतन्न सुतेपछि उसले मतिर पुलुक्क हेर्यो। मलिन मुस्कानले उसको आशातित हेराइलाई स्वागत गरें।
त्यही बेला टुप्लुक्क डाक्टर साहेब आइपुगे। बिरामी जाँचे। एउटा पेपरमा किरिङमिरिङ अक्षर लेखिदिए र भने, ‘यो औषधि लिएर आउनुस्।’
औषधि किनेर फर्किँदा डाक्टर साहेब बिरामीतिर हेर्दै फतफताइरहेका थिए, ‘हाम्रो शरीर स्वस्थ्य राख्न सरसफाइमा ध्यान दिनुपर्छ। आफ्नो मात्र कहाँ हो र, घर, शौचालय, कोठा सबै सफासुग्घर राख्नुपर्छ। मैले यहाँ अस्पताल सफा राख्न नि यस्तै सुझाव दिने गरेको छु।’
केही क्षण यस्तै सुझावका असिना बर्साएपछि डाक्टर साहेब निस्किए।
‘म एकछिन ट्वाइलेट गएर आउँछु है?’ मैले बिरामीसँग अनुमति मागें। उसले मलाई पुलुक्क हेर्यो मात्र, केही बोलेन।
अस्पतालको कुनापट्टि रहेछ शौचालय, लुसुक्क छिरें। एक्कासि नाकमा कडा दुर्गन्ध ह्वात्तै छिर्यो। वरिपरि नियालें। दिसापिसाब ढलमा लैजाने पाइप थुनिएरै होला फोहर भुइँभरि छ्यालब्याल देखियो। भुइँमा लेउ लागेको थियो। भित्तामा गुट्खा र पान खाएर थुकेका धब्बा थिए। बँचेको भित्तामा अश्लील शब्द र तस्बिर कोरिएका देखिन्थ्यो। पानी थिएन। बाल्टिन कुनापट्टि पल्टिएको थियो। फ्लस चल्थेन। हात धुने साबुन त आकाशको फल नै होला।
झलक्क डाक्टर साहेबको सुझाव सम्झें,‘हो डाक्टर साहेब, तपाईंको सुझाव असिना झरेपछि पग्लिएर गएझैं माटोमा बिलाउने रैछ। नत्र अस्पतालको यो हालत कसरी हुन्थ्यो र?’
मन भित्रभित्रै उकुसमुकुस भयो। अर्को विकल्प थिएन। काम त चलाउनै पर्यो। चुकुल लगाउन खोजें। चुकुल त भाँचिएर ठुटो मात्रै रहेछ। नजिकै डोरी बाँधेको देखें। डोरीले ढोका तानेर बस्नुपर्यो भनेको त्यै पनि चुँडिएको रहेछ। एक्कासि रिंगटा लाग्यो। त्यसपछि केही थाहा पाइनँ।
आँखा खोल्दा बिरामी साथी नजिकैको बिस्तारामा आफूलाई पाएँ। नजिकै बसेर उनै डाक्टर साहेबले उही सुझावका असिना बर्साइरहेका थिए।’
प्रकाशित: ९ चैत्र २०७९ ०४:२७ बिहीबार