कला

'सेतो सूर्य'लाई ४२ लाखको अवार्ड

काठमाडौं- नेपाली फिल्म 'सेतो सूर्य' सिंगापुरको प्रतिष्ठित फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट ठहरिएको छ। २७औं सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दीपक रौनियार निर्देशित फिल्मले शनिबार साँझ 'बेस्ट एसियन फिचर फिल्म' घोषित हुँदै 'सिल्भर स्त्रि्कन अवार्ड' जितेको हो। सिंगापुर फेस्टिभलको यो नै मुख्य अवार्ड हो।

अवार्ड, प्रमाणपत्रसहित 'सेतो सूर्य'ले ५५ हजार ५ सय सिंगापुर डलर अर्थात् करिब ४२ लाख ५४ हजार रुपैयाँ पुरस्कार जितेको छ। पुरस्कार स्वरुप अहिले १० हजार सिंगापुर डलर अर्थात् साढे ७ लाख रुपैयाँ नगद दिइनेछ भने बाँकी ४५ हजार ५ सय सिंगापुर डलर अर्थात् ३५ लाख रुपैयाँ चाहिँ अर्को फिल्मको प्राविधिक कार्यका उपलब्ध गराइनेछ।

फेस्टिभलका विभिन्न सेक्सनमा विश्वका १ सय ६० भन्दा बढी फिल्मको सहभागिता थियो। फेस्टिभलमा एसियाली फिल्मबीच मात्र प्रतिस्पर्धा हुन्छ। प्रतिस्पर्धामा 'सेतो सूर्य'सहित सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, ताइवान, फिलिपिन्स, बंगलादेश र टर्कीका समेत गरी १० वटा फिल्म छानिएका थिए।

'अन्तर्राष्ट्रिय फिल्मकर्मी र मिडियामा नेपाली फिल्मले पनि महोत्सवको मुख्य टाइटल जित्नसक्ने उदाहरण प्रस्तुत गर्न पाउँदा गर्वान्वित छु,' आइतबार सिंगापुरबाट काठमाडौं आइपुगेका निर्देशक रौनियारले भने, 'यो अवार्डले म र अरु नेपाली फिल्मकर्मीका लागि नयाँ ढोका खोलिदिएको छ।'

शुक्रबारदेखि नेपालका हलमा रिलिज हुन लागेको 'सेतो सूर्य'मा दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बानियाँ, दीपक क्षेत्रीलगायतको मुख्य भूमिका छ। सिंगापुर फेस्टिभलमा निर्देशकसँग अभिनेता दयाहाङ पनि सहभागी थिए। 'फेस्टिभलमा पुग्दा हाम्रो फिल्मको एक प्रकारको माहोल बनिसकेको थियो,' दयाहाङले थपे, 'अवार्ड जितेपछि बलिउडका फिल्म निर्देशक अनुराग कश्यपदेखि हङकङका अभिनेता साइमन यामसम्मले हामीलाई बधाई दिए।'

फेस्टिभलमा अरु देशका फिल्मकर्मी, फेस्टिभल आयोजक र दर्शकहरुको आत्मीय व्यवहारबाट दयाहाङ प्रभावित भएका छन्। 'फिल्मलाई गम्भीर माध्यमका रुपमा लिनेहरूको उपस्थिति त्यहाँ पाएँ,' उनले भने, 'मलाई अब पटकपटक अन्तर्राष्ट्रिय फेस्टिभल गइरहनुपर्छ भन्ने महसुस भएको छ।'

अहिलेसम्म १८ वटा प्रतिष्ठित फिल्म फेस्टिभलमा सहभागी भइसकेको 'सेतो सूर्य'को नेपाल प्रिमियर चाहिँ बिहीबार राजधानीको कुमारी सिनेमा हलमा सुरु हुन लागेको 'काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल'मा हुँदैछ। रसियन कल्चरल सेन्टरमा समेत चल्ने पाँचदिने फेस्टिभलको उद्घाटन नै यही फिल्मबाट हुनेछ। नेपालका दर्शकले पनि फिल्म रुचाउनेमा निर्देशक रौनियार आशावादी छन्।

आइतबार सम्पन्न बाह्रदिने सिंगापुर फिल्म फेस्टिभलको 'एसियन फिल्म कम्पिटिसन'मा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन र उत्कृष्ट अभिनय विधामा प्रतिस्पर्धा भएको थियो। 'सेतो सूर्य'ले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो। उत्कृष्ट निर्देशन र अभिनयको अवार्ड बंगलादेशी फिल्म 'लाइफ फ्रम ढाका'ले हात पार्‍यो। प्रतिस्पर्धी फिल्महरुको मूल्यांकन जापानी फिल्मकर्मी नाओमी कावासेको संयोजन रहेको निर्णायक मण्डलले गरेको थियो।

'सेतो सूर्य'बाट प्रभावित भएर प्रमुख निर्णायक नाओमीले जापानको आफ्नो सहरमा हुने फिल्म फेस्टिभलमा पनि निर्देशक रौनियारलाई निम्तो दिएकी छन्। 'एसियाका राम्रा वितरण कम्पनीले फिल्म किन्नेछ भन्ने हाम्रो विश्वास छ, पोहोर पनि यसै फेस्टिभलमा उत्कृष्ट बन्न सफल भारतीय फिल्मले राम्रो वितरक कम्पनी पाएको थियो,' रौनियारले भने।

प्रकाशित: २० मंसिर २०७३ ०३:१८ सोमबार

सूर्यलाई ४२ लाखको अवार्ड