कृष्णदेव रिमाल शब्दसेना
‘अहो भाइ! धन्न तपाईसँग भेट भयो। म त चिनेको मान्छे कोही नभेटेर फर्किन लागेको थिएँ। मेरा साथीहरू त रिटायर्ड भए होलान् लौ! जुनियरहरू कोही न कोही भेटिनुपर्ने नि! कोही छैनन् त! यो हेड अफिस त निराज्या मुलुक जस्तो लाग्यो मलाई’ आफूले चालीस वर्ष काम गरेको अफिसको न्याँस्रो लागेर एक दिन अकस्मात देखिनुभएको अवकाशप्राप्त दिदीले मसँगको भेटमा भन्नुभयो।
मैले सान्त्वना दिन खोजें,‘मानिसहरू सरुवा हुन्छन् नि दिदी! तपाईको पालामा जस्तो बिसौं वर्ष एकै सिटमा हुँदैनन् नि अचेल कर्मचारी। मसँग त भेट्नुभयो नि!’
‘अचेलका जागिरे मान्छे देखेर मलाई त अचम्म लाग्यो भाइ। ऐरेगैरे जम्मैले जागिर खान थालेछन्। संस्कार नभएका छाडा मान्छेहरू’ उदेकलाग्दो कुरा कुरा गर्नुभयो उहाँले।
‘अनि ऐरेगैरे भनेको चाहिं कस्तो नि दिदी! सेवा आयोगले परीक्षा लिएर पास भई आएका कर्मचारीलाई त्यसो भन्न मिल्छ र भन्या’ मेरो मनको उदेक प्रश्न बनेर पोखियो उहाँको कानमा।
मेरो कुरा सुनेर उहाँले ओठ लेप्रयाउँदै ‘नाप्यो खुब!’ भन्नुभो। यसो भन्दै गर्दा उहाँले आफ्नो दाहिने हर्थुङ्गो पनि देब्रे हत्केलामा प्लित्त चिप्ल्याउनुभयो। मलाई झन खुलदुली जाग्यो।
अर्को जिज्ञासा राखें, ‘ऊबेला कस्ता हुन्थे त जागिरेहरू दिदी?’
यस प्रश्नको जवाफ सुनेपछि म अवाक् भएँ र उहाँलाई नमस्कार गरेर बिदा गरें। उहाँको अन्तिम जवाफ यस्तो थियो, ‘हाम्रा पालामा त भाइ! कोही माननीयका छोरा हुन्थे। कोही सभापतिका छोरी हुन्थे। चुत्थैमा पनि प्रधानपन्चको छोराछोरी हुन्थे हुन्थे। मेरो बुवा पनि त अञ्चलाधीश हुनुहुन्थ्यो। बाबुले चिन्यौ कि चिनेनौ साँच्चि?’
प्रकाशित: ६ चैत्र २०७९ ०७:०७ सोमबार