कला

निर्माताको अध्यक्षमा आकाशको उम्मेदवारी

काठमाडौं- निर्माता तथा निर्देशक आकाश अधिकारीले नेपाल चलचित्र निर्माता संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। बिहीबार नयाँ बानेश्वरमा प्यानलसहित अधिकारीले निर्माता संघको आउँदो कार्यकालका लागि चुनाव लड्ने घोषणा गरेका हुन्। कार्यक्रममा अधिकारीले द्वितीय उपाध्यक्ष बाहेकका १४ पदको नाम सार्वजनिक गरेका हुन्।

बिहीबार गरिएको घोषणा अनुसार आकाश अधिकारीको प्यानलबाट छविराज ओझा महासचिव, सुशील पोखरेल कोषाध्यक्ष र गोविन्द शाहीले सचिवमा उम्मेदवारी दिनेछन्। त्यसैगरी सदस्यमा भने करिश्मा मानन्धर, दीपकराज गिरी, दीपेन्द्र के खनाल, निश्चल बस्नेत, निकिता पौडेल, योगेश घिमिरे, भानुप्रताप, रौनकविक्रम कँडेल, चेतन सापकोटाले उम्मेद्वारी दिने घोषणा गरेका छन्। उपाध्यक्षका दुई पदको भने टुंगो नलागेको आकाशले बताए।

कार्यक्रममा आफ्ना एजेन्डाहरु प्रस्तुत गर्दै आकाश अधिकारीले चर्चामा रहेको बक्स अफिससँगै सुस्त रहेको निर्माता संघलाई चलायनमान बनाएर निर्माताको हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

'निर्माताको हकहितका लागि स्थापना भएको संस्था बीचको समयमा हराएजस्तै भएको थियो। हामीले यो पटक भने निरन्तर फिल्म बनाइरहेका निर्मातालाई  संघमा समेटेर यसलाई गतिशील बनाउने लक्ष्य लिएका छौं,' अधिकारीले भने, 'त्योसँगै बक्स अफिस, फिल्मनीति, बजारको खोजी, पाइरेसी लगायत अन्य थुप्रै एजेन्डा लिएर त्यो पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ।'

पछिल्लो समयमा बक्स अफिस प्रणाली लागू लगाउने कुरामा मुख्य दुई स्टेकहोल्डर निर्माता संघ र चलचित्र संघ सहमत भए पनि सर्भर कहाँ राख्ने भन्ने बहसमा छन्। बिहीबारको उम्मेद्वारी घोषणा सभामा पनि निर्माता तथा वितरक प्रदीप उदय र चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई सार्वजनिक बहसमा उत्रिए।

उदयले बक्स अफिस सर्भर निर्माता वा चलचित्र संघको मातहतमा रहनुपर्ने जिकिर गर्दा राईले सबै संघसंस्थाका प्रतिनिधिको समिति बनाई सर्भर चलचित्र विकास बोर्डमै रहनुपर्ने तर्क गरे।

कार्यक्रममा दीपकराज गिरीले भने हलवालाले निर्मातालाई अन्याय गरेको दावी गरे। उनले पछिल्लो समय सर्वाधिक चलेको फिल्म 'छक्का पन्जा'बाट आफूले जम्मा ३० प्रतिशत हिस्सा मात्र हात परेको बताउँदै हप्तैपिच्छे घट्ने निर्माताको प्रतिशत जायज नभएको बताए।

'हामी चाउचाउ किन्न गयौं भने कुनै पनि पसलेले पहिलो हप्तामा चाउचाउको पैसा यति दोस्रो हप्ता यति भनेर तोक्दैन। हाम्रो फिल्म पनि त्यस्तै प्रडक्ट हो। तर हलवालाले हरेक हप्तासँगै प्रतिशत घटाउँदै लैजान्छन्, यो सही भएन,' उनले भने।

नेपालमा पहिलो हप्ता निर्माता र हलवालाले कुनै पनि फिल्म चलाएवापत् ५० प्रतिशत सेयर पाउँछन् भने सोही फिल्म दोस्रो हप्ता पुग्दा निर्माताले  ४० प्रतिशत पाउने अभ्यास छ। तर तेस्रो हप्ताबाट भने निर्माताले जम्मा ३० प्रतिशत मात्र पाउँछन्।

'यहाँ नेपाली फिल्म ७० प्रतिशत अकुपेन्सी हुँदा पनि विदेशी फिल्म आयो भने फिल्म हलबाट उतारेका उदाहरण छन्। निर्मातामाथि अन्याय भइरहेको छ,' गिरीले भने।

निर्माता संघको चौधौं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ। पुस २ गतेका लागि साधारणसभाको मिति तोकिएको छ।

प्रकाशित: १७ मंसिर २०७३ ०४:२० शुक्रबार

निर्माताको अध्यक्षमा आकाशको उम्मेदवारी