कला

सम्पादक लक्ष्मण र विमल सम्मानित, पारस र रोयल पुरस्कृत

साहित्यिक पत्रकार संघले चार सम्पादक (कपी एडिटर) लाई सम्मानित तथा पुरस्कृत गरेको छ। संघको स्थापना भएको ५० वर्षको अवसरमा गत २०७९ साउन २९ बाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सव मनाइँदै आएको छ। स्वर्ण महोत्सवको अवसरमा संघले काठमाडौंमा एक समारोह बिच दुई पुस्तक सम्पादकलाई सम्मानित र दुई पुस्तक सम्पादकलाई पुरस्कृत गरेको छ।

संघबाट सम्मानित हुने पुस्तक सम्पादकहरूमा प्राडा लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी रहेका छन्। यस्तै पुरस्कृत पुस्तक सम्पादक (कपी एडिटर) मा पारसप्रकाश नेपाल र रोयल आचार्य छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे।

तीन दर्जनभन्दा बढी साहित्यिक कृति सम्पादन र डेढ दर्जन कृति सिर्जना गरेर नेपाली साहित्यमा योगदान पुर्‍याएको भन्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राडा लक्ष्मणप्रसाद गौतमलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान-२०७९’बाट सम्मानित गरिएको हो।

यस्तै एक सयभन्दा बढी पुस्तक, आधा दर्जन साहित्यिक पत्रिका सम्पादन गरेर तीन दशकभन्दा लामो समयदेखि कपी एडिटरको रूपमा सम्पादन क्षेत्रमा योगदान दिएको भन्दै सम्पादक विमल भौकाजीलाई पनि ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान-२०७९’ बाट सम्मानित गरिएको आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीले बताए।

कान्तिपुर दैनिकमा दुई दशकदेखि कपी एडिटरको रूपमा रहेका पारसप्रकाश नेपालले दुई दशकभन्दा लामो समयदेखि एक सयभन्दा बढी कृतिको सम्पादन गरेकाले उनलाई ११ हजार १ सय रुपैयाँसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार-२०७९’ बाट पुरस्कृत गरिएको हो।

यसैगरी एक दशकभन्दा लामो समयदेखि कपी एडिटरको रूपमा सक्रिय रोयल आचार्यले एक दर्जनभन्दा बढी कृतिको सम्पादन गरिसकेकाले उनलाई ५ हजार ५ सय रुपैयाँसहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार-२०७९’ बाट पुरस्कृत गरिएको पनि संघका अध्यक्ष लेकालीले कार्यक्रममा बताए।

नेपालमा साहित्य कृतिका कपी एडिटरलाई पुरस्कृत तथा सम्मानित गर्ने कार्य संघबाट आफूहरूले यसपटकबाट थालेको पनि अध्यक्ष लेकालीले बताए।

नेपाली कृतिहरूलाई राम्रो बनाउन कृति सम्पादकको महत्त्वपूर्ण भूमिका रहने गरेको उपकुलपति शम्भु राईले कार्यक्रममा बताए। कृति सम्पादकहरू जहिले पनि छायामा पर्ने हुँदा उनीहरूको योगदानलाई खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रशंसनीय कार्य भएको राईको कथन थियो।

कार्यक्रममा सम्मानित व्यक्तिहरू गौतम र भौकाजी तथा पुरस्कृत कपी एडिटरद्वय नेपाल र आचार्यले सम्पादन क्षेत्रमा आफूहरूको योगदान तथा भोगाइबारे चर्चा गरे।

यस्तै सहित्यिक पत्रकार संघकी कोषाध्यक्ष पद्यमावती सिंह, पूर्व अध्यक्षहरू विश्वविमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लगायतले सम्मानित र पुरस्कृत स्रष्टाहरूको योगदानको चर्चा गर्दै संघले साहित्यिक पत्रकारहरूका लागि राम्रा काम गर्दै आएको बताए।

कार्यक्रममा गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, प्राज्ञ मातृका पोखरेल, वरिष्ठ साहित्यकार किशोर पहाडी, समालोचक प्राडा गोविन्दमान सिंह कार्की, नेपाल उपन्यास समाजका अध्यक्ष शंकर भारती, सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, घुम्ती मुक्तक मञ्च नेपालका अध्यक्ष निर्मलरमण पराजुली, कवि एवं संचारकर्मी ठाकुर बेलबासे, निबन्धकार श्रीबाबु कार्की, अनेसास पुरस्कार समिति सदस्य दीपा राई पुन, कवि मधु पाठक, सापसकी सचिव नीता श्रेष्ठ, सानुराजा अन्जान, सञ्चारकर्मी सरिता भारती लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम सञ्चारकर्मी डब्बु छेत्रीले चलाएका थिए।  

प्रकाशित: ३ चैत्र २०७९ ०७:५८ शुक्रबार

अक्षर