कला

जसको मिहेनतमा निस्कियो डोटेली शब्दकोश

काठमाडौं- कुनै बेला ‘कसैले अपराध गरे उसलाई दण्ड दिन शब्दकोश लेख्न लगाउनु' भन्ने उर्दी विद्वानहरु लगाउँथे। तर आरडी प्रभास चटौत जागिरे जीवनसँगै पनि सिर्जना कृतिमा लागिरहे। वृद्धावस्थामा शरीरले आराम खोज्छ, तर उनी ८० वर्षे उमेरमा पनि साहित्य सिर्जनामै क्रियाशील छन्। उनले आफ्नो उमेरको उर्वर समयको २० वर्ष भने डोटेली भाषा पर्गेल्नै विताए। अठार वर्ष उनले शब्द र अर्थ खोजे बाँकी दुई वर्ष शब्दकोशको सम्पादनमा विताए।

उनका चार कृति चाँडै आउँदैछन्। नेपाली पद्यसंग्रह, नेपाली गद्यसंग्रह, डोटेली भाषाका कवितासंग्रह र नेपाली हाइकूसंग्रह उनले पाठकमाझ ल्याउँदैछन्। बुढेसकालमा त्यसै पनि निन्द्रा कम लाग्छ। उनी आफ्ना समय कति पनि खेर फाल्न मन पराउँदैनन्। ‘कहिले कविता लेख्छु, कहिले गजल अनि कहिले नयाँ नयाँ लेख्ने बारेमा सोचेर केही न केही कोरिरहन्छु,' उनले सुनाए।

उनको मेहनतकै फलस्वरुप नेपालको सुदूरपश्चिमको भाषा संकलनको सिंगो शब्दकोश नेपाली शब्दभण्डारमा थपिएको छ। २०३० सालदेखि २०५८ सालसम्मको समय उनले शब्दकोशका लागि खर्चे। 'डोट्याली बृहत् शब्दकोश' नामक शब्दकोशमा सुदूरपश्चिम नेपालमा प्रयोग हुने ४० हजारभन्दा बढी शब्द छन्।

'सुदूरपश्चिममा चलेका लोकोक्ति, गीत, उखानटुक्का पनि छुटेका छैनन्,' चटौतले भने, 'स्थानीय मन्दिर, देवीदेवता, पर्यटकीय स्थलको समेत विस्तृत विवरण राखेको छु।' एकहजार पृष्ठको डोट्याली शब्दकोशको मूल्य पनि एकहजार रुपैयाँ नै पर्छ।

पश्चिमा भाषा र बिग्रँदो खसभाषाको मिश्रणले डोट्याली भाषा लोप हुँदै जान थालेको देखेपछि उनले शब्द खोज्न थाले। जिल्ला विकास समितिमा सरकारी पदाधिकारी बनेर जाँदा पनि उनले डोटेली भाषाको खोजी जारी राखे। ‘हरेक कार्यक्रममा त्यहाँका मान्छेले बोल्ने लवजका शब्दहरु डायरीमा टिपेर राख्थे,' उनले भने, ‘नबुझेका कुरा पाको उमेरका जानकारसँग सोध्ने गर्थें।' यतिसम्म कि उनी गाडीमा यात्रारत छन् र बाटामा कुनै नयाँ बोटविरुवा देखे भने त्यसको हाँगो भाँचेर ल्याउँथे। अनि सोधीखोजी गरेर त्यसको जात वर्णको विवरण शब्दकोशका लागि जम्मा पार्थे।

सुतेका बेला निन्द्रामै पनि नयाँ शब्द मनमा आए जुरुक्क उठेर लेख्न बस्थे। कसैले झर्रो भाषा बोले भने उनी उत्सुकताका साथ सुन्थे र संकलन गर्थे। सुदूरपश्चिमको डडेल्धुराको कोट गाविसमा जन्मेका उनी त्यहीँको रहनसहन र संस्कार बोकेर हुर्के। डोट्याली भाषाको मूल भने खसभाषा नै हो।

सीमा क्षेत्र भारतका कुमाउ, गढवालमा खसराजाहरु थिए। उनीहरु आफ्नो भाषा र संस्कार उत्कृष्ट बनाउन प्रतिस्पर्धा नै गर्थे। जब उताकै रजौटा नेपाल क्षेत्रका डोटीमा मल्ल राजाका रुपमा उदाए तब डोट्याली भाषा मल्ल भाषा बन्यो। डोटी नदी र किनारकै नाममा डोटी राज्य बनेको थियो। कुनै दिन साहित्यकार बालकृष्ण सम सुदूरपश्चिम पुग्दा उताको भाषा सुनेर छक्क परेका थिए।

‘हाम्रैजस्तो भाषा रहेछ यता,' भनेर उनले चासो दिएका थिए। नेपाली भाषाको उद्गम स्रोत भारोपेली हो। त्यसपछि डोट्याली, सिंजाली, गोर्खाली हुँदै नेपाली भाषा बनेको दाबी चटौत गर्छन्। यसरी हेर्दा नेपाली भाषाभन्दा पुरानो भाषा डोट्याली नै रहेको उनको तर्क छ। यसको प्रमाण उनी उतिबेलाका राजाले ताम्रपत्रमा लेखेका लेखहरुलाई देखाउँछन्।

निरन्तर लेखनमा संलग्न उनले भाषाको खोजी गरिरहँदा २० वर्षमा एक दर्जन कृति लेख्न पनि भ्याए। पाँच किलो तौल भएको 'गीता' महाकाव्य, जसमा सात सय श्लोक र तिनको बर्णन रहेको छ। ऐतिहासिक ग्रन्थ सुदूरपश्चिमको इतिहास, नैतिक शिक्षा लगायत पुस्तक साहित्य भण्डारमा थपिए।

शब्दकोश निकालेपछि पनि उनी रोकिएका छैनन्। अझ चार कृति उनका थपिँदै छन्। डोट्याली भाषा नेपालको पुरानो भाषा भएकाले यसले अन्तर्राष्ट्रिय स्तरको सूचीमा समेत सूचीकृत हुने अवसर पाइसकेको छ। झन्डै तीस लाख नेपालीले बोल्ने डोट्याली भाषा नेपालमा प्रदेश बनेपछि त्यहाँको स्थानीय मातृभाषा बन्ने भएकाले पनि शब्दकोश जरुरी रहेको उनले औंल्याए।

'त्यतिबेला आफ्नै भाषामा सरकारी कामकाज चलाउनुपर्दा कहाँ खोज्नु शब्दका भण्डार?' उनले भने, 'त्यसैले समयमै ल्याइदिएको हुँ।' उनको शब्दकोषमाथि आधारित रहेर एक विदेशी नागरिकले विद्यावारिधीको अध्ययन समेत पूरा गर्दैछन्।

अन्तर्राष्ट्रिय सूचीमा सूचीकृत गराउँदा पटकपटक विदेशी टोलीले नेपाल र सुदूरपश्चिम पुगेर उनको शब्दकोशको बारेमा छानबिनसमेत गरेका थिए। ‘जन्मेको ठाउँको भाषा आमा जत्तिकै प्यारो हुन्छ, अझ गणतन्त्र नेपालमा स्थानीय भाषाको महŒव कति हुन्छ, त्यो समयले देखाउँदैछ,' उनी शब्दकोशका बारेमा थप्छन्। डोट्याली शब्दकोश बनाउन उनले आफ्नो निजी मेहनतसँगै सात लाख रुपैयाँ खर्चेका थिए।

प्रकाशित: १३ मंसिर २०७३ ०२:५३ सोमबार

जसको मिहेनतमा निस्कियो डोटेली शब्दकोश