कला

फूर्ति

लघुकथा

अन्जु शर्मा

राधिकाले खुशीले हुँदै भनिन्, ‘आजकाल कस्का छोराछोरी नेपालमा बस्छन्? मेरा एउटा अमेरिका छ र अर्को अस्ट्रेलिया छन्। आफू कहिले जेठोकोमा कहिले कान्छोकोमा हाहा...।’

उता परिमताले पनि आफ्ना सन्तान युरोपतिर भएकाले राधिकाको कुरामा पूर्ण समर्थन जनाइन्।

मनाका सन्तान देशमै थिए। उनलाई आफ्ना सन्तान विदेश नगएकोमा कताकता ग्लानि थियो। उनी केही नबोली अँध्यारो मुख लगाएर बसिन्।

उमेरले ५० कटेका यी महिला सन्तान बिदेसिएकोमा गर्व गर्दै थिए।

भोलिपल्टको कुरा अचानक राधिकाको श्रीमानलाई हृदयाघात भयो। अस्पताल लैजाँदै गर्दा उनको बाटामै मृत्यु भयो। किरिया गर्न छोरालाई बोलाइन्। अपसोच तत्काल छुट्टी नमिलेको कारण आउन अस्वीकारे।

मनाले आलो घाउमा नुनचुक छर्दै फूर्ति छोडिन्, ‘वृद्ध अवस्थामा पनि साथमा बस्न नपाउने, बाआमाको किरिया गर्न नपाउने सन्तानको के काम! धन्न आफ्ना स्वदेशमै छन् र तातो-चिसो भन्न पाएका छौं।’

प्रकाशित: २९ फाल्गुन २०७९ ०५:४५ सोमबार

अक्षर