कला

कामना अवार्ड मंसिर १८ मा

काठमाडौं- कामना फिल्म अवार्ड्सको दोस्रो संस्करण आगामी मंसिर १८ गते हुने भएको छ। अवार्ड भद्रकालीस्थित आर्मी अफिससर्स क्लबमा हुने आयोजकले जानकारी गराएको छ। ३१ विधामा प्रदान गरिएको अवार्डमा एक विधा थप्दै यसपटक ३२ विधामा अवार्ड दिन लागिएको हो। 'लक्स च्वाइस अवार्ड' यो साल थपिएको विधा हो।

एसएमएस भोटिङका आधारमा लक्स ब्युटी स्टार छनोट हुने अवार्डको यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्रीराज्यलक्ष्मी शाह, प्रियंका कार्की र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने

सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्। अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिहरेको छ। ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ। दर्शकहरुले लोकप्रिय १९ विधामा भोटिङ गर्न पाउनेछन्।

अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष एवं प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले २०७१ सालबाट सुरु भएको अवार्ड अघिल्लो साल भूकम्पका कारण रोकिएको भए पनि आइन्दा हरेक वर्ष निरन्तर हुने बताएका छन्।

लक्स कामना अवार्डस् २०७३ मा फिल्म 'नाईं नभन्नू ल ४' सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ। त्यसैगरी फिल्म 'प्रेमगीत' १९, 'क्लासिक' १७, 'ड्रिम्स' १६, 'वडा नम्बर छ' १४ र 'पशुपतिप्रसाद' १२ विधाको मनोनयनमा परेका छन्।

प्रकाशित: ५ मंसिर २०७३ ०४:१६ आइतबार

कामना अवार्ड १८