कला

दुःख र पीडाका भारी बिसाउन पनि त ठाउँ हुनुपर्छ

मुक्तक

दुर्गाकिरण तिवारी

१.मुक्तक

हजुर पार्दै नखरा हर-तरहका सबैका पाउमै पर्न सके,

योग्यता राम्रै बन्थ्यो होला सबैतिर भ्रमहरू छर्न सके।

सधैंभरि नैतिकता र सदाचार मात्रै सिकाए बडाहरूले,

सक्दिन गर्नै झूटको खेती मौलाउँथ्यो होला गर्न सके।

२.मुक्तक

यसो समसामयिक कुरा लेख्यो निकै नै फुली भन्नुहुन्छ,

आफ्नै बारेमा केही लेख्यो कि कति भै ठुली भन्नुहुन्छ।

चित्तै बुझाउन नसक्ने भएकी छु हिजोआज हजुर म त,

प्रेमकै शब्दले प्यासी मन भरूँ भमरासँगै डुली भन्नुहुन्छ।

 ३.मुक्तक

साँचेका अपरिमित चाहनाहरू यसै-यसै थाती रहे,

सुल्झाउन खोज्छु उल्झन, उल्टै दुःखले समातिरहे।

प्रयत्न गर्छु सम्झाउन मन,भुलुक्क उम्लिदिन्छ झन्,

कहाँ पूरा भएर सपनाहरू, समस्या नानाभाँती रहे।

 ४.मुक्तक

दुःख र पीडाका भारी बिसाउन पनि त ठाउँ हुनुपर्छ,  

दुख्दा हृदय हलुका पार्न रिसाउन पनि त ठाउँ हुनुपर्छ।  

मडारिंदा बहहरू, विरक्तिदा मन, भरिंदा नयन पानीले,

हजुर सुस्ताउन, आँसु मिसाउन पनि त ठाउँ हुनुपर्छ।

प्रकाशित: २७ फाल्गुन २०७९ ०५:५० शनिबार

अक्षर