अहिले छापा पत्रकारिताको युग ओरालो लाग्दै गरेको समय हो भन्दा अत्युक्ति हुँदैन। यसको प्रभाव साहित्यिक पत्रिका प्रकाशनतर्फ पनि प्रत्यक्ष देखिन्छ। अहिले अधिकांश साहित्यिक प्रत्रिकाहरू बन्द भइसकेका छन् भने केही पत्रिका अनलाइन माध्यमबाट मात्रै प्रकाशित हुन थालिसकेका छन्।
एक दशकअघि मात्र फर्किने हो भने साहित्यिक पत्रिकाको रौनक भेट्न सकिन्छ। २०६४ सालमा प्रकाशन सुरु भएको ‘पुस्तक संसार’ले साहित्यिक पत्रिकाको इतिहासमा आफूलाई टाढैबाट प्रस्ट चिनिने बनाएको थियो। सात वर्षसम्म प्रकाशित ‘पुस्तक संसार’ साहित्यिक पत्रिका आकर्षक साजसज्जासहित म्यागेजिन शैलीमा प्रकाशित गरिएको थियो।
‘पुस्तक संसार’का सबै अंक चिल्लो रंगीन कागज (आर्ट पेपर)मा प्रकाशित भएको थियो। सेलिब्रेटीका जस्तै साहित्यकारका आकर्षक तस्बिरसहितका रिपोर्ट, लेखरचना र खुराक पस्कन यो पत्रिका सफल रहेको देखिन्छ। यही कारण त्यतिबेलाका अन्य साहित्यिक पत्रिकाको भिडमा पुस्तक संसारले अलग्गै परिचय बनाएको थियो।
प्रकाशनको कथा
दुई दशकअघि एकदिन रत्न पुस्तक भण्डारका अध्यक्ष गोविन्दप्रसाद श्रेष्ठको मनमा साहित्यिक पत्रिका प्रकाशन गर्ने हुटहुटी जाग्यो। बजारमा स्तरीय साहित्यिक प्रकाशनको अभाव देखेका थिए उनले। ‘प्रकाशन संस्था भएकाले आवश्यक सबै भौतिक पूर्वाधार हामीसँग थियो नै,’ गोविन्दप्रसाद सुनाउँछन्, ‘सबै स्रोतसाधन भएकाले स्तरीय साहित्यिक खुराकसहितको पत्रिका प्रकाशन गर्ने निधो गर्यौं। यसको संयोजन जिम्मा भने पत्रकार देवेन्द्र भट्टराईलाई दियौं।’
यसपछि २०६४ को दशैंछेकमा (भदौ–असोज) पुस्तक संसारको प्रवेशाङ्क (पहिलो अङ्क) बाहिर आयो। १६ पृष्ठको पहिलो अंकमा त्यतिबेला ८० वर्ष उमेर पार गरेका स्थापित साहित्यकारबारे रिपोर्ट प्रकाशित छ। पहिलो अंकको सम्पादकीयमा पुस्तक संसार पत्रिकालाई ‘लेखक–पाठक बीचको एउटा नयाँ पुल’ बनाउने उल्लेख गरिएको थियो। यस अंकमा लेखक कृष्ण धरावासीको अन्तर्वार्ता तथा बेलायती लेखक माइकल हटले कवि भूपी शेरचनको कृति अनुवाद गरेको विषय (अनुभव) समेटिएको फिचर पनि प्रकाशित छ।
‘पुस्तक संसार’को आरम्भदेखि जोडिएका पत्रकार देवेन्द्र भट्टराईका अनुसार त्यतिबेलाका अन्य साहित्यिक पत्रिकाले सपाट ढंगले लेख–रचना तथा अक्सर लेखक बितेपछिका ‘ओबिच्योरी’ प्रकाशित गरिरहेको अवस्था थियो। त्यसलाई चिरेर लेखक जीवनका अनौपचारिक पक्ष, लेखनीका फरक फरक आयामसहितको खुराक पुस्तक संसारमार्फत पस्कने निधो भएको थियो।
‘तिनताक पुस्तक विमोचन, कुनै ठुलै पुरस्कारको संक्षेप वा लेखकको मृत्यु आदि मात्रै समाचार बन्थे। त्यस्तोमा कतिपय अनौपचारिक साहित्यिक खुराक त्यसै बिलाएर जान्थे,’ भट्टराई भन्छन्, ‘साहित्यमा ओझेल परेका पाटालाई अगाडि सार्दै मूलधारमा ठाउँ नपाएका कवि–लेखकका रचनालाई समेत हामीले स्थान दिने प्रयत्न गर्यौं।’
प्रवेशाङ्क प्रकाशित भएको दुई महिनापछि कात्तिकमा पुस्तक संसारको दोस्रो अंक प्रकाशित भयो। उक्त अंकलाई समग्रमा ‘दशैं–तिहार विशेष’ नाम दिइएको छ। यस अंकमा, रत्न पुस्तक भण्डारलाई तारिणीप्रसाद कोइरालामार्फत प्राप्त विपी कोइरालाको हस्तलिखित पत्र (२०२६ असोज १) प्रकाशित गरिएको छ।
उक्त पत्रमा विपीले आफ्ना दुई उपन्यास ‘सुम्निमा’ र ‘नरेन्द्र दाइ’को दोस्रो संस्करण रत्न पुस्तकबाटै प्रकाशन गर्न संस्थालाई स्वीकृति दिएका छन्। यस्तै विपीले पाउने रोयल्टीबापतको रकम तीन चरणमा गरी दुई हजार, पन्ध्र सय र पाँच सय रूपैयाँ भाइ तारिणीले बुझिलिएको पत्र पनि छ। स्मरणीय के छ भने विपीका सुरुवाती उपन्यास रत्नले नै प्रकाशित गरेको थियो। पछि सबै उपन्यासको सर्वाधिकार साझा प्रकाशनलाई दिइयो।
तेस्रो अंक (पुस–माघ २०६४) मा नेपाल प्रज्ञा प्रतिष्ठानको औचित्यमाथि रिपोर्ट प्रकाशित गरिएको छ। साथै, यसै अंकमा एकेडेमीका पूर्वउपकुलपति बालचन्द्र शर्माले रत्न पुस्तकलाई फ्रान्सको पेरिसबाट पठाएको ऐतिहासिक पत्र प्रकाशित गरिएको छ। २०६६ भदौमा प्रकाशित पूर्णाङ्क चारमा ‘बन्द भए साहित्यिक पत्रिका’ शीर्षकमा रिपोर्ट प्रकाशित गरिएको थियो। यसमै साहित्यिक पत्रकारिताका हस्ती सम्पादक नगेन्द्रराज शर्माको लामो अन्तर्वार्ता प्रकाशित छ।
पाँचौं अंकमा (असोज–कार्तिक २०६६) ‘पुस्तक बिक्न थाले’ शीर्षकमा मुख्य रिपोर्टसहित भवानी घिमिरेको देवकोटामाथिको लेख र बालकृष्ण समको ‘मञ्जुरीनामा’ प्रकाशित गरिएको छ। यो मन्जुरीमा, समले आफ्ना कृति प्रह्लाद, मुटुको व्यथा, मुकुन्द इन्दिरा, अमरसिंह, भक्त भानुभक्तलगायत कृतिका संस्करणहरू प्रकाशित गर्ने स्वीकृति रत्न पुस्तकलाई दिएको पाइन्छ।
छैठौं अंकमा (मंसिर–पुस २०६६) मा उपन्यासकार नारायण वाग्लेको अन्तर्वार्तालाई मुख्य खुराक बनाइएको छ। त्यतिबेला वाग्लेको दोस्रो उपन्यास ‘मयूर टाइम्स’ चर्चामा थियो। समकालीन साहित्यका गतिविधिलाई यो अङ्कमा बढी स्थान दिइएको छ।
सातौं अंकमा कवि एवम् गीतकार हरिभक्त कटुवालसँग अर्का कवि ईश्वर वल्लभले लिएको अन्तर्वार्ता साभार गरिएको छ। उक्त अन्तर्वार्ता सुरुमा जीवन आचार्यको ‘आकुञ्चन’ पत्रिकामा प्रकाशित भएको थियो। यसै अंकमा मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कमलमणि दीक्षितसँग दीपक सापकोटाले गरेको रोचक अन्तर्वार्ता प्रकाशित छ। उक्त अन्तर्वार्तामा दीक्षितले ‘लबिङ गर्नेले मदन पुरस्कार पाउँदैन’ भन्दै आफ्नो दाबी प्रस्तुत गरेका छन्।
आठौं अंक (जेठ–असार २०६८) मा ‘एकेडेमीले पुस्तक छाप्दैन’ शीर्षकमा प्रज्ञाप्रतिष्ठानको चिरफार गरिएको छ। ३२ पृष्ठको यो अंकमा गीतकार रत्न शमशेर थापा र चित्रकार टेकवीर मुखियाबारे फिचर प्रकाशित छ। युवा लेखक बुद्धिसागरको अन्तर्वार्ता पनि यसै अंकमा छ। यसै अंकमा हरिभक्त कटुवालमाथि गायक अम्बर गुरुङले लेखेको टिप्पणीका साथै कटुवाल, अम्बर गुरुङ र गायिका अञ्जुदेवीले सँगै खिचाएको संयुक्त तस्बिर पनि पाठकलाई खुराकका रूपमा प्रकाशन गरिएको थियो।
नवौं अंक (असोज–कात्तिक २०६८) मा भर्खरै सुरु हुन थालेका साहित्यिक महोत्सवहरूबारे चर्चा गरेको छ। त्यतिबेला एनसेल नेपाल लिटरेचर फेस्टिभल भएकाले त्यही कार्यक्रममा साथै देशभर हुन थालेका साहित्यिक महोत्सवको उपादेयतामाथि चर्चा गरिएको छ। यस्तै, बसाइँ उपन्यासका लेखक लीलबहादुर क्षेत्रीसँगको अन्तर्वार्ता, ‘उदय’ पत्रिकाका काशीबहादुर श्रेष्ठमाथि उनका छोरा दुर्गाप्रसादको स्मृतिलेख तथा कवि राबतको कविता प्रकाशित छ।
दशौं अंक (माघ २०७९) मा पुस्तक बजारमा भएका होहल्ला र यथार्थलाई समेटेर पुस्तक बिक्रीको अवस्थामाथि लेख प्रकाशित छ। यस्तै, लेखक नारायण ढकालको अन्तर्वार्ता, वानीरा गिरीको फिचर तथा कविहरू स्वप्नील स्मृति, चन्द्रवीर तुम्बापो र अमर न्यौपानेका एक एक थान कविता प्रकाशन गरिएको छ।
समग्रमा पुस्तक संसारका दशवटा अंक नै संग्रहणीय रहेको पाइन्छ। प्रत्येक अंकमा त्यस समय राष्ट्रिय स्तरको पुरस्कार पाएका स्रष्टालाई बधाई, बिरामी रहेकालाई स्वास्थ्यलाभको कामना तथा निधन भएका साहित्यकारलाई श्रद्धाञ्जलीसमेत दिइएको छ। ‘पुस्तक संसार’का सबै अंकमा नेपाली साहित्यका ससाना पक्ष र लुकेका रोचकघोचक सन्दर्भलाई समेत निकै ध्यान दिएर समेटिएको छ।
पत्रिकाका अङ्कहरूले २०६४ देखि २०७० सम्मको नेपाली साहित्यका सबै घटनाक्रमलाई प्रतिनिधित्व गर्छन्। यद्यपि ‘पुस्तक संसार’मा उचित पृष्ठ संख्याको अभावमा साहित्यिक रिपोर्ट र मौलिक रचनाहरूले स्थान पाउन सकेको देखिँदैन।
यस्तै कतैकतै पत्रिका प्रकाशक रत्न पुस्तकको निजत्व हाबी भएको प्रतीत हुन्छ। यद्यपि साहित्यिक पत्रिकाको इतिहासमा ‘पुस्तक संसार’ले स्तरीय साहित्यिक खुराकसहित पाठकको मन जितेको थियो। पछिल्लो पुस्ताले समेत पुस्तक संसारका प्रकाशन पढेर साहित्यको विशिष्ट कालखण्डको जानकारी लिन सक्ने छन्। अनुसन्धातालाई पनि यो महत्वपूर्ण दस्तावेज हुने देखिन्छ।
प्रकाशित: २७ फाल्गुन २०७९ ०३:२९ शनिबार