एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ। साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियो बिहीबार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गरेकी हुन्।
कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विभेद अन्त्य गर्दै समाज रूपान्तरणका लागि ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियोबाट सहयोग पुग्ने विश्वास पोखिन्। उनले एकल महिलाका लागि सुरक्षा कोष स्थापना भए पनि प्रभावकारी हुन नसकेको बताइन्।
एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रम अगाडि सारेको सिन्हाको भनाइ थियो। म्युजिक भिडियोका माध्यमबाट महिलाको अवस्था बुझ्न मद्दत पुगेको उनले बताइन्।
त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्रप्रसाद लुइँटेलले गीतले समाजमा भोगिरहेका घटनाबारे वर्णन गरेको बताए। पत्रकार अविनाशीले विदेशमा बसेर नेपाली साहित्य तथा गीत–संगीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरे मात्रै समाजप्रतिको दायित्व बढ्ने बताए। गीतले सामाजिक रूपान्तरणको सन्देश दिन खोजेको उनको भनाइ छ।
उक्त गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने आकाश अधिकारी र उमा गिरीले अभिनय गरेका छन्। राम लामा ‘अविनाशी’को लय तथा शक्ति बल्लवको संगीत रहेको छ। रासस
प्रकाशित: २६ फाल्गुन २०७९ ०६:१९ शुक्रबार