कला

बुद्ध एयरका यात्रुलाई ‘सङ्घर्ष’

बुधबार बुद्ध एयरको जहाजमा यात्रा गर्ने महिला त्यतिबेला अचम्ममा परे जतिबेला एयरवेजका कर्मचारीले बोर्डिङ पाससँगै एउटा झोला पनि दिए। जसमा थियो-महिला लेखिका भएको किताब। कथा सङ्ग्रह, उपन्यास, आत्मवृत्तान्त आदि। अनि झोलामा लेखिएको थियो-नेपाली महिला: पढ्छन् पनि, उड्छन् पनि।

काठमाडौं मात्र हैन, विराटनगर, जनकपुर, नेपालगन्ज, धनगढी र सुर्खेतका विमानस्थलमा बिहानदेखि नै देखिएका यस्ता दृश्य आमयात्रुका लागि मात्र नभई अन्य एयरवेजका कर्मचारी तथा आफन्त लिन र पुर्‍याउन आउनेका लागि पनि जिज्ञासाको विषय बनेको थियो।

‘हो, हामीले महिला स्रष्टा र पाठकबीचको सम्बन्ध घनिभूत बनाउन गत वर्षदेखि नै ८ मार्चका दिन महिला यात्रुलाई पुस्तक उपहार दिने कार्य सुरु गरेका हौं, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने-यो वर्ष पनि त्यही कार्यलाई निरन्तरता दिएका हौं। कमलरीदेखि सभासद्सम्म, योगमाया, ताप, द्रौपदी, धर्तीमाथिको दाबी, अधिकारको लडाइँ, एक्लैएक्लै जस्ता किताब महिला यात्रुलाई बाँडिएको थियो भने पढ्न रुचि देखाउने केही पुरुष पनि यो उपहारबाट लाभान्वित भएको बुद्ध एयरका एक कर्मचारीले जानकारी दिए। ‘हामीले प्राथमिकता चाहिँ महिलालाई दियौं तर रुचि राख्ने पुरुषलाई पनि निराश बनाएनौं’-उनको भनाइ थियो।

यसरी बाँडिएको सबैभन्दा धेरै पुस्तक भने शोभा ज्ञवालीद्वारा लिखित कथा सङ्ग्रह ‘सङ्घर्ष’ रहेको जानकारी पनि प्रबन्ध निर्देशक बस्नेतले दिए। गत फागुन २ गते मात्र सार्वजनिक भएको र प्रकाशनको तेस्रो साता नपुग्दै दोस्रो संस्करण निस्किएको यो कथा सङ्ग्रह निकै प्रभावकारी लागेकाले यसलाई प्राथमिकता दिएको उनको भनाइ छ।

बस्नेतले भने-‘हुन त हामीले उपहारका लागि अन्य पुस्तक पनि छानेका छौं तर यो कथासङ्ग्रहमा समाहित २६ वटै कथाले महिलालाई प्रतिकूलतासँग जुधेर अघि बढ्न प्रेरणा दिएकाले पनि मेरो मन खिच्न सफल भएको हो।’

एक त यसमा सङ्ग्रहित कथाहरू सत्य घटनामा आधारित छन् भने अर्कोतर्फ ती सबै व्यावहारिक पनि छन्। यी यस्ता कथा हुन्, जसले महिलालाई केही गर्ने आँट र साहस जुटाउँछन्। दुःखद अन्त्य नहुनु र पीडामा परेका महिलालाई उत्प्रेरणा प्रदान गर्नु यी कथाको मुख्य उद्देश्य भएकाले पनि यो सङ्ग्रहले प्राथमिकता पाएको हो-उनको भनाइ थियो।

किताब बाँड्ने कार्य मुलुकमा घट्दै गएको पठन संस्कृति वृद्धि गर्ने, नारी स्रष्टालाई सम्मानित गर्दै मनोबल बढाउने र नयाँखालको सोच लागु गर्ने त्रिवेणी अवधारणामा आधारित रहेको भनाइ प्रबन्ध निर्देशक बस्नेतको छ। ‘म आफैं पनि पढ्न रुचि राख्ने भएकाले समेत नारी दिवस मनाउने यस्तो रचनात्मक सोच आएको होला’-उनले थपे।

प्रकाशित: २६ फाल्गुन २०७९ ०३:०१ शुक्रबार

अक्षर