कला

रहेनन् भारतीय अभिनेता सतीश कौशिक

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ। बुधबार ६६ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

कलाकार अनुपम खेरले सामाजिक सञ्जाल ट्विटमार्फत प्रिय साथी गुमाएको जनाउँदै अभिनेता कौशिकको निधनको पुष्टि गरेका थिए। ‘मृत्यु संसारको शाश्वत् सत्य हो,’ उनले ट्विट गरेका थिए, ‘तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ। ४५ वर्षको मित्रतामाथि अचानक पूर्णविराम।’

गुरुग्रामस्थित साथीको घरमा होली मनाउन गएका उनलाई हृदयाघात भएलगत्तै फोर्टिस अस्पताल पुर्‍याइएको थियो। सन् १९६५ अप्रिल १३ तारिकमा भारतको हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए। उनले ‘मिस्टर इन्डिया’, ‘दिवाना मस्ताना’, ‘रामलखन’ र ‘साजन चले ससुराल’ लगायत फिल्ममा अभिनय गरेका थिए।

बलिउडमा प्रवेश गर्नुअघि नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका उनले भारतीय नाटकमा समेत अभिनय गरेका थिए। ‘रूप के रानी चोरोंका राजा’ फिल्मबाट निर्देशन यात्रा सुरु गरेका उनले ‘हम आपके दिलमे रहेते है’ र ‘तेरे नाम’ जस्ता फिल्म निर्देशन गरेका थिए। सन् २०२१ मा उनले निर्देशन गरेको ‘कागज’ फिल्मका अभिनेता पंकज त्रिपाठीले ट्विट गरेका थिए, ‘हामीले भेट्ने योजना बनाएका थियौं। अब यो सम्भव छैन। तर तपाई हाम्रो स्मृतिमा सधैं रहनुहुनेछ।’ उनका पत्नी र एक छोरी रहेका छन्।

प्रकाशित: २६ फाल्गुन २०७९ ०१:४८ शुक्रबार

अक्षर