कला

सेफ्टी पिन

लघुकथा

शारदा दहाल भण्डारी

कार्यक्रमका सहभागी-दिदी तपाईं किन भावुक र निराश देखिनुभएको छ नि!

सरु केही होइन भन्ने भावमा मुन्टो हल्लाउँछिन्।

कुरा नलुकाउनुस् न दिदी! सामाजिक अभियान्ताजस्तो मान्छे महिलाको हकहितका निम्ति महिला सञ्जाल,अधिकार मञ्चमा पदीय दायित्व मात्रै पूरा गर्नुभएन बरु सिंगो जिल्लाका महिलाहरूको मुद्दाका निम्ति अहोरात्र खटिरहनुभएको छ। र त आज केन्द्रीय अधिवेशन प्रतिनिधि भएर आइसक्नुभो। गाउँदेखि यहाँसम्म आइपुग्दाको थकाइ मात्रैले त तपाईंमा शिथिलता आएको त पक्कै होइन।

सुन्नुस् न दिदीबहिनीहरू! भन्न पनि के भनौं,म हिजो बिहानदेखि राजधानीसम्म आइपुग्दा चौथो पटकसम्म हिंसात्मक गतिविधि भोग्नुपर्‍यो।

दिदी तपाई जस्तो मान्छेले यस्तो भोग्नुपरे अरू सर्वसाधारणले कस्तो भोग्नुपर्ला?

त्यही त सोचेर चिन्तनशील मुद्रामा छु। हेर्नुस् न बसबाट गौशालामा ओर्लेर प्रहरीलाई हामी अझै किन असुरक्षित छौं भनेर कुरा राखें।।

उनीहरूले भने, ‘अभियन्ताले यस्तो कमजोरी देखाउनु उचित होइन। प्राकृतिक जैविक विभेदकै कारण तपाईंहरूलाई समाजले हेर्ने दृष्टि अझै कमजोर छ। बरु यो सेफ्टी पिन लिनुस् र भन्न बोल्न नसक्ने अवस्थामा चस्स घोचिदिने गर्नुस्। आफू बोल्नुभन्दा ऊ आफैं बोल्छ र मुद्दा खुलासा भै न्याय मिल्छ।’

मैले आजको भेलामा यी सबै कुरा राख्न सोच्दै गर्दा मेरो चेहराले बताइसकेको रहेछ। सोधिहाल्नुभो। अझै उत्साहपूर्वक भन्दै थिइन्,‘अबदेखि क्लाराजेटकिन प्रणेता भई ल्याएको अन्तर्राष्ट्रिय महिला दिवसमा मात्रै होइन, हरेक महिलालाई जुनसुकै बेला सेफ्टी पिनलाई सुरक्षागार्ड बनाऔं भनेर सूचित गरिरहयौं। सम्पूर्ण महिलाको साथमा ठूलो स्वरले ‘महिला एकता जिन्दावाद! महिला हिंसा,बन्द गर बन्द गर!’ भन्दै शंखघोष गर्न थालिन्।

प्रकाशित: २५ फाल्गुन २०७९ ०४:५३ बिहीबार

अक्षर