कला

बकपत्र

लघुकथा

ऊ एकोतार बोलिरहेथ्यो त्यो दिन। भन्दैथ्यो, ‘यी बच्चाहरूलाई हामीले राजनीति गर्दाका दिन के था। ती दिन कस्ता थिए!’

परीक्षा दिन आउँदा हातमा हतकडी थियो। ग्याङ फाइटमा समातिएको थिएँ। पुलिसले त्यतिखेर फुच्चे देखेर हिरासतमा कोरा हानेथ्यो। आज हिरासतमा परे पुलिसले नै नमस्कार ठोक्छ। नठोके के गर्नु -तिनका पनि बालबच्चा होलान्, सुन्दरी स्वास्नी होली। ज्यानको माया त सबैलाई हुन्छ नि।

मलाई यो क्याम्पसमा ल्याउने दया सर नै हो। दया सरले त्यतिखेर आठ हजार दिएथे। त्यतिखेरको आठ हजार आजको हो र? आज भए एक बिटो हात्ती घटी को मान्थ्यो र?

दया सरलाई गरन समूहले दुःख दिंदा मेरा गुरु कहाँ पुगेथे र पसारो परेथे। गुरुले मलाई दया सरलाई सुम्पिए। १२ वर्ष भएछ यहाँ छिरेको। मेरा पनि रोजीरोटी चलेको छ र दया सरहरूको पनि गर्जो टरेको छ। जबजब दया सरहरूलाई दुःख पर्दैन तबसम्म म बेरोजगार। दया सरहरू सताइएपछि मेरो रोजगारी जम्छ।

कहिलेकाहीं त दया सरहरूले धेरै दिन सम्झन्नन्। काम पर्दा भाँडो नपर्दा ठाँडो भने जस्तै त हो नि। बरु कहिलेकाहीं आफैंले सम्झाउनु पनि पर्छ। राजनीति न हो।

गुरुले भनेथे, ‘बाबु, राजनीतिमा चूपचाप कहिल्यै बस्नु हुन्न। ढुंगा हानेर पनि शान्त तलाउमा तरङ ल्याइरहनुपर्छ।’

बस्, त्यो बेला गुरु सम्झ्यो, एकदुई इँटा हातमा बोक्यो, क्याम्पस छिर्‍यो-सिसाको सत्यानाश। अनि लाइनमा आइहाल्छन् नि यी बबुरा दया सरहरू।

के गर्नु सभापति नै उठिन्थ्यो होला यो पटक। यो टियूफियूले पनि उमेरको छेको लायो। विद्यार्थीलाई केको उमेर? ७० वर्षमा पनि पढ्न पाइन्छ नि। पढ्ने उमेर जति पनि छुट हुने तर उठ्न भने उमेरको छेकारो। अन्याय पनि कति हो कति?

यसरी उसले आफूलाई छताछुल्ल पोखिरहेथ्यो त्यो दिन। कोठा शान्त थियो। कोठाभित्रका मानिस मरे जस्तै लाटा भएका थिए।

दया सरले भने, ‘ल, तिम्रो दल दर्ता भो।’

उसले दया सरसँग कसिलो हात मिलायो र भन्यो, ‘सर, यो पटक मेरो उम्मदेवार जित्यो भने अर्को पटक हेर्नुहोला म नै हुँ तपाईँको वडाध्यक्ष। पार्टीमा मेरो बार्गेनिङ पावर पनि त बढ्छ नि त्यतिबेला।’

प्रकाशित: २५ फाल्गुन २०७९ ०२:५४ बिहीबार

अक्षर