कला

नारी,सृष्टिको संरचनामा सुनौलो दीप बाल्दै जानू

गजल

कमला घिमिरे अधिकारी

नारी,सृष्टिको संरचनामा सुनौलो दीप बाल्दै जानू,

चुनौतीका पर्खाल आए आत्मबलले ढाल्दै जानू।

तितामिठा भोगाइमा आफूलाई निखार्दै,

मुस्कानले भरिपूर्ण यादहरू सँगाल्दै जानू।

संस्काररूपी अन्धविश्वासका परीक्षामा अघि बढ्दै,

प्रसन्नताले भरिएर पाइलाहरू चाल्दै जानू।

राम्रोनराम्रो, उचनिच सामाजिक बन्धनभित्रै,

सुकर्मको जोडले पत्थर पनि पगाल्दै जानू।

तिम्रो मुस्कानमा हाँस्छ घर अनि प्रकृति उस्तै,

विवेकपूर्ण तरीकाले कर्तव्यलाई नियाल्दै जानू।

सृष्टिको संरचनामा सुनौलो दीप बाल्दै जानू,

चुनौतीका पर्खाल आए आत्मबलले ढाल्दै जानू।

प्रकाशित: २४ फाल्गुन २०७९ ०८:५० बुधबार

अक्षर