कला

वरिष्ठ साहित्यकार मोहन सिटौलालाई ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला ‘अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार’२०२३ बाट सम्मानित हुने भएका छन्।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।

सम्मानित हुने सिटौलाको साहित्य सिर्जना, अनुवाद र संस्थागत योगदानको उचित मूल्यांकन भएको छ। विसं २००० साल वैशाख ८ चुहानडाँडा, आठराई, तेह्रथुममा जन्मिएका सिटौलाका केही विवेचना (समालोचना), गोठालाहरू (निबन्धसंग्रह), अर्को प्रहर र नयाँ मुलुकको नाद (कवितासंग्रह), परिभ्रमण (यात्रानिबन्ध), संघर्ष किन? (नाटक),वाण्डेरिङ एस्सेज (अंग्रेजी समालोचना), नवआलोक (बृहत् काव्य), सिद्धि-सुधा (आधुनिक महाकाव्य), जीवन बाँसुरी (गीतिसंग्रह), द न्यू ब्रेथ (अंग्रेजी कवितासंग्रह) लगायतका कृति प्रकाशित छन्।

सिटौला भानु पुरस्कार, नेपाल सरकारबाट देवकोटा राष्ट्रिय साहित्य पुरस्कार २०७७ तथा अमेरिकाको पोयट सोसाइटी अफ अस्टिनबाट ‘कवि राजदूत’बाट सम्मानित भइसकेका छन्।

अध्यक्ष पूजाका अनुसार अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष र केन्द्रीय अध्यक्ष समेत रहेका सिटौलाको साहित्यिक योगदान र संस्थागत नेतृत्वको सम्मानस्वरूप सो पुरस्कार प्रदान गरिने भएको हो।

प्रकाशित: २४ फाल्गुन २०७९ ०७:४८ बुधबार

अक्षर